नेपाल र चीनबीचको सम्बन्ध आर्थिक पक्षबाट पनि दरिलो बन्दै गएको छ । नेपालको उद्योग धन्दाहरुमा 97 करोड 63 लाख रुपैयाँको चिनियाँ लगानी भएको छ । अगिल्लो आर्थिक वर्षमा नेपाल भित्रिएको चिनियाँ लगानी 44 करोड 87 लाख रुपैयाँ मात्र थियो । चालु आर्थिक वर्षमा सो मात्रा बढेर दोब्बरभन्दा माथि पुगेको छ ।
संविधानसभापछि नेपालमा शान्ति पक्रिया अगाडि बढ्नु र चिनियाँ लगानीकर्ताका लागि भरोसा जाग्नुले उनीहरुले नेपालमा लगानी गर्न विशेष रुचि देखाएका हुन् । नेपालमा चिनियाँ लगानी भित्र्याउनका लागि नेपाल सरकारले पनि मैत्रीपूर्ण लगानी वातावरणको व्यवस्था गर्नुपर्ने चिनियाँ लगानीकर्ताहरुले समय समयमा माग उठाउँदै आएका छन् ।
उद्योग मन्त्रालयको वैदेशिक लगानी शाखाका प्रमुख प्रदीप कोइरालाले सि.आर.आई.लाई बताए अनुसार अहिलेसम्म 52 वटा परियोजनामा चिनियाँ लगानी गर्नका लागि अनुमति प्रदान गरिएको छ । कोइरालाका अनुसार चिनियाँ लगानीकर्ताहरु जलविद्युत र खनिजजन्य उद्योगतिर आकषित भएका छन् ।
चिनियाँ लगानीकर्ताहरु ठूला ठूला उद्योगधन्दामा भन्दा साना र मझौला उद्योगधन्दामा लगानी गर्न इच्छुक देखिएका छन् । विभिन्न समयमा गरिएका अध्ययनका विश्लेषणबाट नेपाल र चीनबीचको संयुक्त लगानीबाट चीनको स्वायत्त प्रदेश तिब्बत र नेपालमा पर्यटन उद्योगलाई थप मजबुत बनाउन सकिन्छ भन्ने निक्र्योल निकाल्न थालिएको छ । नेपालका निजी क्षेत्रसँग मिलेर चिनियाँ लगानीकर्ताहरु सेवामुलक, उत्पादनमुलक तथा व्यापारजन्य उद्योगमा लगानी गर्न इच्छुक रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी बताउनुहुन्छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|