हवाई मार्ग भएर नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या उल्लेख्य रुपमा बढेको छ । गत वर्षको जुलाई महिनामाभन्दा गत जुलाई महिनामा 16 प्रतिशत बढी चिनियाँ पर्यटकहरु नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले जनाए अनुसार गत वर्ष सन् 2008 को जुलाई महिनामा नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या 6 सय 13 थियो भने चालुवर्षको सोही महिनामा चिनियाँ पर्यटकको संख्या बढेर 7 सय 11 पुगेको छ । त्यसैगरी गत वर्षको जनवरीदेखि जुलाई महिनासम्म नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या चालू वर्षको सोही अवधिमा पनि 4 प्रतिशतले बढेको बोर्डले जनाएको छ । गत वर्षको उक्त अवधिमा 7 हजार छसय 50 जना चिनियाँ पर्यटकहरु नेपाल घुम्न आएका थिए भने चालू वर्षको यी 7 महिनामा 8 हजार चौँतीस जना चिनियाँ पर्यटकहरु नेपाल आएका छन् ।
चालु वर्षको जनवरीदेखि जुलाई महिनासम्ममा नेपाल आउने समग्र पर्यटकमा चिनियाँ पर्यटकले 4 प्रतिशत हिस्सा ओगटेको देखिन्छ । नेपाल पर्यटन बोर्डले जनाए अनुसार पर्यटकको तथ्यामा स्थल मार्गबाट नेपाल प्रवेश गर्ने चिनियाँ पर्यटकको संख्या उल्लेख गरिएको छैन । त्यसैगरी चीनको अधिनमा रहेको ताइवानबाट नेपाल भित्रिने चिनियाँ पर्यटकलाई पनि सो तथ्यामा समावेश नगरिएको बोर्डले जनाएको छ ।
गत तीनवर्षदेखि नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या क्रमश: बढिरहेको छ । चीनमा नेपालको बारेमा पर्याप्त प्रचारप्रसार हुन थालेको र चिनियाँ पर्यटकले नेपाललाई गन्तव्यको सूचिमा राख्न थालेपछि चिनियाँ पर्यटकहरु नेपाल घुम्न लालायित भएका हुन् ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|