
सोह्रौं एशियाली खेलकुद सन् 2010 नोभेम्बर बाह्रदेखि सत्ताइस तारिखसम्म दक्षिण चीनको क्वाँग चौ शहरमा आयोजना हुने भएको छ। सो खेलकुदमा खेल प्रतियोगिताका बयालीस विधा राखिएका छन्। जुन एशियाली खेलकुदको इतिहासमा खेल प्रतियोगिताका विधा सबैभन्दा बढी भएको एक हो। साथै क्वाँग चौ शहरले एशियाली खेलकुदपछि फेरि दशौं पारा एशियाली खेलकुदको पनि आयोजना गर्नेछ।
एउटै शहरले एकैसाथ एशियाली खेलकुद र पारा एशियाली खेलकुदको आयोजना गर्ने र पैचिंगपछि एशियाली खेलकुदको आयोजना गर्ने दोस्रो चिनियाँ शहरको हैसियतमा क्वाँग चौले के कसरी एशियाली खेलकुद 2010 को आयोजना गर्ने अधिकार प्राप्त गरेको हो त? आजको खेलकुद कार्यक्रममा म तपाईंलाई यस विषयबारे जानकारी गराउनेछु।

चिनियाँ राज्य परिषद्को अनुमोदन पाएपछि क्वाँग चौ शहरले सन् 2004 को मार्च एकतीस तारिख एशियाली ओलिम्पिक खेलकुद परिषद्समक्ष औपचारिक रुपमा एशियाली खेलकुद आयोजना गर्ने अधिकार पाउँ भन्ने निवेदन पेश गरेको थियो। चीनको काँग चौबाहेक गणतन्त्र कोरियाको सिओल, मलेशियाको क्वालालम्पुर र जोर्डनको अमानले पनि एशियाली खेलकुद 2010 को आयोजना गर्ने अधिकार पाउन निवेदन गरेका थिए।
विभिन्न कारणले गर्दा ती तीनवटा शहरले निवेदन गर्ने क्रमलाई बीचैमा रोकेका थिए। त्यसैले क्वाँग चौ शहर सोह्रौं एशियाली खेलकुदको आयोजना गर्ने अधिकार पाउन निवेदन गरेको एकमात्र शहर बनेको छ।
2004 को जुलाई एक तारिख बेलुकी आठ बजेर चालीस मिनेट जाँदा एशियाली ओलिम्पिक खेलकुद परिषद्का अध्यक्ष शैख अहमेम अल फाहाद अल साबाहले तेइसौं पूर्ण बैठकमा क्वाँग चौ शहरले सोह्रौं एशियाली खेलकुदको आयोजना गर्ने अधिकार प्राप्त गरेको कुरा घोषणा गर्नुभयो। त्यो वेला दुई हजार दुईसय वर्षभन्दा लामो इतिहास भएको दक्षिण चीनको प्राचीन व्यापारिक केन्द्र एवं आधुनिक चीनको सुधार र खुलापनको अघिल्लो मोर्चामा रहेको यो सारा शहर उर्लियो।

तिनताकाको दृश्यको सिंहावलोकन गर्दा पनि धेरै क्वाँगचौबासीहरु अझै पनि आफूलाई थाम्न नसकी प्रभावित छन्। क्वाँग चौबासी ल्याँग तोंगले आफूलाई एकदमै आत्मगौरव लागेको कुरा बताउनुभयो उहाँ भन्नुहुन्छ-- "तिनताका सर्वप्रथम त म ज्यादै हर्षित भएँ। यतिका निर्विघ्न रुपमा सफल भएको कुरा सोचेको थिएन। किनभने क्वाँग चौले एक पटक निवेदन गरेपछि नै सफलता पाएकोमा साँच्चै नै हामीलाई खुशी लाग्यो। खुशीपछि मलाई ज्यादै गौरव लाग्यो"।
|