
चीनको तिब्बत स्वायत्त प्रदेशमा शान नान क्षेत्रको ऐतिहासिक संस्कृति सबैभन्दा विविध देखिन्छ। त्यो तिब्बतको सबैभन्दा सम्पन्न ठाउँ पनि हो। तिब्बतको पहिलो राजदरबार युँबुलाखाँ शान नान क्षेत्रमा पर्दछ भने तिब्बतको पहिलो पूजा-आजा कक्ष छांग चु गम्बा पनि यहीं पर्दछ।
तिब्बतमा यस्तो एउटा पौराणिक कथा छः तिब्बतीको पुर्खा नै सन्यासी एउटा बाँदर भएको मानिन्छ। सो बाँदर तिब्बतको शान नान क्षेत्रमा बस्दथ्यो। तिब्बती भाषामा शान नान क्षेत्रको सदरमुकाम चतांगको अर्थ बाँदर खेलिरहेको ठाउँ हो।
शान नान क्षेत्रको नाउँ उक्त पुरानो पौराणिक कथाका लागि मात्र नभई प्राचीन कालमा तिब्बतमा सबैभन्दा बढी प्रभाव पारेका थुपो राज्यको स्थापना पनि शान नानमै भएको थियो। यसबारे जानकारी दिंदै तिब्बतको शान नान क्षेत्रको पुरातात्विक वस्तु व्यवस्थापन व्यूरोका प्रमुख कंतुई नाछोले भन्नुभयोः
"या लुंग क्षेत्र प्राचीन थुपो राज्यको मुहान हो। त्यहाँ थुप्रै राजदरबार, गुम्बा र प्राचीन समाधि स्थल छन। चीनको महत्वपूर्ण तवरले संरक्षित पुरातात्विक वस्तुहरुको सूचीमा समावेश छिऔं चे प्राचीन समाधि स्थल सुंगचान कांबुलगायत तिब्बतका धेरै प्राचीन राजाका समाधिहरुको समूह हो।"

श्री कंतुई नाछोले दिनुभएको जानकारीअनुसार, शान नान क्षेत्रको सबैभन्दा प्रसिद्ध ऐतिहासिक-सांस्कृतिक सम्पत्ति भनेको युंबुलाखाँ राजदरबार, छांग चु गुम्बा र सांग ए गुम्बा हुन। युंबुलाखाँ राजदरबार तिब्बतको इतिहासमा पहिलो राजदरबार हो। तिब्बतका पहिला राजा नेछचांफुको आदेशमा युंबुलाखाँ राजदरबारको निर्माण कार्य इशापूर्व दोस्रो शताव्दीमा शुरु भएको थियो। तिब्बती भाषामा युंबुलाखाँ भनेको पोथी मृगको पछाडिको खुट्टामा निर्माण गरिने राजदरबार भन्ने हो। किनभने युंबुलाखाँ राजदरबार पर्ने पहाडलाई हेर्दा त्यहाँ बसिरहेको पोथी मृगको पछाडिको खुट्टाजस्तै देखिन्छ। युंबुलाखाँ राजदरबार उक्त खुट्टामै पर्दछ। त्यसैले त्यसको नाम युंबुलाखाँ भनिन्छ। युंबुलाखाँ राजदरबारबारे जानकारी दिंदै त्यहाँको व्यवस्थापन टोलीका प्रमुख फुबुदोर्जेले भन्नुभयोः
"युंबुलाखाँ राजदरबार तिब्बतको पहिलो दरबार हो। तिब्बतका पहिला राजा नेछचान्फु, प्रसिद्ध तिब्बती राजा सुंचान्कान्बु र वनचन राजकुमारी सबैले यहाँ बसोबास गरेका थिए। पोताला दरबारको निर्माण पूरा भएपछि युंबुलाखाँको पुनर्निमार्ण गुम्बाकारुपमा गरियो। हाल यो तिब्बत स्वायत्त प्रदेश स्तरीय पुरातात्विक वस्तु संरक्षण संस्था हुनुका साथै राष्ट्र स्तरीय पर्यटन स्थल पनि हो।"
युंबुलाखाँ राजदरबारमा प्रशस्त उत्तम भित्ते चित्र छन। यी चित्रहरुले तिब्बतका पहिला राजा नेछचान्फुको जीवनको वृत्तान्त सुनाइरहेका छन भने तिब्बतको पहिलो वास्तु र पहिलो खेती सम्बन्धी कथा पनि यी चित्रहरुमा अङ्कित छ। यी भित्ते चित्रबाट तिब्बतको प्राचीन ऐतिहासिक पौराणिक कथा झल्किन्छ।

चीनको भित्री भागमा पाइने वास्तुहरु जस्तै नभई युंबुलाखाँ राजदरबार ढुंगाबाट बनाइएको छ। कुरा के हो भने, ती ढुंगा प्राकृतिक रुपमा सो वास्तुसँग सुरक्षित रहेका छन। विगत दुइ हजार वर्षभन्दा बढी अवधिको हावापानीको प्रभावलाई युंबुलाखाँ राजदरबारले राम्ररी सहेको छ, त्यसैले त्यो आजसम्म पनि सुरक्षित छ।
(क्रमशः)
|