नेपाल भ्रमणमा रहेको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रतिनिधिमण्डल र श्रोताबीचमा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । सि.आर.आई. श्रोता क्बलहरुको राष्ट्रिय परिषद नेपालको आयोजनामा भएको सो कार्यक्रम आज अपरान्ह राष्ट्रिय परिषदको कार्यालय महाराजगंजमा सम्पन्न भएको हो।
राष्ट्रिय परिषदका प्रमुख सल्लाहकार प्रकाशबाबु पौडेल, कार्यवाहक अध्यक्ष टिकाराम घिमिरे, सचिव दुर्गा घिमिरे लगायत काठमाडौँमा उपस्थित रहनु भएका सबै केन्द्रीय पदाधिकारीहरुको सो कार्यक्रममा उपस्थिति थियो।
सो अवसरमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली विभागका उपनिर्देशक च्याङ्ग मिङ्गले आफ्नो विभागका मुख्य गतिविधिमाथि प्रकाश पार्नुभयो । उहाँले नेपाली श्रोता र सि.आर.आई. नेपाली विभागबीचमा नङ र मासुको जस्तै अन्योन्याश्रित सम्बन्ध स्थापना भएको बताउँदै बितेका 34 वर्षमा सि.आर.आई.ले लाखौँ नेपाली श्रोताबाट अथाह माया पाएकोमा नेपाली श्रोताप्रति आभार व्यक्त गर्नुभयो ।
राष्ट्रिय परिषदका प्रमुख सल्लाहकार प्रकाशबाबु पौडेलले सि.आर.आई.को प्रतिनिधिमण्डललाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै दुई देशबीचको मैत्री सम्बन्धलाई जनस्तरसम्म पुर्याउन सि.आर.आई.ले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । त्यसैगरी कार्यवाहक अध्यक्ष टिकाराम घिमिरेले नेपाली श्रोताहरुले चीनका बारेमा जानकारी राख्नका लागि सि.आर.आई. र यसको वेभसाइटलाई उत्तम माध्यमका रुपमा लिएको चर्चा गर्दै सि.आर.आई.का कार्यक्रमहरु भविष्यमा अझै लोकपि्रय हुने आशा प्रकट गर्नुभयो ।
सो अवसरमा राष्ट्रिय परिषदका पदाधिकारीहरुले सि.आर.आई.ले गुणस्तरीय कार्यक्रम उत्पादन गर्न तथा प्रसारण गर्नका लागि विभिन्न सुझावहरु प्रस्तुत गर्नुभयो । प्रतिनिधिमण्डलमा संलग्न रहनु भएका सि.आर.आई. सिंहाली विभागका निर्देशक वाङ्गस्याओ तोङ्ग र श्रोता सम्पर्क विभागका सचिव लिउ स्याङ्गयान पनि अन्तर्क्रिया कार्यक्रममा सहभागी रहनुभयो ।
अहिले साँझ सि.आर.आई.को प्रतिनिधिमण्डल मैत्री एफ.एम.को अवलोकन भ्रमणमा रहेको छ । मैत्री एफ.एम.ले गतवर्षदेखि सि.आर.आई.का कार्यक्रमहरुलाई रिले प्रसारण गर्दै आएको छ ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|