 रवि- यो मीठो नेपाली गीतपछि श्रोताहरुलाई पैचिङ्ग डायरीमा पुनः स्वागत छ । ध्रुवजी, मलाई बल्ल याद भयो, तपाईंले उथाइशानको बारेमा परिचय पनि दिनुभएको छैन । यो दोस्रो चरण हामी उथाइशानको परिचयबाट सुरु गर्ने कि ?
ध्रुव- हुन्छ रविजी । मैले पनि मज्जाले भुलेछु । मैले त उथाइशानको बारेमा सामान्य जानकारी दिइसकेँ भन्ने मलाई लागेको थियो । उथाइ सान वास्तवमा विश्वको पवित्र धार्मिकस्थल हो । श्रोताहरुलाई जानकारी दिउँ- उ भनेको पाँच, थाइ पहाडको इकाई अर्थात मापक हो भने शान भनेको पहाड हो । पाँच वटा पहाडबाट उ थाइ शान नाम रहनगएको हो ।

चीनमा वौद्ध धर्मसँग सम्बन्धित चारवटा प्रसिद्ध पहाड छन् । नाम थाहा छ रविजी तपाईंलाई ती चार पहाडको ?
रवि- हजुर, तपाईंले भन्न खोज्नुभएको उ थाइ शान, अ मै शान, फु थो शान र चियु व्हा शान होइनन् ?
ध्रुव- हो रविजी । तपाईंले ठिक भन्नुभयो । जनश्रुति अनुसार, वौद्ध धर्ममा मन्जुश्री, समन्तभद्र, अवलोकितेश्वर, क्षतिगर्भ गरी चारजना बोधिसत्वका लागि ती चारवटा पहाड देहशुद्धी गर्ने स्थान हुन । त्यसैले लामो समयसम्म ती चारवटा पहाड र धार्मिक सस्कृतिका बीच अगाध सम्बन्ध रहिआएको छ । यसका अतिरिक्त, ती चारवटा पहाड चीनको प्रसिद्ध दृश्यावलोकन स्थल पनि हुन ।
रवि- उथाई शान चीनको कुन ठाउँमा पर्छ ?
ध्रुव- रविजी, पाँचवटा टाकुराका श्रृंखलाले एक-अर्कालाई अंकमाल गरेजस्तो देखिने उ थाइ शान मध्यचीनको शान्सी प्रान्त अर्थात् पल्लो शान्सी प्रान्तमा पर्दछ । अझ स्पष्टरुपमा भन्ने हो भने त्यो शान्सी प्रान्तको उ थाइ जिल्लाको उत्तरपूर्वी भागमा रहेको छ । थाङ्गहाई पहाडमा हपै प्रान्तको साँधमा जोडिएको पाँचवटा शिखर भएको पञ्चशीर्ष पर्वत भनिने त्यो पर्वतीयस्थल उत्तर चीनको सबैभन्दा अग्लो पहाडको रुपमा उभिएको छ । उत्तरी चीनको छाना कहलिएको त्यो पहाडी ठाउँ समुद्री सतहबाट सरदर तीन हजार मीटर उचाइमा रहेको छ । त्यो मञ्जुश्री वोधिसत्वलाई अर्पित पर्वत चीनमा बौद्धधर्म शिक्षालाई अर्पित चार पहाडहरु मध्येको पहिलो मानिन्छ ।

रविजी, फाग्पा सम्राट साम्राज्य र अरुको कल्याणको निम्ति प्रार्थना गर्न सन् 1258 मा उथाइ शान पुगेका थिए । उनले मध्य शिखरमा पुगेर चारैतिर भएका शिखरहरु देखेका बेला त्यो ठाउँलाई पाँच दिशाको मञ्जुश्रीको मन्दिर भनेर नामाकरण गरेका थिए । त्यसैबेलादेखि उथाइ शान पाँच दिशाका लागि बोधिसत्व मञ्जुश्रीलाई अर्पित पर्वतको रुपमा प्रसिद्ध हुन पुगेको थियो भन्ने मैले जानकारी पाएको छु ।
रवि- ध्रुवजी तपाईंले उथाई शानको बारेमा परिचय दिदादिदैँ आजको हाम्रो कार्यक्रमको निर्धारित समय सकिन लागेको छ ।
ध्रुव- हुन्छ रविजी, उ थाई शानको बारेमा बाँकी रहेका जानकारीहरु म अर्को हप्ताको कार्यक्रममा सुनाउलाँ ।
|