china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बत यात्रा सम्बन्धी विषयको आठौं भाग
    (GMT+08:00) 2009-07-28 18:42:44    

    रवि- श्रोताहरु, हामीले विगतका केही हप्तादेखियता छिङ्गहाई-तिब्बत रेलमार्गका विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, छिङ्गहाई-तिब्बत रेलमार्गको विशेषताका बारेमा तपाईंलाई कत्तिको जानकारी छ ?

    ध्रुव- रविजी, चीनले विश्वको छानोमा अझ भनौं विश्वकै सबैभन्दा अग्लो ठाउँमा रेलमार्ग निर्माण गरि सञ्चालन गरेपछि रेलमार्गसम्बन्धी विश्वको इतिहासमा नयाँ अध्याय अथवा नयाँ पाना थप भएको छ भन्न सकिन्छ । त्यसैले म त्यसको बारेमा केही तथ्यसहित छोटकरीमा जानकारी दिन चाहन्छु । मैले अघि पनि भने छिङ्गहाई-तिब्बत रेलमार्ग विश्वको सबैभन्दा अग्लो ठाउँमा बनाइएको रेलमार्ग हो । यसको झन्डै 9 सय 60 किलोमीटरको दुरीमा रहेका ट्याकहरु समुद्र सतहबाट 4 हजारभन्दा माथिको भूभागमा पर्छन् । समुद्रसतहबाट सबैभन्दा अग्लो भागमा पर्ने ट्रयाक 5 हजार 72 मीटरको उचाईसम्म पुग्छ, जुन पहाडलाई थाङ्गकुला पहाड भनिन्छ । त्यो रेलमार्ग सञ्चालन हुनुभन्दा अगाडि विश्वको सबैभन्दा अग्लो भागको रेलमार्ग भनेर पेरुको एन्डिज रेलमार्गलाई लिने गरिन्थ्यो । त्यो एन्डिज रेलमार्गको सबैभन्दा अग्लो भागको उचाइभन्दा थाङ्कुला पहाड हुँदैजाने छिङ्गहाई-तिब्बत रेलमार्गको ट्रयाकको उचाइ दुई सय मीटर बढी छ ।

    रविजी, थाङ्गकुला पहाडको सबैभन्दा उच्च भूभागमा पुग्नुभन्दा केही मिनेटअगाडि चिनियाँ र अंग्रेजी भाषामा रेलमार्गको सबैभन्दा अग्लो भाग आएको जानकारी दिइएको थियो रेलमा । यो सुन्ने बित्तिकै चिनियाँ र विदेशी यात्रीहरु हत्तनपत्त झोलाबाट क्यामेरा झिकेर फोटो लिन तयार देखिन्थे । सबैले क्यामेरा लिएर शीशाको झ्यालमा पुग्दा डिब्बामा मान्छे हिड्ने गल्ली भरिभराउ भएको थियो ।

    रवि- ध्रुवजी, तपाईंहरुले पनि फोटो लिनुभयो कि ?

    ध्रुव- हजुर रविजी, मैले पनि लिएँ । पहिलो पटकको यात्रामा थाङ्कुलाको शिखरमा पुग्दा हामीहरु रेलभित्रको रेष्टुराँमा खाना खादैँ थियौँ । मलाई त सुरुमा दायाँपट्टी गएर फोटो लिउँ कि बायाँपट्टी गएर फोटो लिउँ भन्ने भयो । मैले त्यसबेला एउटा दिशाको मात्रै फोटो लिन पाएँ । यसैवर्ष दोस्रोपटक जाँदा भने मैले अर्को दिशाको फोटो लिन पाएँ । मसँग केही फोटाहरु त्यो सबैभन्दा अग्लो भागको पनि छ ।

    रवि- तपाईंले छिङ्गहाई-तिब्बत रेलमार्गको विशेषताका बारेमा बताइरहनुभएको थियो।

    ध्रुव- हजुर रविजी, रेलमार्गले राखेको अर्को विश्व कीर्तिमानको चर्चा गर्ने हो भने पठारभूमिमा बनाइएको यो विश्वको सबैभन्दा लामो रेलमार्ग हो जुन छिङ्गहाई प्रान्तको सदरमुकाम सिनिङ्गबाट तिब्बतको सदरमुकाम ल्हासासम्म विस्तार भएको छ । सबैभन्दा पछिल्लो समयमा निर्माण सम्पन्न भएको गोल्मुड-ल्हासा खण्डको 1 हजार 1 सय 42 किलोमीटरको ट्रयाक खुनलु र थाङ्गकुला पहाडको क्षेत्रमा बाङ्गोटिङ्गो हुँदै अगाडि बढ्छ ।

    त्यो रेलमार्गको विशेषताबारे चर्चा गर्दा छुटाउन नहुने कुरा के हो भने छिङ्गहाई-तिब्बत रेलमार्गको 5 सय 50 किलोमीटर लामो ट्रयाक बिच्छ्याएको ठाउँको तापक्रम सधैँ शुन्य डिग्री सेल्सियसभन्दा धेरै कम हुन्छ जहाँ बाह्रै महिना हिउँ पर्छ । यसरी चिसोले जमेको जमिनमा बनाइएको यो विश्वकै सबैभन्दा लामो ट्रयाक हो ।

