
चीनको तिब्बत स्वायत्त प्रदेशको सदर मुकाम ल्हासाको केन्द्रमा एउटा ठूलो गुम्बा अवस्थित छ। त्यो विश्व प्रसिद्ध चुम्ला खाँ गुम्बा हो। हजारौं वर्षको इतिहास बोकेको त्यस गुम्बाले तिब्बती जातिको लामो इतिहास तथा प्रतिभापूर्ण संस्कृतिलाई प्रदर्शित गर्नेगरेको छ।
चुम्ला खाँ गुम्बाको निर्माण सन सातौं शताव्दीको शुभारम्भमा गरिएको थियो। त्यसपछि धेरै पटक ठूलो परिमाणमा यसको मर्मत तथा जीर्णोद्धार गरिएको छ। हाल चुम्ला खाँ गुम्बाको क्षेत्रफल पच्चीस हजार वर्गमिटर छ। काठबाट बनाइएको यस गुम्बामा चीनको हान र तिब्बती जातिको शैली झल्किन्छ। सो गुम्बाको मुख्य भवन तीन तले छ। यसको गजुरमा तिब्बती जातिको परम्परा बमोजिम सुन लगाइन्छ। घाम लागेको बेला यो सूनौलो गजुर निकै राम्रो देखिन्छ। चुम्ला खाँ गुम्बा व्यवस्थापन समितिका उप-प्रमुख एवम् चुम्ला खाँ गुम्बाका प्रसिद्ध लामा निमा छरिंगले आफ्नो गुम्बाको सांस्कृतिक तथा ऐतिहासिक मूल्यबारे जानकारी दिंदै भन्नुभयोः
"चुम्ला खाँ गुम्बामा दुइवटा निकै महत्वपूर्ण कुरा छन। एउटा भनेको मानव जातिको संस्कृतिको दृष्टिकोणबाट हेर्दा चुम्ला खाँ गुम्बा सम्पूर्ण विश्वको अमूल्य सम्पदा हो। र दोस्रो कुरा भनेको, त्यस चुम्ला खाँ गुम्बामा गौतम बुद्ध बाह्र वर्षको हुँदाको उहाँको उचाइका आधारमा बनाइएको मूर्ति राखिएको छ जुन सारा विश्वमा दुर्लभै देखिने बुद्ध मूर्ति हो। हामी बौद्ध धर्मावलम्बीहरु त्यसलाई साँच्चिकै बुद्ध ठान्दछौं।"

प्राप्त जानकारीअनुसार, चुम्ला खाँ गुम्बामा राखिएको त्यस मूर्तिको इतिहास दुइ हजार पाँच सय वर्षभन्दा लामो छ। गौतम बुद्धको जिन्दगीमा उहाँको शरिरबमोजिम बनाइएका जम्मा तीनवटा मूर्ति मात्र छन। चुम्ला खाँ गुम्बामा राखिएको यो सुनको मूर्ति राम्रोसँग सुरक्षित गरिएको एउटा मूर्ति हो। त्यसैले त्यसलाई निकै अमूल्य ठानिन्छ। टाढा-टाढाबाट त्यहाँ पुग्ने धर्मावलम्बीहरुले तिर्थ गर्न चुम्ला खाँ गुम्बा पुगेर सो मूर्तिको पूजा गर्दा बुद्धसित प्रत्यक्ष भेटेको जस्तो अनुभव गर्नेगरेका छन।
चुम्ला खाँ गुम्बाको स्थापना सन सातौं शताव्दीमा भएको थियो। तिनताका तिब्बतका शासक सुँचान कांबुले नेपालकी राजकुमारी भृकुटी र चीनको थांग बंशकी राजकुमारी वनचनसँग विवाह गर्नुभएको थियो। यी दुइवटी सुन्दरी राजकुमारीले गौतम बुद्धको मूर्ति तिब्बत ल्याउनुभएको थियो। राजकुमारी वनचनले ल्याउनुभएको मूर्ति माथि भनिएको बुद्धको मूर्ति नै हो। राजकुमारी भृकुटीले ल्याउनुभएको मूर्ति चुम्ला खाँ गुम्बाको नजिकै पर्ने अर्को एउटा गुम्बामा राखिएको छ।

बाह्र वर्षको छँदा गौतम बुद्ध राजकुमार हुनुहुन्थ्यो। तिनताका उहाँको शरिरको आधारमा बनाइएको उक्त मूर्तिमा सुन जडिएको छ। यो मूर्ति जिन्दगीभरि ध्यानपूर्वक पूजा गर्नुपर्ने मूर्ति भएको विश्वास तिब्बती धर्मावलम्बीहरु गर्दछन। यसबारे चर्चा गर्दै चुम्ला खाँ गुम्बाका पर्यटकीय निर्देशक ली स्याउ व्हाले भन्नुभयोः
"गौतम बुद्धको यो मूर्तिमा जडिएका मूल्यवान हिरा-मोती त्यहाँ पूजा गर्नआउने धर्मावलम्बीहरुले चढाएका हुन। धर्मावलम्बीहरुले सधैं नै सुन ल्याएर त्यस मूर्तिमा चढाउनेगरेका छन।"
(क्रमशः)
|