 यहाँसम्म श्रोता मित्रले सोध्नुहुन्छ होला त्यसो भए दुई हजार दुई सय बीस वर्षभन्दा बढी लामो इतिहास भएको क्वाँग चौको विशेषता के छ त ? सबभन्दा पहिले हामी सुनौं क्वाँग चौबासीले दिएको जानकारी। क्वाँग चौबासी ल्याँगले भन्नुभयो- "भोजन गर्नु मानवका लागि सबैभन्दा ठूलो कुरा हो। क्वाँग चौ चाहिं खानाको दृष्टिबाट प्रसिद्ध शहर हो। क्वाँग चौको विशेषतायुक्त खानेकुरा वा पकाउने तरिका विभिन्न मुलुकका मित्रहरुलाई उपलव्ध गराउन लायक छ। साथै क्वाँग चौ एक फेशनल शहर पनि हो। पहिरन र पर्यटनका क्षेत्रमा पनि आफ्नो विशेषता हुन्छ। फेरि बसाइको कुरा गर्ने हो भने क्वाँग चौ एक आधुनिक शहर हो। गगनचुम्बी भवनबाहेक स्थानीय विशेषतायुक्त घरहरु पनि प्रशस्त छन्। पर्यटनको पक्षमा कुरा गर्दा क्वाँग चौको द्योतकको रुपमा रहेका पाँचवटा बाख्रा, सेतो बादल पहाड, युए श्यौ पहाड र अर शा टापू आदि धेरै ठाउँ एकदमै रमणीय र सुन्दर छन्"।
क्वाँग चौबासी फानले भन्नुभयो- "क्वाँग चौका ती हार्डवेयरबाहेक सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ पाहुनाहरुलाई क्वाँग चौ शहरले देखाउने मानवीय हेरचाहको महसुस हुनेछ। क्वाँग चौबासीको चरित्र र विचार एकदमै उल्लेखनीय छ। क्वाँग चौ निस्वार्थी र सहयोगी शहर हो नि"।

अर्का एकजना क्वाँग चौबासी ल्याँगले पाहुनाहरुलाई क्वाँग चौको इतिहासबारे जानकारी गराउनुपर्ने कुरा बताउनुभयो।
क्वाँग चौ शहरको उपनाम बाख्रा शहर हो। किंबदन्ती अनुसार उहिले उहिले क्वाँग चौमा लगातार धेरै वर्षसम्म दैवी प्रकोप देखापरेको थियो। सर्वसाधारणलाई हात मुख जोड्न पनि धौ-धौ परेको थियो। एकदिन आकाशमा पाँचजना देव छुट्टा छुट्टै रुपमा मुखमा धानको बाला टोकेका पाँचवटा अजम्मरी बाख्रा चढेर क्वाँग चौमा ओर्लनुभयो। ती देवले धानको बाला क्वाँग चौबासीलाई सुम्पिदिँदा यहाँ सदासर्वदा भोकको प्रकोप नहोस् भन्ने आशिष दिनुभयो। ती पाँचवटा अजम्मरी बाख्रा चाहिं पत्थरमा परिणत भएर क्वाँग चौमा अडिए। त्यसवेलादेखि नै क्वाँग चौ दक्षिणी चीनको सबैभन्दा सम्पन्न ठाउँ बनेको हो। साथै "पञ्चबाख्रा"को मूर्ति पनि क्वाँग चौ शहरको प्रख्यात द्योतक बनेको छ।

क्वाँग चौ एशियाली खेलकुदको चिनो र लच्छिन लोगोको रचना पञ्चबाख्रासित सम्बन्धित छ। सन् 2006 को नोभेम्बर सत्र तारिख खुला गरिएको सोह्रौं क्वाँग चौ एशियाली खेलकुदको चिनो चाहिं "पंचबाख्रा"को मूर्तिलाई मुख्य रुप बनाएर डिजाइन गरिएको हो। सो चिनोमा कोमल र सुन्दर रेखाद्बारा हेर्दा राँको जस्तो पाँचवटा बाख्राको रुप देखिन्छ। "पंचबाख्रा पवित्र ज्योति" नामक सो चिनोले एशियाली खेलकुदको पवित्र ज्योति कहिले पनि ननिभ्ने गरी व्हार्र व्हार्र बलिरहने भन्ने अर्थ बुझाउँछ। डिजाइनको उद्देश्यबारे कुरा उठाउँदा सो चिनोका डिजाइनर चाँग छ्याँगले भन्नुभयो- "हामीले सारा एशियाली जनता र सारा विश्वका जनतालाई हाम्रो क्वाँग चौ बारे जानकारी गराउन चाहन्छौं। त्यसैले अरुलाई शहरबारे चिनाउनु अत्यन्तै महत्वपूर्ण छ। पाँचवटा बाख्रा चाहिं क्वाँग चौबासीको मनमा अति परिचित छबि हो"।
लच्छिन लोगो पनि खेलकुद समारोहको एक महत्वपूर्ण चिनो हो। त्यसले घरेलु मुलुक र आयोजक शहरको ऐतिहासिक आधार, मानसिक शैली र सांस्कृतिक मोहितता प्रदर्शन गरेको छ र सुमधुर आशीर्वाद पनि दिएको छ। क्वाँग चौ एशियाली खेलकुदको लच्छिन लोगोलाई ल याँग याँग भन्ने नाउँ दिइएको छ। त्यसको अर्थ खुशीयाली बाख्रा हो। जम्मा पाँचवटा फरक रंगमा रहेका पाँचवटा बाख्रा छन्। जुन ओलिम्पिकको पाँचवटा गोलको रंगसित मिल्दोजुल्दो छ। यसबाट क्वाँग चौ एशियाली खेलकुदले ओलिम्पिक खेलकुदको भावनाको बिँडो थाम्दै त्यसलाई विस्तार गर्ने अर्थ अभिव्यक्त भएको छ।
|