    रविजी, अघि मैले समुद्रसतहबाट सबैभन्दा अग्लो भाग थाङ्गकुला पहाडमा पर्ने ट्रयाक 5 हजार 72 मीटरको उचाईसम्म पुग्छ भनेको थिएँ । त्यही थाङ्गकुला पहाडमै एउटा रेलवे स्टेशन पनि बनाइएको छ । त्यो थाङ्गकुला रेलवेस्टेशन समुद्र सतहबाट 5 हजार 68 मीटरको उचाइमा छ । अहिलेसम्म सबैभन्दा अग्लो भागमा निर्माण गरिएको यो विश्वकै एक मात्र रेलवे स्टेशन हो ।

    रवि- श्रोताहरु, रेलमार्गको विश्व इतिहासमै छिङ्गहाई-तिब्बत रेलमार्गले थुप्रै नयाँ पानाहरु थपेको छ । यो मीठो गीत बज्नुभन्दा अगाडिसम्म त्यही इतिहासका विषयमा हामीहरुले कुराकानी गरिरहेका थियौं । ध्रुवजी, यसमा अरु कुराहरु पनि बाँकी छन् कि ?

    ध्रुव- रविजी, छिङ्गहाई-तिब्बत रेलमार्गले चीनमा ल्याएको आर्थिक र सामाजिक क्रान्तिको विषय त एउटा अनुसन्धानको विषय नै हुनसक्छ । तर आजको कार्यक्रममा हामीले विशेष गरेर छिङ्गहाई-तिब्बत रेलमार्गको निर्माण र संचालनले विश्व रेल इतिहासमा रचेका नयाँ इतिहासका बारेमा मात्रै त्यो पनि छोटकरीमा चर्चा गरिरहेको छु ।

    मैले अगिल्लो कार्यक्रममा पनि भनेको थिएँ जस्तो लाग्छ- छिङ्गहाई-तिब्बत रेलमार्गले पैचिङ्गबाट ल्हासासम्मको चार हजार किलोमीटरभन्दा लामो बाटो तय गर्ने क्रममा कैयौं पुल र सुरुङ्गहरु छिचोल्दै जान्छ । यस्ता पुल र सुरुङ्गहरु वास्तवमा अनगिन्ती नै छन् । यस्तै सुरुङ्गहरुमध्येको एउटा फङ्ग ह्वो शान अर्थात् फङ्गहो पहाडमा रहेको सुरुङ्ग हो । यो फङ्गहो सुरुङ्ग समुद्र सतहबाट 4 हजार 9 सय पाँच मीटरको उचाइमा बरफले जमेको पहाड भित्र बनाइएको छ । यो विश्वको सबैभन्दा अग्लो भूभागमा बनाइएको सुरुङ्ग हो ।

    सुरुङ्गहरुकै कुरा गर्दा अर्को छुटाउन नहुने सुरुङ्गको नाम हो खुनलुन पहाडको सुरुङ्ग । त्यो खुनलुन पहाडको सुरुङ्गको लम्बाइ 1 हजार 6 सय 86 मीटर लामो छ । त्यो पहाडमा पनि वर्षैभरी हिउँ जमिरहेको हुन्छ । विश्वको अग्लो पठार भूमिमा बनाइएको सुरुङ्गहरुमध्ये उक्त खुनलुन पहाडको सुरुङ्ग सबैभन्दा लामो सुरुङ्ग हो ।

    रवि- हामीले तपाईंको छिङ्गहाई-तिब्बत रेलमार्गको यात्राको बारेमा धेरै छलफल र चर्चा गर्यो । अब भने छिङ्गहाई-तिब्बत रेलमार्ग सञ्चालन गरिएपछि तिब्बतको परिवर्तनका बारेमा छलफल गरौं कि भन्ने मलाई लागेको छ ।

    ध्रुव- हुन्छ रविजी । आजको कार्यक्रममा त हामीलाई समयले साथ दिदैँन होला । म अर्को हप्तादेखि मैले तिब्बतमा देखेका परिवर्तनहरु अझ विशेष गरेर छिङ्गहाई-तिब्बत रेलमार्ग सञ्चालन हुनुभन्दा अगाडी र रेलमार्ग सञ्चालनमा आएपछिका समयमा त्यहाँ देखाएका सामाजिक र आर्थिक परिवर्तनका बारेमा चर्चा गर्ने प्रयास गर्नेछु । अहिले तिब्बतले आर्थिक, सामाजिकलगायतका क्षेत्रमा प्राप्त गरेको उपलब्धि वास्तवमा विश्वकै जनताका लागि चासोको विषय बनेको छ । हामी नेपाली त झन तिब्बतसँग सीमा जोडिएको देशको मुलुकका जनता भएकाले त्यसको बारेमा झन बढी चासो हुनु स्वभाविकै पनि हो । त्यसैले रविजी तपाईंले भन्नुभएको विषयमा हामी अर्को हप्ताको कार्यक्रमबाट छलफल सुरु गरौलाँ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040