
हालै चीनमा एउटा समाचार आकर्षित भएको छ—चीनमा प्रसिद्ध इन्टरनेटमा आधारित साहित्य कम्पनी "शन ता साहित्य"ले एक करोड चिनियाँ युआन बराबरको रकमले विश्वभरि इन्टरनेटमा आधारित मौलिक साहित्य कृतिको संकलन गर्ने कुरा बताएको छ। वरिष्ठ लेखकलाई सर्वाधिकार व्यापार तथा प्रचार-प्रसार गर्ने सहयोग दिने कुरा यसै कम्पनीले जनाएको छ। समृद्ध रुपमा विकसित भइरहेको चीनको इन्टरनेटमा आधारित साहित्यको प्रभाव तथा यसबाट ल्याइने निहित आर्थिक लाभले मानिसको ध्यान आकर्षित गरिरहेको देखिन्छ। चीनमा इन्टरनेटमा आधारित साहित्य कृति तथा लेखकहरु के-कस्ता खालका हुन् त ? यस किसिमको साहित्य कुन दिशातिर जाला भन्ने कुरा लिएर अब हामी आजको चिनियाँ रङ्ग मञ्च कार्यक्रमतर्फ लागौं।

चीनको आधिकारिक विभागबाट सार्वजनिक तथ्याङ्कवमोजिम्, गत वर्षसम्म चीनमा इन्टरनेट प्रयोगकर्ताहरुको कूल संख्या तीस करोड पुगेको थियो र चीन विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या सबभन्दा बढी भएको मुलुक बनेको छ। यसका साथसाथै चीनमा इन्टरनेट आधारित साहित्यको सिर्जना क्षेत्रमा नयाँ लेखकहरु देखापर्दै आएका देखिन्छन्। बढीभन्दा बढी इन्टरनेट प्रयोगकर्ताले मौलिक कृतिलाई नेटमा हाल्ने गरेका छन् र यसरी प्रसिद्ध बनेका इन्टरनेट प्रयोगकर्तालाई इन्टरनेट लेखक भनिन्छ। इन्टरनेटमा हालिएका उनीहरुका कृतिहरु प्रकाशित गरिएको अथवा सम्पादन गरी सिनेमा वा खेल बनाइएको देखिन्छ।

"ताङ न्यान मिङ ये" चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरुका लागि चिर-परिचित इन्टरनेट लेखक हुन्। दैनिक जीवनमा उनको नाम श ये हो र भन्सारमा कार्यरत एक जना तीस वर्षीय कर्मचारी हुन्। सन् 2006देखि श येले नेटमा आफूले फुर्सदमा लेखेको "मिङ छाउ ना से श" अर्थात "मिङ राजबंशमा भएका ती घटनाहरु"भन्ने उपन्यासलाई हाले। यस उपन्यासमा चौधौं शताब्दीदेखि सत्रौं शताब्दीसम्मको मिङ राजबंश कालका व्यक्तिहरु तथा घटनाहरुको वर्णन गरिएको छ। विनोदपूर्ण शैलीमा लेखिएको उनको उपन्यासमा ऐतिहासिक सामग्रीलाई विश्लेषण गर्ने तरिका पाठ्यपुस्तकभन्दा निकै फरक भएकोले इन्टरनेटमा प्रकाशित यस कृति तथा उनको नाम "ताङ न्यान मिङ ये" छोटो समयमा इन्टरनेटमा प्रसिद्ध भयो। प्रति महिनामा उनको उपन्यास राखिने वेभसाइटमा यसै उपन्यासलाई क्लिक गरेको एक लाख चोटी भन्दा बढी भयो। हालसम्म यस श्रृंखलाबद्ध उपन्यासका छ वटा किताब प्रकाशित भइसक्यो र बजारमा यसको राम्रो बिक्री भयो।
(क्रमशः)
|