आजभन्दा एक हजार 6 सय वर्ष अगाडि नेपालको कपिलवस्तुमा जन्मिएका बुद्धभद्रले चीनमा गएर बौद्धधर्मको प्रचारमा महत्वपूर्ण काम गरेको नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले बताउनु भएको छ । प्राध्यापक मीनबहादुर शाक्यले लेख्नु भएको 'नेपाली वुद्धधर्मावलम्बी विज्ञ वुद्धभद्रको जीवन' पुस्तकको गत शनिबार काठमाडौँमा विमोचन गर्दै राजदूत छ्वुले सो बिचार व्यक्त गर्नु भएको हो ।
चीन अध्ययन केन्द्रले प्रकाशन गरेको सो पुस्तकको विमोचन समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै चिनियाँ राजदूत छ्वुले नेपाल र चीनबीचको युगौँ पुरानो सांस्कृतिक सम्बन्धमा वुद्धभद्रले इतिहास निर्माण गरेको चर्चा गर्नुभयो । सन् 1955 मा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि नयाँ चरणमा विकास भएको उल्लेख गर्दै दुई देशबीचको मैत्री सम्बन्धमा अरनिको, भृकुटीजस्तै बुद्धभद्रको योगदानलाई पुस्तकाकारमा प्रकाशन गरेकोमा उहाँले केन्द्रलाई बधाई पनि दिनुभयो ।
प्राध्यापक शाक्यले चीनमा बसेर चिनियाँ स्रोतहरुकै आधारमा वुद्धभद्रको जीवनी लेख्ता भोग्नु परेको अनुभवलाई समारोहमा प्रस्तुत गर्नु भएको थियो । प्रकाशित पुस्तकमाथि प्राध्यापकय बिजय मानन्धर र ज्ञानमणि नेपालले टिप्पणी गर्नु भएको थियो ।
चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले नयाँ चीन स्थापना भएको साठीऔँ वाषिकोत्सव पुग्दै गरेको अवसरमा पुस्तक प्रकाशन गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । चीनमा वुद्धभद्र भारतबाट आएका हुन् भनेर गलत धारण रहेको उल्लेख गर्दै यो पुस्तकले सही सुचना सम्प्रेषण गरेको पनि अध्यक्ष रेग्मीले बताउनुभयो ।
समारोहका सभापति संस्कृतिविद सत्यमोहन जोशीले वुद्धभद्र पहिलो गैरआवासीय नेपाली रहेको उल्लेख गर्दै उनले गरेका महत्वपूर्ण कामहरुको अझै खोज अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|