लाप्रंग गुम्बाको दक्षिण-पश्चिमी क्षेत्रमा पर्ने कुंथांग स्तूप एशियामा बौद्ध धर्मको तेस्रो ठूलो स्तूप हो। यसमा राखिएको अमिताभको मूर्ति नेपालबाट यहाँ पुर्याइएको हो। सो मूर्तिका कारण कुंथांग स्तूपको नाउँ पनि चारैतिर फैलिएको छ। कुंथांग स्तूप पहिले ध्वस्त भएको थियो। सन 1933 को जुलाई महिनामा त्यसको पुनर्निर्माण गरियो। हालको कुंथांग स्तूप पाँचतले छ। त्यसको उचाइ 31.33 मिटर छ भने त्यसको क्षेत्रफल 2144.16 वर्गमिटर छ। कुंथांग स्तूपका चारवटा कक्षमा दुइ हजारभन्दा बढी धार्मिक साहित्य र प्रशस्त मूर्ति तथा पूजाआजाका वस्तुहरु सुरक्षित छन। कुंथांग स्तूपको भित्ता सुनौलो रंगले रंगाइएकाले बाहिरबाट हेर्दा यो निकै सुन्दर देखिन्छ।

कुंथांग स्तूपको मुख्य कक्षमा प्रवेश गर्नेवित्तिकै त्यसको मध्य भागमा राखिएको अमिताभको मूर्ति देखिन्छ। त्यो मूर्ति निकै शान्दार देखिन्छ। यस कोठाका चारैतिरका भित्तामा थुप्रै सुन्दर थांका छन। कोठामा धेरै बल्ब पनि राखिएका छन। यामुछो नामका एकजना भिक्षुले ती बल्बलाई औंल्याएर हामीलाई जानकारी दिंदै भन्नुभयोः
"कुंथांग स्तूपको निर्माण एकजना अवतारी लामाले गर्नुभएको हो। लाप्रंग गुम्बामा छवटा धार्मिक कलेज र धेरै कक्षहरु छन। तर पानसको सट्टामा बल्बको प्रयोग गरिने कुंथांग स्तूपमा मात्र हो। किनभने हामीले ती भित्ते चित्र र थांकाको संरक्षण गर्नुपर्छ। यसका अतिरिक्त, धार्मिक साहित्त्य आदि महत्वपूर्ण वस्तुको पनि संरक्षण गर्नुपर्छ।"
कुंथांग स्तूपमा काठबाट बनाइएको पुरानो सिंढीबाट छानामाथि पुगेपछि लाप्रंग गुम्बाको सम्पूर्ण दृश्य देख्नपाइन्छ।

विभिन्न साना-साना गुम्बाहरु मिलेर एउटा विशाल लाप्रंग गुम्बा बनेको छ। हिउँ परिरहेको बेला लाप्रंग गुम्बा अझ विशाल र शान्तिपूर्ण देखिन्छ। सुनौलो कुंथांग स्तूपलाई हेर्दा एउटा सुनौलो शहर जस्तो भान हुन्छ। यस्तो पवित्र गुम्बामा पुगेपछि हरेक पर्यटकलाई पूजा गर्ने इच्छा जाग्नेगरेको बताउँछन।
लाप्रंग गुम्बाले हरेक दिन विश्वका विभिन्न देशबाट प्रशस्त पर्यटकलाई भित्र्याउनेगरेको छ। अमेरिकी नागरिक श्रीमती लान्दिकारले लाप्रंग गुम्बा घुम्न आउनुभएको यो पहिलो पटक हो। तर उहाँका श्रीमान भने यहाँ आउनुभएको यो चौथो पटक हो। आफ्नो भ्रमणबारे चर्चा गर्दै श्रीमती लान्दिकारले भन्नुभयोः

"यहाँ पुगेपछि मलाई निकै अनौठो भान भएको छ। यस लाप्रंग गुम्बाबारे जानकारी हासिल गर्ने मेरो ठूलो इच्छा छ। यसअघि मैले पेइचिंग, शांगहाई र नान चिंग आदि ठूला शहरहरुको भ्रमण गरिसकेकी छु। तर मैले सबैभन्दा बढी हेर्नचाहेको ठाउँ यहीं लाप्रंग गुम्बा नै हो। यो ठाउँ मलाई निकै मन परेको छ। म पछि फेरि यहाँ आउने छु।"
बौद्ध धर्मको यस्तो शान्त, सुन्दर र अनौठो पवित्र स्थलको भ्रमण गर्ने तपाईंको पनि विचार छ कि? लाप्रंग गुम्बा तपाईंको स्वागत गर्न तत्पर छ।
|