नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्रीमा नियुक्त हुनु भएपछि चिनियाँ राजदूत छ्वु कोहोङ्गले दोस्रोपटक भेट गर्नु भएको छ । हिजो अपरान्ह प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा राजदूत छ्वु र प्रधानमन्त्री नेपालबीचमा कुराकानी भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराईले सि.आर.आई.लाई बताउनु भएको छ ।
भेटका क्रममा चिनियाँ राजदूत छ्वुले नेपाललाई प्राप्त हुँदै आएको चिनियाँ सहयोग निरन्तर रहने प्रधानमन्त्री नेपाललाई बताउनुभयो । नेपालको वर्तमान विकसित राजनीतिक अवस्था, नयाँ संविधान निर्माण तथा शान्ति प्रक्रियाको निष्कर्शका बारेमा पनि चिनियाँ राजदूत छ्वुले प्रधानमन्त्री नेपाल समक्ष जिज्ञासा राख्नु भएको थियो । नेपालको भूमि चीन बिरोधी गतिविधिमा प्रयोग हुन सक्ने चिन्ता चिनियाँ राजदूत छ्वुले प्रधानमन्त्री नेपाल समक्ष राख्नु भएको थियो ।
प्रधानमन्त्रीका सल्लाहकार भट्टराईका अनुसार राजदूत छ्वुले चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप नगर्ने बताउँदै नेपालको सरकार र जनताले गर्ने निर्णयलाई चीनले सम्मान गर्ने प्रतिवद्धत्ता व्यक्त गर्नुभएको छ ।
नेपालले सधैँ एक चीनको नीतिलाई समर्थन गरेको बताउँदै नेपालको भूमि चीन बिरोधी गतिविधिमा प्रयोग हुन नदिन वर्तमान सरकार चनाखो रहेको प्रधानमन्त्री नेपालले चिनियाँ राजदूत छ्वुलाई बताउनु भएको सल्लाहकार भट्टराईले सि.आर.आई.लाई जानकारी दिनु भएको छ ।
माधवकुमार नेपाल प्रधानमन्त्रीमा नियुक्त हुनासाथ चिनियाँ प्रधानमन्त्री वानच्वा पाओको शुभकामना सन्देश लिएर चिनियाँ राजदूत छ्वुले प्रधानमन्त्री नेपालसँग पहिलो पटक भेट गर्नु भएको थियो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|