
गत शताव्दीको नब्बेको दशकको अन्तमा पैदल यात्रा गर्ने केही पर्यटकहरुले आकस्मिक रुपमा च्या च्यु गाउँको रमणीय दृश्य देखेका थिए। त्यसपछि त्यहाँको तिब्बती शैली झल्किने बास्तु, विशेष जातीय रीतिरिवाज, रमणीय प्राकृतिक दृश्य र सुन्दरी किशोरीहरुको नाउँ क्रमशः चारैतिर फैलिएको छ। च्या च्यु गाउँमा दुइ/तिन रात बसेर तिब्बती गाउँको विशेष दृश्य तथा चालचलनको अनुभव गर्ने इच्छा थुप्रै पर्यटकहरुको छ। सन 1999 मा श्रीमती कुई व्हाको कलिलो दिमागमा आफ्नै घरमा पर्यटकहरुको सेवाका लागि होटेल खोल्ने योजना सुझ्यो। अहिले श्रीमती कुई व्हा र उहाँकी दुइवटी बहिनीलगायत च्या च्यु गाउँका एक तिहाइ जति तिब्बतीहरुले पर्यटन व्यवसाय शुरु गरिसकेका छन।
पर्यावरणीय पर्यटन विशेषज्ञ थेन फुंगले च्या च्यु गाउँले त्यति धेरै पर्यटकहरुलाई भित्र्याउनसक्नुको मुख्य कारण त्यहाँको सरल रीतिरिवाज र शान्तिपूर्ण प्राकृतिक खेतीपातीको दृश्य नै भएको विचार व्यक्त गर्नुभएको छ। उहाँले अगाडी भन्नुभयोः

"पहाडको काखमा बसेको च्या च्यु गाउँ अत्यन्तै सुन्दर छ। त्यहाँका तिब्बती शैलीका हरेक घरलाई राम्ररी सिंगार-पटार गरिएको छ। घुम्नका लागि त्यहाँ जाने पर्यटकहरुको ठूलो इच्छा छ।"
ठूलो संख्यामा पर्यटकहरुको आगमनबाट पहिले शान्त च्या च्यु गाउँ अहिले रमाइलो हुनुका साथसाथै केही समस्याहरु पनि देखापरेका छन। त्यहाँका बासिन्दाहरुले एकपछि अर्को गरी आफ्ना घरको विस्तार गरेका छन। यस क्रममा गाउँका वरिपरीका पहाडका रुखहरु ठूलो मात्रामा काटिएका छन। यसरी पर्यटन व्यवसायको विकासले च्या च्यु गाउँको आर्थिक विकासलाई त सघाएको छ, तर यसबाट वातावरणीय संरक्षणको दिशामा ठूलो समस्या पनि उत्पन्न गराएको छ। यसबाट पहिलेको मानव जाति र प्रकृति बीचको मेलमिलापयुक्त वातावरण तथा पराम्परागत रीतिरिवाजयुक्त च्या च्यु गाउँका सामु ठूलो चुनौति पनि देखापरेको छ। यसले त्यस गाउँमा सबैभन्दा पहिले पर्यटन व्यवसाय शुरु गर्नुहुने श्रीमती कुई व्हालाई निकै चिन्तित तुल्याएको छ।

केही समयअघि आयोजना गरिएको एउटा पर्यटन आदान-प्रदान गोष्ठीबाट श्रीमती कुई व्हाले पर्यावरणीय पर्यटनबारे पहिलो पटक थाहा पाउनुभयो। सो गोष्ठीमा सहभागी केही विशेषज्ञहरुले पर्यावरणीय पर्यटन नै जिम्मेवारीयुक्त पर्यटन रहेको कुरा वताउनुभएको छ। स्थानीय विकासका साथसाथै वातावरण तथा संस्कृतिको पनि संरक्षण गरिनुपर्ने सन्दर्भमा यस्तो पर्यटनबाट स्थानीय बासिन्दा र वातावरण दुबै पक्षलाई फाइदा पुग्ने विचार उहाँहरुले व्यक्त गर्नुभयो। ती विशेषज्ञहरुले प्रस्तुत गर्नुभएको सुझाव च्या च्यु गाउँको पर्यटन व्यवसायको भावी विकासको दिशा रहने ठहर श्रीमती कुई व्हाले गर्नुभएको छ।
(क्रमशः)
|