चीनको तिब्बत स्वायत्त प्रदेशको शान नान प्रिफेक्चरमा पर्ने सबैभन्दा प्रसिद्ध गुम्बा मिन्चुलिन गुम्बा हो। त्यसको इतिहास तीन सय वर्षभन्दा लामो छ। हाल सो गुम्बामा जम्मा चौउन्नजना शिक्षुहरु छन।

झण्डै सत्तरी वर्षीय लामा च्यांगपाई चेन्शन मिन्चुलिन गुम्बाको प्रजातान्त्रिक व्यवस्थापन समितिका प्रमुख हुनुहुन्छ। उहाँले आफ्नो गुम्बाका भिक्षुहरुले नियमित धार्मिक कार्यक्रमहरु बाहेक केही उत्पादन कार्य तथा व्यापार पनि गर्नेगरेका कुरा बताउनु भयो। यसबाट तिनीहरुको जीवनको वातावरणमा उल्लेख्य सुधार हुँदैआएको जानकारी दिंदै उहाँले भन्नुभयोः
"हामीले मुख्यतया तिब्बती धूपको उत्पादनका माध्यमबाट आफ्नो दैनिक जीवन निर्वाह गर्नेगरेका छौं। हाम्रो गुम्बामा बनेका तिब्बती धूपको नाउँ चीनभित्र र बाहिर पनि फैलिएको छ। यो हाम्रो गुम्बाको मुख्य आर्थिक श्रोतको मुहान हो। हाम्रा गुम्बाका भिक्षुहरुले आफ्नै प्रबन्धको उपयोग गरी त्यो धूप उत्पादन गर्नेगरेका छन।"

च्यांगपाई चेन्शन लामाले दिनुभएको जानकारी अनुसार, हाल मिन्चुलिन गुम्बासँग 0.7 हेक्टर जति जमिन छ। त्यसमा केही अन्न-बालीका साथै तरकारीका लागि दुइवटा हरित गृह पनि छन। यसका अतिरिक्त, सो गुम्बाका भिक्षुहरुले सत्रवटा दुधालु गाई र असीवटा चौंरी गाई पालेका छन। तिनीहरुले तीनवटा बस किनेर यात्रुलाई सेवा प्रदान गर्नेगरेका छन। यसका साथै तिनीहरुका दुइवटा पसल पनि छन जसमा केही स्थानीय विशेषतायुक्त वस्तुहरु पनि किन्न पाइन्छ। यी उत्पादन र बसबाट हुने आम्दानीबाट गत वर्ष मिन्चुलिन गुम्बाले आठ लाख चिनियाँ युवानभन्दा बढी आम्दानी गरेको छ। तसर्थ गुम्बाको जीर्णोद्धार तथा पूरातात्विक वस्तुहरुको संरक्षणमा चीनका विभिन्न तहका सरकारहरुले हरेक वर्ष विशेष रकम पनि पठाउने गरेका छन।
श्री च्यांगपाई चेन्शनले पूरातात्विक वस्तुहरुको संरक्षण तथा गुम्बाको जीर्णोद्धार बाहेक आफ्नो गुम्बाका भिक्षुहरुको जीवनमा सुधारका लागि त्यस आम्दानी उपयोगमा ल्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार, उहाँको गुम्बाका भिक्षुहरुले गरेको सम्बन्धित उत्पादनमूलक कार्यका लागि उचित पारिश्रमिक दिइन्छ भने हरेक भिक्षुले धार्मिक विज्ञानको अध्ययन तथा अन्य कार्यक्रममा हासिल गरेका उपलव्धि बमोजिम तिनीहरुलाई पुरस्कार रकम पनि प्रदान गरिन्छ। ती भिक्षुहरुले प्राप्त गर्ने औसत वार्षिक पुरस्कार सात सय चिनियाँ युआन जति छ भने सबैभन्दा बढीमा एकजना भिक्षुले तीन हजार चिनियाँ युआनको पुरस्कार पाएका छन।

मिन्चुलिन गुम्बाको दक्षिणी भागमा एउटा तिब्बती शैलीको दुइ तले भवन छ। त्यो सो गुम्बाका भिक्षुहरुको आवास हो। त्यहाँका हरेक भिक्षुको आफ्नै कोठा छ। हरेक कोठाको क्षेत्रफल सात वर्गमिटर जति छ।
(क्रमशः)
|