चिनियाँ सहयोगबाट काठमाडौँको मीनभवनमा निर्मित निजामति सेवा अस्पताल सञ्चालले सेवा प्रदान गरेको एक महिना भएको छ । गत मार्च 29 तारिख आइतबारदेखि सञ्चालनमा आएको यो अस्पताल गतवर्ष निर्माण भएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. विमल थापाले सि.आर.आई.लाई बताए अनुसार अस्पतालले यो एक महिनाको अवधिमा 4 सय भन्दा बढी बिरामीलाई सेवा प्रदान गरेको छ । अस्पतालमा हाल दैनिक 19 देखि 39 जनासम्म बिरामीहरु सेवाका लागि आउने गरेका छन् ।
अस्पतालले तत्कालका लागि विभिन्न आठवटा क्षेत्रमा वहिरङ्ग सेवा सञ्चालनमा ल्याएको छ । हाल उपलब्ध सेवाहरुमा सामान्य चिकित्सा, शल्यक्रिया, वालरोग, प्रसूति तथा स्त्री रोग, एक्सरे, अल्ट्रासाउण्ड, प्रयोगशाला र औषधालय छन् । थप सेवालाई क्रमश: सञ्चालनमा ल्याउने योजना रहेको पनि डा. थापाले बताउनुभयो ।
अहिले सबैतिरका निजामति सेवामा रहेका कर्मचारीलाई अस्पतालका बारेमा थाहा भएपछि अस्पतालमा आउने बिरामीको संख्यामा थप वृद्धि हुने कुरा डा. थापा बताउनुहुन्छ । चिनियाँ सहयोगमा बनेको निजामति सेवा अस्पताल सञ्चालनमा आएपछि प्रत्यक्ष रुपमा वहालवाला र अवकासप्राप्त गरी लगभग डेढलाख कर्मचारीले सेवा प्राप्त गर्ने भएका छन् ।
त्यसैगरी अप्रत्यक्ष रुपमा आश्रित परिवारका सदस्यहरु गरी 5 लाखभन्दा बढीले सेवा प्राप्त गर्ने कुरा पनि डा. थापाले बताउनुभयो । अस्पतालबाट सर्वसाधारणहरुले पनि सेवा प्राप्त गर्न सक्नेछन् । तर अस्पताल निजामति सेवामा कार्यरत कर्मचारीका लागि बनेको हुनाले कर्मचारी र परिवारजनका लागि भने विशेष छुटमा उपचार पाउने व्यवस्था छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|