चीनको स्वायत्त प्रदेश तिब्बतसँग सीमा जोडिएको नेपाली भूभागमा सरकारले सशस्त्र प्रहरीबल परिचालन गर्ने तयारीका बारेमा छलफल गर्नका लागि भोलि 15 तारिख शनिबारदेखि दुई पक्षीय बैठक बस्ने भएको छ। तिब्बतको ल्हासामा भोलि सुरु हुने बैठक एक सातासम्म चल्ने अनुमान गरिएको छ।
बैठकमा सशस्त्र प्रहरीबलका दुई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा एक दर्जन नेपाली सुरक्षा अधिकारी सहभागी हुनेछन्। सशस्त्र प्रहरीबल सीमासुरक्षा विभागका प्रमुख एआईजी किशोर लामाको नेतृत्वमा एआईजी कृष्ण विष्ट र एक सशस्त्र वरिष्ठ उपरीक्षक, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक बीरबहादुर रानासहित दुई नायव उपरीक्षकले सो बैठकमा भाग लिनेछन्। त्यसैगरी गृहमन्त्रालयका दुई प्रतिनिधि, राष्टि्रय अनुसन्धान विभागका तथा अध्यागमन विभागका तर्फबाट एकएकजना अधिकारी उक्त बैठकमा सहभागी हुने गृहमन्त्रालयले सि.आर.आई.लाई बताएको छ।
दुई पक्षीय सीमा सुरक्षा बैठकमा भाग लिनका लागि नेपाली प्रतिनिधिमण्डल आज बिहान काठमाडौँबाट ल्हासा प्रस्थान गरेको छ। नेपाली प्रतिनिधिमण्डलले ल्हासामा विभिन्न अधिकारीहरुसँग भेट गरी मैत्री सम्बन्धलाई अझै न्यानो बनाउने तथा मैत्रीभाव पैदा गराउने उद्देश्यले छलफल पनि गर्ने भएको छ।
नेपाल र चीनको स्वायत्त प्रदेश तिब्बतबीच सीमा जोडिएका जिल्लामा दुई देशबीचको मैत्री सम्बन्धमा आँच पुग्ने क्रियाकलाप रोक्ने बारेमा पनि बैठकमा छलफल हुनेछ। मुस्ताङ, सोलुखुम्बु, रसुवा, हुम्ला, संखुवासभा, दोखला, ताप्लेजुङ्ग र सिन्धुपाल्चोक जिल्लाका उत्तरी सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल स्थापना गर्ने नेपाल सरकारले तयारी गरिसकेको छ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|