
चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासा शहरमा एउटा प्राचीन सडक छ जसको नाम बारकोर सडक हो। त्यहाँ धेरै विशेषतायुक्त पसलहरु छन। बारकोर सडकको कूल लम्बाइ एक हजार मिटरभन्दा बढी छ जसको इतिहास एक हजार तीन सय वर्षभन्दा लामो छ। सो सडक त्यति फराकिलो नभए तापनि त्यसले हरेक दिन सबैभन्दा बढी यात्रीहरुलाई भित्र्याउने गरेको छ।
बारकोर सडकमा घुम्ती पसलहरुको संख्या एक हजारभन्दा बढी छ। बाटोका दुबैतिर पर्ने पसलहरुमा तिब्बती पोशाक, तिब्बती खुकुरी र धार्मिक सामानहरु बेचिनुका साथै नेपाल र भारतबाट त्यहाँ पुर्याइएका थुप्रै सामानहरु पनि छन। बारकोर सडकका केही पसलका मालिकहरु त्यहाँ बसोबास गर्ने नेपाली प्रवासी वा मुसलमानहरु हुन। बारकोर सडकको उत्तरी भागमा श्याम काबु नामक एउटा पसल छ। त्यस ढोकामा तीन पुस्ताको संकेत गर्ने तीनवटा अवधिका साइन बोर्डहरु झुण्डिएका छन। यसबाट सो पसलको इतिहास एक सय वर्ष जति छ भन्ने कुरा पर्यटकहरुलाई देखाइएको छ। पसलको ढोकाको छेऊमा राखिएको एउटा श्याम-श्वेत फोटोमा सेतो लुगा लगाएका एकजना पुरुष देखिन्छन। श्याम काबु पसलका मालिक रत्नले उक्त फोटोमा भएका ती सेतो लुगा लगाएका मानिस आफ्ना बाजे भएको जानकारी दिंदै गत शताव्दीको शुरुमा नै आफ्ना बाजे ब्यापारका लागि नेपालबाट तिब्बत पुग्नुभएको जानकारी दिनुभएको छ। उहाँले त्यो फोटो देखाउँदै भन्नुभयोः

"उहाँ मेरा बाजे हुनुहुन्छ। उहाँको नाम श्याम काबु हो। पहिले उहाँ ल्हासामा ब्यापार गर्नुहुन्थ्यो। यहाँका तिब्बतीहरु उहाँको नेपाली नाम भन्न सक्दैनन। मेरा बाजे सधैं नेपाली सेतो टोपी लगाउनुहुन्थ्यो। त्यसैले स्थानीय बासिन्दाहरुले उहाँलाई श्याम काबु नामले बोलाउँथे। यसको अर्थ सेतो टोपी हो। यसरी हाम्रो पसलको नाम पनि श्याम काबु रह्यो।"
तिब्बतमा नेपाली प्रवासीहरुले खोलेका पसलहरुमा श्याम काबुलाई एउटा नमूना मान्न सकिन्छ। यो बारकोर सडकमा पर्ने एउटा पुरानो पसल हो। यहाँ बुद्धका मूर्ति र अन्य कलाका वस्तुहरु बेचिन्छ। यी सामानहरु नेपालमा बनेका हुन। पहिले सो पसलमा अन्य सामानहरु पनि बेचिन्थ्यो, थाहा भएअनुसार, तिब्बतको पहिलो मोटर साइकल श्री श्याम काबुले चीन-नेपाल सिमा क्षेत्रबाट ल्याउनुभएको हो।

बारकोर सडक आउने पर्यटकहरुले माकेए आमी रेस्टुराँ हेर्नजाने गरेका छन। सो रेस्टुराँ बारकोर सडकको दक्षिण-पूर्वी भागको एउटा दुइ तले भवनमा छ। तिब्बती भाषामा माकेए आमी भनेको सुन्दरी किशोरी हो। सो रेस्टुराँका मालिक टेरिंग वांछिंगले आफ्नो रेस्टुराँको नाम एउटा लोक कथाबाट उत्पन्न भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार, तीन सय वर्षअघि तिब्बतका छैठौं दलाई लामा देवताका खोजीमा ल्हासाका विभिन्न सडकहरुमा घुम्ने गर्नुभएको थियो।
(क्रमशः)
|