काठमाडौँका मानिसहरु मस्तसँग सुतिरहेका बेला पनि कीर्तिपुरमा भने रातभर बत्तीको उज्यालोमा काम भइरहेको देख्न सकिन्छ। यसरी काम गर्ने व्यक्तिहरु नेपाली भने होइनन्। चिनियाँ इन्जिनियर र कामदारहरु कीर्तिपुरमा आयुर्वेद अनुसन्धान केन्द्रको निर्माण दिउँसो मात्र होइन रातमा पनि गरिरहेका छन्।
चिनियाँ सहयोगमा निर्माणधिन आयुर्वेद अनुसान्धन केन्द्रको तीन महिना अगाडि मात्र कार्य प्रारम्भ भएको हो। अहिले यस परियोजनाले पहिलो चरणमा पूर्वाधारका काम पूरा गरेको छ। जमिन खन्ने, सडक बनाउने, हाइभोल्टेजका बत्ती जडान गर्ने र निर्माण सामग्री तथा औजारहरु राख्ने काम पूरा भएको परियोजनाका सम्पर्क अधिकारी डा. हरिश्चन्द्र शाहले सि.आर.आई.लाई बताउनुभयो।
परियोजना निर्माण गर्नका लागि गत वर्षको अगष्ट 18 तारिखका दिन नेपाल र चीनका अधिकारीहरुबीच हस्ताक्षर भएको थियो। यस परियोजनाका लागि चिनियाँ सरकारले नेपाललाई लगभग 67 करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ। झण्डै 35 रोपनी क्षेत्रफलमा बन्ने यो परियोजनाको निर्माण कार्य सम्पन्न हुनका लागि 20 महिना लाग्ने डा. शाह बताउनुहुन्छ। सन् 2010 भित्र यो परियोजनाको निर्माण कार्य पूरा हुनेछ। परियोजनाले आयुर्वेदका लागि अत्याधुनिक अनुसन्धानालय, आयुर्वेद अस्पताल तथा विश्वविद्यालय स्तरको आयुर्वेद अध्ययन केन्द्रको निर्माण गर्नेछ।
तीन महिना अगाडि तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेल र नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले यस परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|