एक साताका लागि हिजो नेपाल भ्रमणमा आइपुगेको चिनियाँ जनमुक्ति सेनाको प्रतिनिधिमण्डलले गृहमन्त्री वामदेव गौतमसँग भेट गरेको छ। आज बिहान गृहमन्त्रालयमा भएको भेटघाटमा दुई पक्षीय सहयोगका बारेमा छलफल भएको गृहमन्त्रालयका प्रवक्त नवीन कुमार घिमिरेले सि.आर.आई. लाई बताउनुभयो।
चिनियाँ जनमुक्ति सेनाका लेफि्टनेन्ट जनरल तथा चिनियाँ सार्वजनिक सुरक्षा परिषदका उपप्रमुख याङ्ग क्वाङमीङले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलमा 19 जना चिनियाँ अधिकारीहरु संलग्न रहनुभएको छ। बिहान 10 बजे 45 मिनेट भएको छलफलमा नेपाल र चीनबीचको सीमा सुरक्षाका बारेमा पनि छलफल भएको छ।
नेपाली प्रहरीलाई विशेषज्ञ तालिम दिनका लागि पनि चिनियाँ सहयोग महत्वपूर्ण हुने कुरा गृहमन्त्री गौतमले चिनियाँ प्रतिनिधिमण्डललाई बताएपछि यस बारेमा सहयोग गर्न चिनियाँ प्रतिनिधिमण्डल सकारात्मक भएको छ। त्यसैगरी नेपाल प्रहरीलाई प्राविधिक तथा हातहतियारका क्षेत्रमा समेत सहयोग प्राप्त हुने कुरा गृहमन्त्रालयका प्रवक्त घिमिरेले बताउनुभयो।
नेपाल र चीनबीचको सीमालाई व्यवस्थित गर्ने तथा सीमा क्षेत्रमा हुने अपराधलाई सहकार्य गर्दै समाधान गर्ने कुरामा पनि दुई पक्षीय छलफल भएको छ। गृहमन्त्रालयको भेटका क्रममा चिनियाँ प्रतिनिधिमण्डलका साथमा नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्ग पनि सहभागी हुनुहुन्थ्यो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|