
नेपालको कास्की जिल्लामा व्यवसायिक कफी खेती गर्न स्थानीयस्तरमा कफी कृषक पाठशाला शुरु गरिएको छ । पाठशालामा स्थानीय किसानहरुलाई कफी उत्पादनसम्बन्धी सम्पूर्ण आवश्यक जानकारी समेत दिँदै आएको छ।लेखनाथ नगरपालिकास्थित पचभैयाका किसानहरुले आफनै पहलमा कफी पाठशाला शुरु गरेका हुन् ।
पाठशालामा कफीको लागि आवश्यक खाडल खन्ने, विरुवा रोप्ने, गोडमेल गर्ने, टिप्ने र प्रशोधन गर्ने लगायतका बारेमा किसानहरुलाई जानकारी दिने गरिएको छ ।"सर्वसाधारणलाई कफी खेती तर्फ आकषिर्त गर्दै व्यवसायिक कफी उत्पादनको लागि जिल्लामै पहिलो पटक किसानहरुको सक्रियतामा कफी किसान पाठशाला सुरु गरिएको हो । किसानहरुलाई तालिम दिइएपछि आधुनिक तरीकाले खेती शुरु गरिएको छ ।पाठशालामा मासिक रुपमा किसानहरुलाई कफीको बारेमा आवश्यक जानकारी दिइने छ।किसानहरुलाई फिल्डमै राखेर कफीसम्बन्धी सम्पूर्ण तालिम दिइन्छ तालिम लिएका सर्वसाधारणले कफी खेती शुरु गरेका छन् । पाठशालामा 25 जना किसानहरु आवद्ध छन् ।

कास्की जिल्लाका एक दजर्नभन्दा बढी गाविसका कफी खेती गरिँदै आएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारीअनुसार कास्कीको पचभैया, भलाम, सराङकोट, ढिकुरपोखरी, पाउदुर, बेगनास, हंसपुर, माझठाना, थुमाको डाँडा, धितालको झिझिर्कालगायत ठाउँमा कफी खेती गरिएको जिल्ला कृषि विकास कार्यालय पोखराका योजना अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।वर्षेनी कास्कीका कफीको क्षेत्रफलसागै उत्पादन बढ्दै गएको छ।वार्षिक 80 मेट्रिक टन उत्पादन हुने गरेको छ । एकसय हेक्टर क्षेत्रफलमा किसानहरुले कफी खेती गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले कफी खेतीको लागि किसानहरुलाई 50 प्रतिशत अनुदान समेत दिँदै आएको छ ।
योजना अधिकृतका अनुसार कफीको बेर्नाको छ रुपियाँमध्ये तीन रुपियाँ कृषि विकास कार्यालयले अनुदान दिँदै आएको छ । उहाँले कफीको लागि आठ सय मिटरभन्दा होचो ठाउँमा उत्पादित बेर्नालाई कृषि कार्यालयले सिफारिस नगर्ने जानकारी दिनुभयो।बेर्नासँगै किसानहरुलाई सहुलियतमा प्रशोधन मेशिन समेत उपलब्ध गराउँदै आएका छन् । किसानहरुले कफी प्रतिकेजी एक सय असी रुपियाँमा विक्री वितरण गर्ने गरेका छन् ।

उत्पादित कफी विदेशसमेत निर्यात गरिने जिल्ला कफी व्यवसायी संघ कास्कीले जनाएको छ । कास्कीबाट उत्पादित कफी एभरेष्ट कफी मिल, हाइलेन कफी कम्पनीसँगै जापान, अमेरिका,बेलायतलगायतका देशमा समेत निर्यात हुँदै आएको किसानहरु बताउँछन् ।
|