नेपाल भ्रमणमा रहनु भएका चिनियाँ सहायक वाणिज्यमन्त्री चङ्ग सान र अर्थ सचिव रामेश्वरप्रसाद खनालबीच हिजो मंगलबार भएको भेटवार्तामा सहयोग रकम बढाउने सहमति भएको हो । सहमति अनुसार अबदेखि चीनले नेपाललाई सहयोग स्वरुप वर्षेनी 5 करोड युआन अर्थात 60 करोड नेपाली रुपैयाँ प्रदान गर्नेछ ।
चीनले सबैभन्दा धेरै आर्थिक सहयोग उपलब्ध गराउने राष्ट्रमा नेपाल उत्तर कोरियापछिको पहिलो हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ सहयोगले नेपालको विकास निर्माणमा मेरुदण्डको काम गरेको बताई सहयोगमा वृद्धि गर्न गर्नु भएको अनुरोधको भोलिपल्टै चिनियाँ पक्षले आर्थिक सहयोगमा वृद्धि गरको हो ।
अर्थ मन्त्रालयमा हिजो मंगलबार भएको सो भेटवार्तामा अर्थ सचिव खनाल र चिनियाँ सहायक वाणिज्य मन्त्री सानका बीच जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा चिनियाँ निजी लगानी भित्र्याउने सम्बन्धमा पनि छलफल भएको थियो । भेटवार्तामा खनालले 4 सय 97 वटा चीन निर्यात हुने नेपाली वस्तुमा भंसार छुट दिन सानसमक्ष आग्रह गर्नुभएको थियो । प्रत्युत्तरमा चिनियाँ सहायक वाणिज्य मन्त्रीले सकारात्मक जवाफ दिनु भएको अर्थ मन्त्रालयले सि.आर.आई.लाई बताएको छ ।
गतवर्ष नेपालले चीनको स्वायत्त प्रदेश तिब्बत निर्यात गर्ने वस्तुहरुमा चीनले 50 प्रतिशत भन्सार छुट दिँदै आएको थियो । सो छुटलाई निरन्तरता दिन समेत चीन सहमत भएको छ ।
यसैबीच मंगलबार नै चिनियाँ सहायक वाणिज्य मन्त्री सानले अर्थमन्त्री डा. बाबुराम भट्टराईलाई अर्थ मन्त्रालयमा भेट गर्नु भएको छ । भेटमा अर्थमन्त्री भट्टराईले जलविद्युत र भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा सहयोग वा सहुलियतमा ऋणको अपेक्षा गरी प्रस्ताव पेश गर्नु भएको छ भने सानले यस सम्बन्धमा वितार गर्ने प्रत्युत्तर दिनु भएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|