china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बत यात्रा सम्बन्धी विषयको पहिलो भाग
    (GMT+08:00) 2009-06-09 20:12:25    

    रवि-ध्रुवजी, हामीले विगत केही हप्तादेखि तपाईंको उथाइशानको यात्राको विषयमा कुराकानी गरिरहेका छौं । आज पनि उथाइशानसम्बन्धी विषयमा कुरा गर्ने कि अरु कुनै विषयमा कुराकानी गर्ने विचार गर्नुभएको छ तपाईंले ?

    ध्रुव- रविजी, वास्तवमा कुनै ठाउँको बारेमा वा कुनै ठाउँको यात्राको वर्णन गरेर त सकिदै सकिँदैन । उथाइशानका विषयमा पनि मैले देखेका, सुनेका, भोगेका र अध्ययन गरेका कुराहरुको जानकारी संक्षिप्तरुपमा पाँच कि छ वटा कार्यक्रममा दिइसकेँ । तर अब भने चीनको तिब्बत यात्राको विषयमा चर्च गरौं भन्ने मलाई लागेको छ ।

    रवि- हुन्छ ध्रुवजी । तपाईंले धेरै पटक तिब्बतको यात्रा गरिसक्नुभएको छ, होइन र ?

    ध्रुव- हो रविजी । मैले सन् 2000 देखियता फरक फरक समयमा चार पटक तिब्बबतको यात्रा गरिसकेको छु । र, यसैक्रममा म अध्ययनकै लागि लामो समय चीनमा रहेर बिदाको बेलामा नेपाल जाने क्रममा म सन् 2007 र 2009मा गरी दुई पटक पैचिङ्गबाट छिङ्गहाई-तिब्बत रेलमार्ग हुँदै तिब्बत पुगेको छु । संसारको छानो भनेर चिनिने तिब्बतलाई जोड्ने छिङ्गहाई-तिब्बत रेलमार्ग विश्वको सबैभन्दा अग्लो भूभागमा गुड्ने रेलमार्ग पनि हो । तिब्बतलाई चीनका सबै प्रान्त र सहरहरुसँगको रेलवे सञ्जालसँग जोड्ने मात्रै होइन छिङ्गहाइ-तिब्बत रेलमार्गले चीनको आधुनिक इतिहासमा धेरै नौला पाना थपेको छ । एकातिर हामी नेपालीहरुलाई यसले ठूलो सेवा पुर्याएको छ भने अर्कोतिर चीनको तिब्बतमा प्रजातान्त्रिक सुधार लागू गरिएको 50 वर्ष पुगेको छ । यो अन्तरालमा तिब्बतले चामत्कारिकरुपमा आर्थिक उन्नति गरेको छ । त्यसैले मलाई छिङ्गहाई-तिब्बत रेलमार्गको यात्रा र तिब्बतको पछिल्लो विकासका बारेमा कुराकानी गर्न मन लागेको छ ।

    रवि- हुन्छ ध्रुवजी । हामी पहिला तपाईंको छिङ्गहाई-तिब्बत यात्राबाट कुराकानी सुरु गरौलाँ । त्यसैक्रममा तिब्बतको विकासको बारेमा पनि चर्चा गर्नुहोला ।

    ध्रुव- हुन्छ रविजी । विश्वका धेरै मानिसहरुले छिङ्गहाई-तिब्बत रेलमार्गमा यात्रा गर्ने सपना सँगालेका हुन्छन् । मैले तिब्बतको यात्रा गर्नुभन्दा अगाडि होस वा यात्रा गरिसकेपछि, छिङ्गहाई-तिब्बत रेलमार्ग र सेवाको बारेमा अनि तिब्बतको बस्तुस्थितिको बारेमा धेरै विदेशी साथीहरुले जिज्ञाशा राख्ने गरेका छन् । अनि विश्वकै चर्चित रेलमार्ग नेपालबाट धेरै टाढा पनि छैन । त्यसले यो विषयमा हाम्रा नेपाली श्रोता साथीहरुलाई पनि चासो हुनसक्छ । सम्झना भएसम्मका कुराहरु म सकेसम्म राख्न प्रयास गर्नेछु ।

    रवि- त्यसो भए म रेलको यात्राकै प्रसङ्गमा पहिलो जिज्ञाशा राख्छु । पैचिङ्गबाट तिब्बतमा रेलबाट यात्रा गर्दा तपाईं एक्लै हुनुहुन्थ्यो कि?

