गत जुलाई 30 तारिख नेपाल भ्रमणमा आएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रतिनिधिमण्डल आज काठमाडौँबाट स्वदेश फर्किएको छ । थाइ एयरलाइन्सबाट पैचिङ्ग फर्किने क्रममा आज थाइल्याण्डको राजधानी बैंकक हुँदै पर्सि प्रतिनिधिमण्डल पैचिङ्ग पुग्नेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ प्रतिनिधिमण्डललाई नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसनका अध्यक्ष तथा सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका प्रमुख सल्लाहकार प्रकाशबाबु पौडेल र राष्ट्रिय परिषदका अन्य पदाधिकारीहरुले विदाइ गर्नुभयो ।
नेपाल भ्रमणका क्रममा चिनियाँ प्रतिनिधिमण्डलले सि.आर.आई. श्रोता क्बलहरुको राष्ट्रिय परिषद नेपालले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम तथा इटहरीमा नेपाल चीन जनमैत्री परिषदले आयोजना गरेको कन्फ्युसियस इन्स्टिच्युट कक्षाको उद्घाटन कार्यक्रममा सहभागी भएको थियो । नेपालबाट चीन फर्कनु अगाडि प्रतिनिधिमण्डलका नेता सि.आर.आई. नेपाली विभागका उपनिदेशक च्याङ्ग मिङ्ग अर्थात् रविले नेपाली श्रोताहरुले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोलाई अत्यधिक माया गरेकाले आफू हषित भएको बताउनुभयो।
आफ्नो नेपाल भ्रमण सफल भएको बताउँदै सि.आर.आई.ले नेपालको पूर्वी भेगमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गरेर चिनियाँ भाषा र संस्कृतिको प्रचारप्रसारमा थप सहयोग पुर्याएको उहाँले बताउनुभयो ।
नेपाली विभागका उपनिदेशक च्याङ्ग मिङ्गले नेतृत्व गर्नु भएको चिनियाँ प्रतिनिधिमण्डलमा सिंहाली विभागका निदेशक वाङ्गस्याओ तोङ्ग र अन्तर्राष्ट्रिय सहयोग तथा चिनियाँ भाषा प्रवर्द्धन विभागका सचिव लिउ स्याङ्गयान सहभागी हुनुहुन्थ्यो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|