पश्चिमा राष्ट्रहरुको उक्साहटमा नेपाली जनतामा गतल प्रभाव पार्नका लागि चीन बिरोधी सूचना प्रवाह गर्ने कार्य अझै पनि नरोकिएको संस्कृतिविद सत्यमोहन जोशीले बताउनु भएको छ।
सि.आर.आई.सँग कुरा गर्दै जोशीले भन्नुभयो "नेपालको भूमि र नेपालका सञ्चार माध्यमहरु प्रयोग गरेर अहिले पनि चीनका विरुद्धमा विषवमन गर्ने गरिएको छ। यसलाई रोक्नुपर्छ।" नेपालले आफ्ना दुवै छिमेकी राष्ट्रहरुलाई उत्तिकै आदर सम्मानको दृष्टिबाट हेर्ने गरेको बताउँदै अर्को देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिले गर्दा चीन नेपालका लागि अझै भरपर्दो र घनिष्ट छिमेकी मुलुक भएको उहाँले बताउनुभयो।
संस्कृतिविद जोशीले आफ्नै सक्रियतामा कीर्तिपुरमा नेपाल भाषा एकेडेमी स्थापना गरी अरनिको संग्राहलय खोल्नु भएको छ। उहाँले सोही एकेडेमीले सञ्चालन गर्नेगरी नेपाल भाषाको एफ.एम. पनि परीक्षण प्रशारण गर्न थाल्नु भएको छ। नेपालका सबै रेडियो र टेलिभिजनहरुले एकपक्षीय रुपमा भारतीय संस्कृति, चलचित्र र भाषाको मात्र प्रचार गरेकोमा असन्तुष्ट जोशी आफूले सञ्चालनमा ल्याएको एफ.एम.बाट चिनियाँ गीत, भाषा र संस्कृति प्रचार गर्ने सोचाइमा हुनुहुन्छ।
नेपाल टेलिभिजनको भौतिक पूर्वाधार गर्ने काममा चीनले ठूलो सहयोग गरेको तर त्यही टेलिभिजनबाट कुनै चिनियाँ गीत र चलचित्र नदेखाइनु दु:खको विषय भएको पनि जोशीले बताउनुभयो।
त्यसैगरी अन्य पत्रपत्रिका तथा विविध खालका सञ्चार माध्यमले पनि एक चीनको नीतिमा दखल पुर्याउने तथा नेपाल र चीनबीचको मैत्री सम्बन्धमा नकारात्मक प्रभाव पार्ने काम गरेकाले त्यस्ता कार्य बन्द गर्न जोशीले सरकारसँग माग गर्नुभयो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|