    ध्रुव- रविजी, तपाईंलाई थाहै होला, पैचिङ्गबाट तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासासम्म पुग्नका लागि पूरै दुई दिनको समय लाग्छ । त्यसैले एक्लै यात्रा गर्नुपर्यो भने त निकै नमजा हुन्छ होला जस्तो लाग्छ । मेरो भाग्य नै भन्नुपर्छ रविजी, सन् 2007मा मसँगै तिब्बत अनि तिब्बत हुँदै नेपाल जानेहरुमा केही चिनियाँहरुको साथसाथै कोरिया, अमेरिका, पेरु र ब्राजिलका साथीहरु थिएँ । उनीहरुको अतिरिक्त रेल यात्रुहरुले पूरै भरिएको थियो र यात्रुहरुमा विदेशीहरुको संख्यामा कमी थिएन । यसै वर्षको जनवरी महिनामा परेको चिनियाँहरुको सबैभन्दा ठूलो चाड बसन्त चाड र मेरो जाडो बिदामा म र मेरी श्रीमती पनि त्यही रेल चढेर ल्हासा हुँदै नेपाल गएका थियौं।

    रवि- तपाईंले छिङ्गहाई-तिब्बतको रेलयात्राको विषयमा कुराकानी गर्नुभएको थियो । तपाईंले आफ्नो विश्वविद्यालयबाट यात्रा सुरु गर्नुभएको थियो होला ।

    ध्रुव- हो रविजी । मैले मेरै विश्व विद्यालयबाट घर जानको लागि यात्रा सुरु गरेको थिएँ । यसैक्रममा श्रोताहरुलाई जानकारी दिऊँ- पैचिङ्गमा पैचिङ्गबाहिर जाने लामो दुरीका तीन कि चार वटा रेलवे स्टेशनहरु छन् । पैचिङ्गका अधिकांश ठाउँबाट रेलवे स्टेशनसम्म जाने सार्वजनिक बस पाइन्छन् । मेरो विश्वविद्यालय हुँदै पनि 4-5 वटा रुटका सार्वजनिक बस रेलवे स्टेशनसम्म पुग्छन् । सामान कम हुने हो भने त मलाई सार्वजनिक बस नै चढ्न मन पर्छ । किनभने ट्याक्सीको भाडासँग तुलना गर्ने हो भने पैचिङ्गमा सार्वजनिक बसको भाडा नगन्य माने हुन्छ । अझ स्पष्टरुपमा भन्नुपर्दा पैचिङ्गको यातायात कार्यालयद्वारा बितरण गरिने बिद्युतीय बसकार्ड छ भने जम्मा नेपाली चार रुपियाँ पर्छ भने हामी विद्यार्थीहरुको लागि बनाइएको बसकार्ड प्रयोग गर्ने हो भने नेपाली दुई रुपियाँले 12 किलोमीटरसम्मको दुरीमा यात्रा गर्न सकिन्छ । मैले अन्य प्रान्त र शहरका नेपाली र चिनियाँ साथीहरुसँग पनि सोधेको थिएँ । उनीहरुले पनि पैचिङ्गको बसभाडा निकै सस्तो भएको बताएका थिए ।

    रविजी, हामी रेलसेवाको विषयमा कुरा गरिरहेका थियौं । कुरा अन्तअन्तै पुगेछजस्तो लाग्यो । पैचिङ्गका रेलस्टेशनहरुमा यात्रुहरुको यति धेरै भीड लाग्छ कि त्यहाँ कुनै ठूलो मेला लागेको छ जस्तो लाग्छ । यति हुँदाहुँदै पनि पैचिङ्गको रेलवे स्टेशनको ब्यवस्थापन एअरपोर्टको ब्यवस्थापनभन्दा कम छैन । विद्युतीय चेकजाँचको कारणले रेलस्टेशनभित्र छिरेपछि गन्तब्यसम्म नपुग्दासम्म पनि निकै सुरक्षित महसुस गर्न पाइन्छ । रेलवे स्टेशनमा गुड्ने भर्याङ्गको कारण सामान बोक्नुपर्ने झन्झटबाट केही राहत मिल्छ । अनि बतासे पुलले प्रवेशद्वारबाट आफू चढ्ने रेलसम्म पुग्ने बाटोको दुरी छोटो पारिदिएको छ । यसरी विद्युतीय चेकजाच, गुड्ने भर्याङ्ग र बतासे पुल छिचोल्दै रेल चढ्ने ठाउँसम्म पुग्नुपर्छ । हामी रेलको डिब्बाभित्र छिर्ने ढोकामा हवाइजहाजका एअर होस्टेजभन्दा पनि चिटिक्क परेका र फुर्तिला होस्टेजहरुले हामीलाई पथ प्रदर्शन गर्दै सीटसम्म पुर्याउछन् । यो सेवाले वास्तवमा धेरैलाई प्रभावित पारेको छ । अनि रेलभित्र पसेपछिको सेवा र सुविधा पनि हवाइजहाजमा उपलब्ध गराइने सेवा र सुविधाभन्दा कम छैन ।

    रवि- ध्रुवजी, छिङ्गहाई तिब्बत रेलमा उपलब्ध गराइएका सेवा र सुविधाहरुका बारेमा मलाई आजै सुन्ने इच्छा थियो । तर आजको हाम्रो पैचिङ्ग डायरीको समय सकिनै लागेको छ । त्यसैले हामी अर्को हप्ताको कार्यक्रममा त्यहीबाट कुराकानी सुरु गरौलाँ।

    ध्रुव- हुन्छ रविजी ।

    रवि- श्रोताहरु, आजको पैचिङ्ग डायरीबाट म रवि

    ध्रुव- अनि म ध्रुव पौडेललाई बिदा दिनुहोस ।

    दुबै- नमस्ते ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040