श्रीमती छतान याङचिन आफ्ना दुइ सयभन्दा बढी तिब्बती कुखुरालाई खुवाउनका लागि हरेक दिन विहान सूर्यसँगै उठ्नेगर्नुहुन्छ। ती कुखुराहरुलाई छिटै ठूला पारेपछि तिनलाई बेचेर राम्रो आम्दानी गर्नसक्ने आशा उहाँले गर्नुभएको छ।

श्रीमती छतान याङचिन बयालीस वर्षकी हुनुहुन्छ। उहाँको घर तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासादेखि दुइ सय सत्तरी किलोमिटर दक्षिण-पूर्वमा पर्ने कुंबुच्यांगता जिल्लाको चुंगशा गाउँमा पर्दछ। त्यस गाउँको उचाइ समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरभन्दा बढी छ। उहाँका जेठा छोरा हाल चीनको फु चेन प्रान्तको स्या मन चिकित्सा कलेजमा अध्ययनरत छन भने अर्का छोरा विद्यालय जानेगर्छन। तिब्बती कुखुरा पालनमा लाग्नुअघि उहाँको परिवार दुइवटा छोराको पढाइका लागि खर्च जुटाउन सक्दैनथ्यो। तिनताका उहाँका श्रीमानले हरेक वर्षको मे र जून महिनामा आफ्नो घर नजिकको पहाडमा तिब्बती जडिबूटी खन्ने गर्नुभएको थियो। त्यसबाट प्राप्त आम्दानीले छोराछोरीको पढाइ र सम्पूर्ण परिवारका लागि हुने खर्च पुर्याउनु पर्थ्यो।

सन 2002 मा स्थानीय सरकारको सहयोग तथा प्रोत्साहनमा श्रीमती छतान याङचिनले तिब्बती कुखुरा पाल्न थाल्नुभयो। उहाँले आफ्नो गाउँको सरकारद्बारा प्रदान गरिएको पाँच सय चिनियाँ युआनको प्रयोग गरी दशभन्दा बढी साना-साना कुखुराहरु किन्नुभयो। उहाँको हेरचाहमा ती साना कुखुराहरु विस्तारै-विस्तारै ठूला हुँदैआएका छन। तिनीहरुले झन-झन बढी अण्डा पनि पार्नेगरेका छन। विगत दुइ वर्षदेखि यता उहाँले तिब्बती कुखुरा र अण्डा बेचेर हरेक वर्ष पाँच हजार चिनियाँ युआनभन्दा बढी आम्दानी गर्नेगर्नुभएको छ। यसबाट उहाँको परिवारको जीवन क्रमशः सुखमय हुनथालेको छ।
उहाँको घर दुइ तले छ। उहाँको अतिथि गृहमा एउटा दुइ मिटर जति अग्लो फ्रिज राखिएको छ। अतिथि गृहमा रंगीन टेलिभिजन, डि.भि.डि र टेलिफोन आदि इलेक्ट्रोनिक वस्तुहरु पनि छन। आफूले पालेका दुइ सयभन्दा बढी तिब्बती कुखुराबारे चर्चा गर्दै उहाँले खुशी हुँदै भन्नुभयोः

"तिब्बती कुखुरा पाल्नथालेपछि हाम्रो परिवारको जीवन स्तरमा निकै सुधार भएको देखिन्छ। हामीले कुखुरा र अण्डा बेचेर बढी आम्दानी गर्नेगरेका छौं र यसैका कारण हाम्रो जीवन दिनप्रति दिन सुखमय हुँदैआएको छ।"
कुंबुच्यांगता जिल्लाका कुखुराहरु समुद्र सतहदेखि तीन हजार मिटरभन्दा अग्लो टारभूमिमा बस्छन। ती कुखुरा साना भए तापनि तीनको मासु निकै मीठो हुन्छ। विगत केही वर्षदेखि यता तिब्बती कुखुरा तिब्बतमा मात्र नभई जापानको बजारमा पनि निर्यात गरिंदैआएको छ।
(क्रमशः)
|