
चीनमा पच्पन्नवटा अल्पसंख्यक जातिहरु छन। ती अल्पसंख्यक जातिका मानिसहरुको जनसंख्याले चीनको कूल जनसंख्याको आठ प्रतिशत स्थान ओगटेको छ। ती अल्पसंख्यक जातिहरु नाचगान र गायनमार्फत आफ्नो जीवनलाई विविध पार्दछन। ती विभिन्न जातिहरुको आ-आफ्नो कला-शैलीको विकासको इतिहास सयौं वर्ष पुरानो छ। चीनका अल्पसंख्यक जातिहरुको कलाबारे प्रशस्त विदेशी मित्रहरुको पनि ठूलो चासो छ। केही समयअघि सम्पन्न चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशनमा सहाभागी सदस्यहरुले चीनका अल्पसंख्यक जातिहरुको जातीय कलाको बिँडो थाम्ने र त्यसको संरक्षण गर्ने कुरालाई ठूलो महत्व दिनुभएको छ।
युन नान प्रान्तको तिछिंग तिब्बत स्वायत्त जिल्लाबाट आउनुभएका चुंयुंग चोमा चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका एकजना सदस्य हुनुहुन्छ। उहाँ तिब्बती जातिका प्रसिद्ध गायिका पनि हुनुहुन्छ। चीनका विभिन्न अल्पसंख्यक जातिहरुको आ-आफ्नो कला सरकारको महत्व तथा समाजको व्यापक समर्थनमा दिनप्रति दिन विकसित हुँदैआएको कुरा देखेर उहाँ धेरै खुशी हुनुहुन्छ। उहाँका अनुसार, विगत केही वर्षदेखि यता चीनभित्र र बाहिर प्रदर्शित केही ठूल्ठूला कार्यक्रमहरुमा अल्पसंख्यक जातिका कार्यक्रमहरुलाई अत्यन्तै महत्वपूर्ण स्थानमा राखिएको छ। यसका साथै, अल्पसंख्यक जातिका धेरै जातीय गीत समेटेर प्रकाशित गरिएको क्यासेट र सि.डी. लाई पनि ठूल्ठूला पसलहरुका महत्वपूर्ण दराजमा राखिएको छ जसका कारण तिनको बिक्री पनि राम्रोसँग भैरहेको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः

"हाल हाम्रो देशले अल्पसंख्यक जातिको जातीय कलामा ठूलो महत्व दिएको विचार मैले गरेकी छु। अल्पसंख्यक जातिका एकजना कलाकारका रुपमा म धेरै खुशी छु। चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्यका रुपमा मैले केही वर्षदेखि यता अल्पसंख्यक जातिको जातीय कलाको संरक्षण गर्न आव्हान गर्दैआएकी छु। त्यसको संरक्षण गर्नुपर्ने ठहर मैले गरेकी छु।"
श्रीमती चुंयुंग चोमाको विचारमा अल्पसंख्यक जातिको जातीय कलाको संरक्षण गर्नका लागि त्यसमा सुधार गर्नुपर्छ। अल्पसंख्यक जातिका गायकहरुलाई वैज्ञानिक र प्रणालीयुक्त तालिम दिनुपर्छ। यसो भएमा अल्पसंख्यक जातिको जातीय कला पुस्तौं-पुस्तासम्म विकसित हुनसक्छ, नत्र भने ती कला दीर्घकालसम्म जीवन्त रहन सक्दैनन। उहाँले अगाडि भन्नुभयोः
"बिँडो थाम्ने र संरक्षण गर्ने यी कुराको आधारमा अल्पसंख्यक जातिको जातीय कलालाई युगको प्रवाहसँगसँगै अघि बढाउनुपर्ने विचार मैले गरेकी छु। उदाहरणका लागि, हामी गायक-गायिकाले अब गायनको वैज्ञानिक तरिकाबारे ज्ञान हासिल गरेर हाम्रो आफ्नै जातिको गीत गाउनुपर्छ। यसबाट हाम्रो जातिको कलामा अझ बढी जीवन्त शक्ति थप्न सकिन्छ। यसका अतिरिक्त, वैज्ञानिक तरिकामार्फत जातीय गीतलाई सुधार गर्नु आवश्यक पनि छ। सारा विश्वमा श्रोताहरुले हाम्रो जातीय गीतलाई स्वीकार गरुन र त्यसलाई मन पराइदिउन भन्नका लागि हामीले प्रयास गर्नुपर्छ।"

(क्रमशः)
|