नेपालमा चिनियाँ भाषा र संस्कृति प्रशिक्षणले पाँचौ चरणमा प्रवेश गरेको छ । चिनियाँ दूताबासको संस्कृति विभागको संयोजन र सक्रयतामा चार वर्ष अगाडि चिनियाँ स्वयंसेवकहरु झिकाएर चिनियाँ भाषा र संस्कृतिको प्रशिक्षण कार्य सुरु भएको थियो ।
अहिले मुख्य गरेर काठमाडौँ उपत्यकामा चिनियाँ भाषा तथा संस्कृतिको प्रशिक्षण कार्य भइरहेको छ भने काठमाडौँ बाहिर पोखरा र बिराटनगरमा पनि चिनियाँ स्वयंसेवकहरुले चिनियाँ भाषा सिकाउने काम भइरहेको छ ।
चिनियाँ दूताबासका प्रथम सचिव तथा संस्कृति विभागका प्रमुख चेन युलीले सि.आर.आई.लाई बताउनु भए अनुसार पाँचौ चरणका लागि चिनियाँ भाषा प्रशिक्षकका रुपमा अहिले दुई दर्जनभन्दा बढी चिनियाँ स्वयंसेवकहरु काठमाडौँ आइसकेका छन् । काठमाडौँ उपत्यकाका विद्यालयहरु तथा विभिन्न शैक्षिक संस्थामा काम गर्ने स्वयंसेवकहरुलाई पदस्थापन गरिसकिएको भए पनि उपत्यका बाहिर जाने स्वयंवेककहरुको भने यही हप्ताभित्र पदस्थापन हुने युलीले बताउनुभयो ।
ती प्रशिक्षकहरुले विभिन्न विद्यालयका प्राथमिक तहदेखि माध्यमिक तहसम्म चिनियाँ भाषाको प्रशिक्षण दिने गरेका छन् भने विश्वविद्यालय तहमा पनि चिनियाँ भाषाको प्रशिक्षण दिने गरिएको चिनियाँ दूताबासका प्रथम सचिव चेनले बताउनुभयो । विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरुले चिनियाँ स्वयंसेवकहरुको माग गरिरहेको तर त्यस अनुसार आपूर्ति गर्न नसकिएको बताउँदै वर्षनी चिनियाँ स्वयंसेवकहरुको संख्या बढ्ने पनि उहाँले जानकारी दिनुभयो ।
चिनियाँ स्वयंसेवकहरुले नेपाली विद्यार्थीहरुलाई चिनियाँ भाषा सँगसँगै चिनियाँ संस्कृतिको पनि प्रशिक्षण दिनेछन् ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|