
परिपक्व यूरोपियन फुटबल च्याम्पियन लीगलाई नमुना बनाएर चौतर्फी रुपमा सुधार गरिएपछि एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीग 2009 को पर्दा मार्च दश तारिखका दिन खुल्यो। छ महिनाको प्रतियोगिता अवधिमा बत्तीसवटा फुटबल टीमहरु सहभागी भएका छन्। यसका कूल बोनस दुई करोड अमेरिकी डलर चढेको छ। तीन जोड एक भन्ने विदेशी खेलाडी भर्ना हुनेसम्बन्धी नयाँ नीतिबाट नयाँ प्रतियोगिता अवधिमा चलिरहेको एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीगले नयाँ अनुहार देखाएको छ। आजको खेलकुद कार्यक्रममा म तपाईंलाई यस विषयबारे केही जानकारी गराउन लागिरहेकी छु।

चाइनिज फुटबल सुपर लीगबाट आएको पैचिंगको को आन फुटबल टीमले प्रतियोगिताको यस्तो उत्साहपूर्ण वातावरणको महसुस नगरेको धेरै भयो। 2009 को प्रतियोगिता अवधिअन्तर्गत चाइनिज फुटबल सुपर लीग अझै सुरु भएको छैन तैपनि पैचिंगका तीस हजारभन्दा बढी फुटबलप्रेमी फ्यानहरु अघि नै मजदूर रंगशालामा पुगिसकेका थिए र विजयको खुशीमा डुबेका थिए। मार्च दश तारिख बेलुकी पैचिंगको को आन फुटबल टीमले सून्यका विरुद्ध दुई गोलले चालू वर्षको एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीगमा भेटिने पहिलो प्रतिद्बन्द्बी अस्ट्रेलियाको न्युकास्टल जेटस एफ सी टीमलाई पराजित गर्यो। सोही समय ओसाकालगायतका एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीग आयोजना भएका शहरहरुमा पनि विगत धेरै समयमा नदेखिएको गरम स्थिति देखापरेको थियो।
यसभन्दा अघि एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीगमा सहभागी प्रत्येक टीमले तीनजना विदेशी खेलाडीलाई मात्र राख्न पाउंथ्यो। तर यसपालि यो नियम संशोधन गरिएको छ। एशियन फुटबल कन्फेडेरेसनका अध्यक्ष महमद बिन हामामले जानकारी दिंदै भन्नुभयो- "एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीगमा भाग लिने प्रत्येक फुटबल टीमले एशियाभन्दा बाहिर अरु महादेशका तीनजना विदेशी खेलाडी राख्न पाउँछ। यसका साथै हामीले ती टीमलाई एशियाली मुलुक वा क्षेत्रबाट पनि एकजना खेलाडीलाई भर्ना गर्न पाउने छुट दिएका छौं"।

श्री हामामको विचारमा "तीन जोड एक" भन्ने विदेशी खेलाडी भर्नासम्बन्धी नयाँ नीतिबाट एशियाका वरिष्ठ खेलाडीहरुले एशिया महादेशभित्र आपसी आदान प्रदान गर्न हितकर हुनेछ साथै एशियाभन्दा बाहिरका उच्चस्तरीय विदेशी खेलाडीहरुले एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीगमा भाग लिने झन बढी अवसर पाउनेछन्। यसरी नै प्रतियोगिता झन आकर्षक बन्नेछ।
मार्च दशदेखि एघार तारिखको प्रतियोगितामा विभिन्न टीमका विदेशी खेलाडीहरुले दर्शकहरुलाई ज्यादै आकर्षक सीप देखाएका थिए। श्रोतागण, यहाँ म तपाईँलाई एउटा उदाहरण दिऊँ। अस्ट्रेलियाको न्युकास्टल शहरका तीनजना दाजुभाइ छन्। यस वर्ष जेठा दाजु ज्योल ग्रिफिथ र साइला भाइ रैन ग्रिफिथ पैचिंगको को आन फुटबल टीममा भर्ना भएका छन्। तर माइला भाइ अदाम ग्रिफिथ चाहिं अझै न्यूकास्टल जेटस एफ सी टीममा रहेका छन्। तर एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीगमा चिट्ठा हाल्दा तीनजना दाजुभाइ प्रतियोगिताको एकै समूहमा परेका थिए यसको अर्थ हो उनीहरुले खेल मैदानमा प्रतिद्बन्द्बीको हैसियतमा प्रतियोगिता चलाउनु परेको छ। त्यसैले प्रतियोगिता झन मजा लाग्दो देखिनेछ। साइला रैन ग्रिफिथले कुनै कसर बाँकी नराखी को आन टीमका लागि आफ्नो योगदान दिने अठोट लिएर प्रतियोगिता सुरु भएको सात मिनेटपछि नै गोललाई जाली चुम्न लगाए । प्रतियोगितापछि उनले भने- "यो राम्रो सुरुआत हो। आज मेरा दाजु र मैले एक खुशीयालीको रात बितायौं"।
|