
युंबुलाखाँ राजदरबारको व्यवस्थापन टोलीका प्रमुख फुबुदोर्जेले दिनुभएको जानकारीअनुसार, हरेक वर्ष घुम्नका लागि त्यहाँ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु र तिर्थ यात्राका लागि त्यहाँ पुग्ने तिब्बती धर्मावलम्बीहरुको संख्या अनगिन्ती हुनेगर्दछ। बेल्जियमबाट घुम्नका लागि तिब्बत पुग्नुभएका महिला मासेला दे बोकले युंबुलाखाँ राजदरबारबारे चर्चा गर्दै भन्नुभयोः
"कति रमणीय छ यो दरबार। यसअघि हामीले साँए गुम्बाको पनि अवलोकन गरेका छौं। हाम्रो आजको भ्रमणमा युंबुलाखाँ दोस्रो ठाउँ हो।"
तिब्बत स्वायत्त प्रदेशको कान नान क्षेत्रमा पर्ने साँए गुम्बाको इतिहास एक हजार वर्षभन्दा लामो छ। तिब्बती जातिको पुराना पुरातात्विक वस्तुहरुमध्ये साँए गुम्बा पनि एक हो। साँए गुम्बाको मुख्य वास्तु तीन तलाको एउटा ठूलो भवन हो। त्यसको तल्लो, मध्य तथा माथिल्लो तलामा छुट्टा-छुट्टैरुपमा तिब्बती जाति, हान जाति र भारतको वास्तु-शैली झल्किन्छ। तिब्बतको थुपो राज्यकालमा सबैभन्दा महान तथा रमणीय वास्तु साँए गुम्बा नै हो। यसमा थुपो राज्यदेखि यता तिब्बतका विभिन्न ऐतिहासिक अवधिको धार्मिक वास्तु, भित्ते चित्र र मूर्ति आदि क्षेत्रका प्रशस्त पुरातात्विक सम्पत्ति संरक्षित छन। साँए गुम्बाको मुख्य भवन र अन्य सानो भवनलाई सुन्दर भित्ते चित्रले घेरिएको छ। सो भित्ते चित्रको लम्बाई बयान्नब्बे मिटर छ। तीमध्ये घोडा चढेर बल खेल्ने अवस्था लेखिएको भित्ते चित्र सारा विश्वमा यस्तो खेलकुदबारे गरिएको सबैभन्दा पहिलो रिकर्डिंग हो।

दक्षिणी चीनको शन चन शहरबाट आउनुभएका पर्यटक तिंग श स्युले लामो समयअघि तिब्बत घुम्ने संकल्प गर्नुभएको थियो। आज उहाँ आफ्ना केही साथीसित आफै गाडी चलाएर छंगतु शहरबाट तिब्बतको शान नान पुग्नुभएको छ। त्यहाँ पुगेपछि देख्नुभएको दृश्यले उहाँहरुलाई निकै प्रभावित पारेको छ। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः
"यहाँको दृश्य एकदम रमणीय छ। तिब्बतले पुरातात्विक वस्तुको संरक्षणमा निकै ठूलो महत्व दिएको अनुभव मैले गरेको छु।"
शान नानको या लुंग क्षेत्र तिब्बती नाटकको जन्मथलो हो। पाँच सय वर्षअघि थांग तुंग चे नामक एकजना भिक्षुले जनताको हितका लागि एउटा पूलको निर्माण गर्ने योजना गर्नुभएको थियो। आवश्यक रकमको तयारी गर्न उहाँले केही युवकहरुलाई भेला गराएर अभिनय कलाको प्रदर्शन गर्नुभएको थियो। यसै बेलादेखि क्रमशः तिब्बती नाटकको विकास हुनथालेको हो। पहिले तिब्बती नाटक निकै छोटो तथा सजिलो देखिन्थ्यो। विभिन्न पुस्ताका कलाकारले यसको बिंडो थामेर विकसित पारेबाट हाल तिब्बी नाटक चीनका आठवटा परम्परागत नाटकहरुमध्येको एक बनिसकेको छ। हालको तिब्बती नाटकमा छुट्टा-छुट्टैरुपमा सेतो, पहेंलो, निलो र कालो चार रंगको मुकुण्डो लगाएर देखाइने चार किसिमका नाटक हुन्छन। शान नानको नाईतुंग क्षेत्रको "चासी स्येबा" र छ्यौंचे जिल्लाको "पिन्तुंन्बा" आदि सेतो मुकुण्डो लगाएर देखाइने नाटकको इतिहास सबैभन्दा लामो छ भने तीनको नाउँ पनि चारैतिर फैलिएको छ। हरेक वर्षको स्वेतुन चाडका उपलक्ष्यमा आयोजित मनोरञ्जन समारोहमा ती तिब्बती नाटक सबैभन्दा महत्वपूर्ण कार्यक्रम हुन्छन।

हाल तिब्बतको शान नान क्षेत्रले विश्वका विभिन्न ठाउँबाट आउने पर्यटकलाई भित्र्याउने गरेको छ। यहाँ बसोबास गर्ने तिब्बती जनताले ढुंगाको प्रशोधन, तिब्बती बुनाई वस्तुको उत्पादन र आफ्नो विशेषतायुक्त खाद्यान्नको खेतीपातीमार्फत विभिन्न किसिमको वाणिज्य-ब्यापार गर्नेगरेका छन। तिनीहरु तिब्बती संस्कृतिको रमणीय वातावरणमा अझ सुखमय तथा सम्पन्न जीवनतर्फ अघि बढिरहेका छन।
|