
क्वाँग चौ एशियाली खेलकुद 2010 को नभेम्बर बाह्र तारिखका दिन दक्षिण चीनको क्वाँग चौ शहरमा आयोजना हुने भएको छ। हालै क्वाँग तोंग प्रान्तीय गुणस्तर अनुगमन व्यूरोले "सार्वजनिक चिनो र लोगोको अंग्रेजीमा उल्था गर्ने कुरालाई व्यवस्थित पार्ने" सम्बन्धी प्रान्तीय मापदण्ड सार्वजनिक गरेको छ। उक्त मापदण्डले क्वाँग तोंग प्रान्तभरिका सार्वजनिक चिनो र लोगोमा रहेका चिनियाँ अक्षरहरुको अंग्रेजी भाषामा उल्था गर्ने कुरालाई व्यवस्थित पार्नेछ। नयाँ मापदण्ड आउने मे एक तारिखदेखि लागु हुने भएको छ।
सो स्थानीय मापदण्ड पैचिङ ओलिम्पिक खेलकुदको अनुभवको निचोड झिकेर क्वाँग तोंग प्रान्तको वास्तविकतासित जोड्दै विस्तृत रुपमा समाजका विभिन्न क्षेत्रका राय सुझाव बटुलिएको आधारमा बनाइएको हो। जसमा प्रशासनिक क्षेत्रको रेखाङ्कन, यातायात, पर्यटक क्षेत्र, पसल बजार र सेवा व्यवसाय, खेलकुदका रंगशाला र इन्डोर स्टेडियम, चिकित्सा र स्वास्थ्य सेवालगायतका विभिन्न क्षेत्रहरु समावेश छन्।
सन् 2004 को जुलाई एक तारिख बेलुकी आठ बजेर चालीस मिनेट जाँदा एशियाली ओलिम्पिक खेलकुद परिषद्का अध्यक्ष शैख अहमेद अल फाहाद अल साबाहले तेइसौं पूर्ण बैठकमा क्वाँग चौ शहरले सोह्रौं एशियाली खेलकुदको आयोजना गर्ने अधिकार प्राप्त गरेको कुरा घोषणा गर्नुभयो। त्यसपछि क्वाँग चौ शहरले "पहिलो दर्जाको रंगशाला र इन्डोर स्टेडियम, पहिलो दर्जाको बर बन्दोबस्त, पहिलो दर्जाको सेवा, पहिलो दर्जाको वातावरण र एउटा सर्वोत्तम र सबैभन्दा ठूलो पैमानाको एशियाली खेलकुदको आयोजना भन्ने वचन दिएको छ। साथै यस एशियाली खेलकुदलाई चिनियाँ विशेषतायुक्त, क्वाँग तोंग प्रान्तीय शैली र क्वाँग चौ शहरको हाउभाउयुक्त लच्छिन, मंगलमय र आकर्षक खेलकुद सांस्कृति भव्य समारोहको रुपमा बनाउने बचन पनि दिएको छ।
"उत्साहवर्द्धक भव्य समारोह, मेलमिलापपूर्ण एशिया" भन्ने क्वाँग चौ एशियाली खेलकुदको आधिकारिक विचारधारा सन् 2007 को मार्च नौ तारिखका दिन बाहिर उतारिएको हो। क्वाँग चौ एशियाली खेलकुद चाँजोपाँजो समितिका उप महासचिव कु श् याँगले हाम्रो पत्रकारसितको अन्तर्वार्तामा बोल्दै क्वाँग चौ एशियाली खेलकुदमा पूर्ण रुपमा उक्त विधारधारा प्रदर्शन हुने कुरा बताउँनुभयो- "क्वाँग चौ एशियाली खेलकुदको एक विशेषता चाहिँ हामीले बहुपक्षीय संस्कृतिलाई एक अर्कासित घुलमिल गराउने भन्ने रहेको छ। चाहे खेल प्रतियोगिताका विधा राखून् वा खेलकुदको अवधिमा देखाइने विभिन्न सांस्कृतिक कार्यक्रम हुन् अथवा उद्घाटन समारोह वा समापन समारोह हुन हामीले "मेलमिलापपूर्ण एशिया" भन्ने विचारधारामा जोड दिनैपर्छ। अर्थात भनौं हाम्रो एशियाका विभिन्न मुलुकको संस्कृतिलाई कदर गरिनुपर्छ र फरक संस्कृतिको घुलमिललाई महत्व दिनुपर्छ"।
यहाँसम्म श्रोता मित्रले सोध्नुहुन्छ होला त्यसो भए दुई हजार दुई सय बीस वर्षभन्दा बढी लामो इतिहास भएको क्वाँग चौको विशेषता के छ त ? सबभन्दा पहिले हामी सुनौं क्वाँग चौबासीले दिएको जानकारी। क्वाँग चौबासी ल्याँगले भन्नुभयो- "भोजन गर्नु मानवका लागि सबैभन्दा ठूलो कुरा हो। क्वाँग चौ चाहिं खानाको दृष्टिबाट प्रसिद्ध शहर हो। क्वाँग चौको विशेषतायुक्त खानेकुरा वा पकाउने तरिका विभिन्न मुलुकका मित्रहरुलाई उपलव्ध गराउन लायक छ। साथै क्वाँग चौ एक फेशनल शहर पनि हो। पहिरन र पर्यटनका क्षेत्रमा पनि आफ्नो विशेषता हुन्छ। फेरि बसाइको कुरा गर्ने हो भने क्वाँग चौ एक आधुनिक शहर हो। गगनचुम्बी भवनबाहेक स्थानीय विशेषतायुक्त घरहरु पनि प्रशस्त छन्। पर्यटनको पक्षमा कुरा गर्दा क्वाँग चौको द्योतकको रुपमा रहेका पाँचवटा बाख्रा, सेतो बादल पहाड, युए श्यौ पहाड र अर शा टापू आदि धेरै ठाउँ एकदमै रमणीय र सुन्दर छन्"।
|