
उत्तर-पश्चिमी चीनको छिंगहाई प्रान्त तिब्बती जातिका मानिसहरुका मुख्य बास स्थानहरुमध्येको एक हो। यो ठाउँ गेसारको आफ्नो कार्यको मुख्य ठाउँ पनि थियो। त्यसैले "गेसार महाकाव्य" को वाचन र गाउनमा सक्षम धेरैजना पुराना कलाकारहरुको बसोबास छिंगहाई प्रान्तमा रहेको छ। तर यी पुराना कलाकारहरु बुढा हुँदैगएका र कसैको त स्वर्गबास समेत भैसकेको अवस्थामा "गेसार महाकाव्य" को गायन पद्धति लोप हुने खतरा देखापरेको छ।
तिब्बती जातिको अमूल्य लोक कलाको संरक्षण गर्ने उद्देश्यले छिंगहाई प्रान्तको कोलो तिब्बत स्वायत्त जिल्लाले गैर-भौतिक सांस्कृतिक-पुरातात्त्विक वस्तुको अध्ययन अखडाको स्थापना गरेर छिंगहाई प्रान्तमा मौजुद तिब्बती लोक कलाको संकलन तथा शुद्धिकरण गरेको छ। छिंगहाई प्रान्तबाट आउनुभएका चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य तुंग नोर्द "गेसार महाकाव्य" अध्ययन केन्द्रका प्रमुख हुनुहुन्छ। विगत धेरै वर्षदेखि यता उहाँले "गेसार महाकाव्य" को संकलन, शुद्धिकरण तथा संरक्षणका लागि अथक प्रयास गर्दैआउनुभएको छ। यसबारे जानकारी दिंदै उहाँले भन्नुभयोः
"हामीले गेसार महाकाव्यको गायनमा सक्षम पचासभन्दा बढी लोक कलाकारहरुलाई फेला पारेका छौं। उहाँहरुमध्ये बीसभन्दा बढी कलाकारहरुको नाउँ यस क्षेत्रमा फैलिएको छ। हामीले उहाँहरुद्बारा गाइएका विषयको संरक्षण गर्नुका साथै उहाँहरुद्बारा संकलन गरिएका विषयहरुको पनि शुद्धिकरण गरेका छौं। काठमा कुँदिएको र हातले लेखिएको केही केसार महाकाव्यको पृष्ठहरु पनि हामीले संकलन तथा शुद्धिकरण गरेका छौं।"

"गेसार महाकाव्य" को उद्धार कार्यमा प्राप्त गरिएको उपलव्धिबारे जानकारी दिंदै श्री तुंग नोर्दले भन्नुभयोः
"जातीय संस्कृतिको संरक्षण, उद्धार, संकलन तथा शुद्धिकरण गर्न र त्यसको बिँडो थाम्ने कार्यलाई हाम्रो देशले ठूलो महत्व दिएको छ र यसका लागि ठूलो खर्च जुटाएको छ। गेसार महाकाव्यलाई हाम्रो देशको गैर-भौतिक सांस्कृतिक-पुरातात्त्विक वस्तुहरुको सूचीमा समावेश गरिएको छ। यस्तो अवस्थामा हामीले गेसार महाकाव्यलाई विश्व गैर-भौतिक सांस्कृतिक-पुरतात्त्विक वस्तुहरुको सूचीमा समावेश गर्ने सम्बन्धी प्रस्ताव सरकारसमक्ष प्रस्तुत गरेका छौं।"
हरेक राष्ट्र र जातिको आ-आफ्नो विशेष संस्कृति तथा कला हुन्छ। यी संस्कृति तथा कलाहरुका माध्यमबाट हाम्रो विविध र रंगीचंगी संसारको सिर्जना गरिन्छ। चालू वर्षको चिनियाँ जन-राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक सम्मेलनमा सहभागी सदस्यहरुले यी अमूल्य संस्कृतिको संरक्षण तथा तीनको बिँडो थाम्न र संरक्षण गर्नका लागि अनेकन सुझावहरु प्रस्तुत गर्नुभएको छ। उहाँको आजको प्रयासबाट भोलि हाम्रो संसार अझ विविध र रंगीचंगी हुने कुरा निश्चित छ।

|