पैंत्तीस वर्षीय पाईमा कचुले बीस वर्षअघि मिन्चुलिन गुम्बामा प्रवेश गर्नुभएको थियो। हाल उहाँ एकजना उच्च स्तरीय लामा हुनुहुन्छ। हरेक महिना उहाँले आफ्नो गुम्बाबाट पचासदेखि साठी चिनियाँ युआनसम्मको अनुदान प्रदान गर्नेगर्नुभएको छ। हालको जीवनप्रति सन्तोष व्यक्त गर्दै उहाँले भन्नुभयोः
"हाम्रो गुम्बाको प्रजातान्त्रिक व्यवस्थापन समितिले हरेक महिना दुइ पटक हामी भिक्षु र लामाहरुलाई नियम-कानून सम्बन्धी ज्ञान दिनेगरेको छ। कहिलेकाहीं त हामीले सँगसँगै बसेर समाचारपत्र पढ्ने पनि गरेका छौं।"

श्री पाईमा कचु दिनमा धार्मिक ग्रन्थ, संस्कृत भाषा, प्राचीन तिब्बती भाषा र तिब्बती चिकित्साको अध्ययन गर्नुहुन्छ भने बेलुकी सरसफाइ सम्बन्धी कार्य गर्नुहुन्छ। यसका अतिरिक्त, उनीहरुले नजिकैका गाउँहरुमा बसोबास गर्ने तिब्बतीहरुको निमन्त्रणामा उनिहरुको घरमा गएर धार्मिक कार्यक्रमहरुको आयोजना पनि गर्नेगरेका छन। तिनीहरुले त्यहाँका केही विपन्न परिवारहरुको उत्पादनमा पनि सघाउनेगरेका छन। श्री पाईमा कचुका अनुसार, मिन्चुलिन गुम्बाले समय-समयमा चीनको हान जातिको भाषा लेखन तथा चित्रकला प्रतियोगिताको आयोजना गर्नेगरेका छन भने कहिलेकाहीं त सांस्कृतिक कार्यक्रम पनि देखाउनेगरेका छन। यसबाट सो गुम्बाका भिक्षुहरुको ज्ञान बढ्नुका साथै तिनीहरुको जीवनलाई पनि विविध पारिएको छ। श्री पाईमा कचुले आफ्नो गुम्बामा निरन्तर रुपमा अध्ययन गरेर स्थानीय जनताको हितका लागि काम गर्ने आशा गर्नुभएको छ।

प्राप्त जानकारी अनुसार, हाल तिब्बतका विभिन्न गुम्बाहरुले केही उत्पादन तथा व्यापारका माध्यममार्फत भिक्षु तथा लामाहरुको जीवन-स्तरलाई उकासेका छन। तिब्बतको पहिलो गुम्बा साँए गुम्बाले यात्रुहरुका लागि भाँडामा बस दिनुका साथै रेस्टुराँ र होटेल पनि खोलेको छ। तिब्बती बौद्ध धर्मको कलु समूहका चारवटा ठूला गुम्बाहरुमध्येको एक चासिलुम्बु गुम्बाका आठ सयभन्दा बढी भिक्षुहरुमा कोही आफ्नो गुम्बाको कारखानामा काम गर्दछन भने कोही यात्रुहरुका लागि पर्यटन सेवा प्रदान गर्दछन।
उन्नाइस वर्षीय भिक्षु पासांग छ वर्षअघि चासिलुम्बु गुम्बामा आएका हुन। यसबारे जानकारी दिंदै उनले भनेः

"हाम्रो चासिलुम्बु गुम्बाका धेरै लामाहरुले काम गर्नुपर्छ। यहाँका पाँच सयभन्दा बढी लामाहरुले मुख्यतया धार्मिक ग्रन्थको अध्ययन गर्छन भने अन्य तीन सयभन्दा बढी लामाहरुले व्यवस्थापनको कार्य गर्दछन। तिनीहरु हरेक विहान साढे पाँचदेखि आठ बजेसम्म मन्त्र जप्छन र नौ बजेदेखि काम गर्न थाल्छन।"
प्राप्त जानकारी अनुसार, तिब्बतमा साठी वर्ष उमेर पुग्ने भिक्षु तथा पचपन्न वर्ष उमेर पुग्ने भिक्षुणीहरुले तिब्बतका अन्य सर्वसाधारण जस्तै बिमा र चिकित्सा सेवा पाउनका लागि स्थानीय सरकारमा नाम दर्ता गर्न पाउँछन।
|