चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष झलनाथ खनालले चीनको भ्रमण गर्नुहुने भएको छ । भोलि 18 तारिख बिहान उहाँ एयर चाइनाको उडानबाट चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासा हुँदै पेइचिङ्ग जाने कार्यक्रम रहेको छ ।
चीन भ्रमणका विषयमा सि.आर.आई.सँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले यस भ्रमण माफत चिनियाँ कम्युनिष्ट पार्टीसँगको आफ्नो पार्टीको सम्बन्ध अझै सुमधुर हुने तथा पारस्परिक सहयोगका बारेमा छलफल हुने कुरा बताउनुभयो । चीन भ्रमणका क्रममा उहाँको चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरु तथा चिनियाँ सरकारका उच्च अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
नेकपा एमालेले चीनसँगको सम्बन्धलाई अत्यन्त महत्व दिएको उल्लेख गर्दै अध्यक्ष खनालले भन्नुभयो "हामी चिनियाँ कम्युनिष्ट पार्टीको प्रगति तथा समाजवादी क्रान्तिको अनुभवबाट सिक्न तयार छौँ ।" नेकपा एमाले एक चीनको नीतिमा अडिग रहेको बताउँदै उहाँले नेपालको भूमिबाट चनि बिरोधी गतिविधि हुन नहुने तथा त्यस्ता गतिविधिलाई कडाइका साथ कारवाही हुनुपर्ने कुरामा जोड दिनुभयो ।
अध्यक्ष खनालका साथमा पार्टीका उपाध्यक्ष अशोक राई, सविच युवराज ज्ञवाली तथा केन्द्रीय नेताहरु रघुजी पन्त र सुरेन्द्र पाण्डे पनि चीन भ्रमणमा जानुहुनेछ । पार्टीको अध्यक्ष पदमा निर्वाचित भएपछिको पहिलो विदेश भ्रमणका रुपमा नेता खनालले चीनको भंमण गर्दै हुनुहुन्छ ।
अध्यक्ष खनालले नेतृत्व गर्नु भएको नेकपा एमालेको प्रतिनिधिमण्डल एक साताको चीन भ्रमण सिध्याएर आगामी 25 तारिख काठमाडौँ फर्कनेछ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|