
स्याङ्जाको फेदीखोला गाविस जोगीथानकी बासिन्दा हुन्, मञ्जिला गुरुङ । उनले लघुवित्त कार्यक्रमबाट विनाधितो सामूहिक जमानीमा 30 हजार रुपैयाँ ऋण लिएर भैंसीपालन सुरु गरिन् ।
भैंसीपालनबाट उनले दैनिक पाँच माना दूध बेच्ने गरेपछि मासिक 35 सय सजिलै कमाउँछिन् । किस्ता तिर्न पनि सजिलो, घर खर्च चलाउन पनि दुई/चार पैसा अरूसँग माग्न पर्दैन, अर्को भैंसी थप्ने तयारी गरिरहेकी मञ्जिलाले भनिन् ।
सेतीदोभान गाविस जुग्लेबजारमा सात वर्षेखि सानो फेन्सी पसल चलाउँदै आएकी सुमनी पौडेलले 25 हजार रुपैयाँ ऋण लिएर पसलमा सामान बढाइन् ।

'धेरथोर ऋण लिएर व्यवसाय बढाउने आँट गर्नेलाई लघुवित्त कार्यक्रमले ठूलो टेवा दिएको छ, उद्यमी महिलालाई पैसाका लागि अरूसँग बिन्ती बिसाउने दिन गएजस्तो लाग्छ, सुमनी भन्छिन् ।
छोरा र श्रीमान्का बेग्लाबेग्लै पेसा भए पनि स्याङ्जा बजारकी शीतला प्रधानले पनि 40 हजार रुपैयाँ ऋण लिएर दुई सय कुखुरा पाल्न सुरु गरिन् । डेढ महिनामा 18/20 हजार फाइदा हुन्छ ।
अरूसँग कर्जा लिन पर्या छैन, बसिरहनुभन्दा काम गरे शरीर पनि फुर्तिलो, आर्थिक फाइदा पनि हुन्छ, शान्ति सिर्जना मुक्तिनाथ महिला विकास केन्द्रकी अध्यक्षसमेत रहेकी प्रधानले भनिन् ।
मुक्तिनाथ विकास बैंकले लघुवित्त कार्यक्रम सञ्चालन गरेर ग्रामीण र सहरी क्षेत्रका विपन्न वर्गका उद्यमशील र जाँगरिला महिलालाई विनाधितो सामूहिक जमानीमा ऋण दिन थालेपछि मञ्जिला, सुमनी, शीतला प्रधानमात्र होइन, हजारौं महिला यस कार्यक्रमबाट लाभान्वित भएका छन् ।
बैंकहरू धेरैजसो राजधानी, प्रमुख सहरी क्षेत्र र जिल्ला सदरमुकाममा केन्द्रित छन् । तर मुक्तिनाथ विकास बैंकले भने ग्रामीण बैंकसँगै लघुवित्त कार्यक्रम ग्रामीण क्षेत्रमा केन्द्रित गरेपछि हातमा सीप र आँट भएका महिला चुलोचौका र घरधन्दाबाट उम्किएर सानातिना व्यापार व्यवसाय गरी लाभान्वित भएका छन् । एउटा समूहमा पाँच/पाँच सदस्य हुन्छन् । दुईदेखि बढी समूहको एउटा केन्द्र हुन्छ ।

उनीहरूले बचत संकलन, प्राथमिकताका आधारमा ऋण लगानी, किस्ता संकलन, बचत फिर्ता र सदस्यहरूका समस्याका बारेमा छलफल गर्छन् ।कार्यक्रमबाट व्यवसाय वृद्धि, घर्रखर्च सञ्चालन र सामाजिक क्रियाकलापमा सहयोग पुगेको महिलाको अनुभव छ ।
श्रीमान् रोजगार भए पनि मलाई घर्रखर्चका लागि पैसा माग्न पर्दैन, पेवा बढाउन पाएकी छु, 25 हजार रुपैयाँ ऋण लिएर बाख्रा-भैंसी पालेकी सेतीदोभान, जुग्लेकी द्रोपदी पौडेलले बताइन् ।
आर्थिक अवस्था खस्किएका उद्यमशील महिलाको आर्थिक एवं सामाजिक स्तर वृद्धि गर्ने अभिप्रयलेयले मुक्तिनाथ विकास बैंकले तनहुँ, स्याङ्जा र कास्कीका चार नगरपालिकासहित 68 गाविसमा लघुवित्त कार्यक्रम चलाएको छ ।
सो क्षेत्रमा चार सय 34 केन्द्रअर्न्तर्गत दुई हजार समूहमा दस हजार चार सय पाँच महिला सदस्य छन् ।
|