नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रचार गर्नका लागि ठूलै उत्साहका साथ सरकारी तथा निजी क्षेत्रका व्यवसायीहरु सम्लग्न रहेको एक नेपाली प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ । परम्परागत नेपाली उत्पादन तथा अन्तर्राष्टि्रय क्षेत्रमा बजार बिस्तार गर्नका लागि चीनमा आयोजना हुँदै गरेको दक्षिण एसियाली राष्ट्रहरुको औद्योगिक तथा व्यापारिक मेलामा भाग लिन नेपाली प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो ।
मेला भोलि 6 तारिखदेखि 10 तारिखसम्म सञ्चालन हुनेछ । चीनको दक्षिणपूर्वमा रहेको सुन्दर पर्यटकीय सहर खुन्मिङ्गमा आयोजना हुने यस मेलामा नेपालका २1 जना प्रतिनिधि रहेको टोली हिजो साँझ काठमाडौँबाट चीन प्रस्थान गरेको छ ।
काठमाडौँबाट चीन प्रस्थान गर्नुपूर्व नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरन्जन भट्टराईले मेलामा नेपालको उपस्थिति महत्वपूर्ण रहने सि.आर.आई.लाई प्रतिक्रया दिनुभयो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले गर्नु भएको छ । नेपाली प्रतिनिधिमण्डलमा सहभागीहरुमा प्रमुख ओझा र परिषदका अध्यक्ष भट्टराईका साथमा उद्योग मन्त्रालयबाट अन्य तीनजना अधिकारी र निजी क्षेत्रबाट 16 जना व्यवसायीहरु सम्मिलित रहेका छन् ।
मेलामा नेपालको तफबाट 18 वटा प्रदर्शनी कक्ष्ाहरु रहनेछन् । नेपालमा उत्पादन गरेर चीनमा निर्यात गर्न सकिने सामानहरुलाई प्रदर्शनीमा राखेर दुई देशबीचको व्यापार घाटा कम गर्न सकिने सोचाइ रहेको प्रतिनिधिमण्डलका नेता उद्योग सचिव ओझाले बताउनुभयो । विभिन्न हस्तकलाका सामानहरु, पस्मिना, फर्निचर तथा काठका सामानहरु, नेपाली कागजका उत्पादन जस्ता कुरालाई प्रदर्शनीमा राखिने भएको छ । यस प्रकारको मेलामा नेपालको दोस्रोपटक सहभागी जनाएको हो । दुई वर्ष अगाडि चीनमा आयोजना भएको सोही मेलामा नेपालले पहिलोपल्ट भाग लिएको थियो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|