
युआन नान प्रान्तीय ली च्याङ शहरको पुरानो भागमा एउटा सामान्य गल्लीमा "तुङ पा वर्कशप" भेट्न सकिन्छ। काष्ठकलाका वस्तु बेचिने यस पसलमा प्रवेश गर्ने बित्तिकै ठूल्ठूला तथा स-साना काष्ठकला वस्तुबाट आकर्षित हुने गरिन्छ। अद्बितीय मूर्तिहरु, अनुहारका प्रशस्त भाव तथा नासी भन्ने अल्पसंख्यक जातिको टोटमबाट देखाइएको रहस्यले पर्यटकहरुलाई निकैबेर रोक्दछ।
चीनका अल्पसंख्यक जातिहरुमध्येको एक नासी जाति हो जुन जातिको जनसंख्या लगभग तीन लाख जति मात्र भएता पनि यस जातिका प्राचीन अक्षरहरु, जोडा नभएको प्राचीन संगीत तथा रहस्यमय तुङ पा संस्कृति विश्वप्रसिद्ध छ। तुङ पा संस्कृति नासी जातिको परम्परागत संस्कृति हो र त्यसको हजार वर्षको इतिहास रहेको छ। तुङ पा संस्कृति नासी जातिको मौलिक धर्म तुङ पा धर्मको आधारमा हान, तथा तिब्बती जातिका संस्कृतिसँग मिसिएर बनेको छ। यस किसिमको संस्कृतिको मुख्य विशेषता पुर्खा तथा प्रकृतिको पूजाआजा हो।

तुङ पा संस्कृतिमा सबभन्दा आकर्षक चीजबीच भनेको काष्ठकलाको वस्तु हो। नासी जातीय भाषामा तुङ पा काष्ठकला वस्तुलाई "तो मा" भनिन्छ। कलाकारहरुले काठमा गोलो तथा वर्गाकार बनावट बनाउँछन्। ती बनावटहरु दैनिक जीवन तथा लोककथाहरुमा आधारित सिर्जना गरिएका हुन्।
तुङ पा वर्कशपका मालिक मु सिनरोङ लाज मान्ने नासी जातीय पुरुष हुन्। उनका राम्रा साथीले उनलाई लाउ मु भन्छन। सन् 1999देखि लाउ मुले तुङ पा वर्कशपलाई सुरु गरी आफ्ना हातले बनाएका काष्ठकला वस्तु बेच्दै आएका छन्। उनका वस्तुहरुमध्ये नासी जातिय संस्कृतिमा आधारित तुङ पा अक्षरहरु तथा देवताहका मूर्ति छन्। नासी जातिका मानिसहरुको दैनिक जीवन आधारित बनाइएका नासी बृद्धा, गोठाला पनि समावेश गरिएको छ। केही कलावस्तु आधुनिक उपायले बनाइएका हुन्। ती काष्ठकला वस्तुहरुका रङ्ग तामामा रातो र कालो मिसिएको जस्तो देखिन्छ। यस्तो परम्परागत रङ्ग लगाउने उपायको प्रयोग गरेपछि काष्ठकला वस्तु प्राकृतिक जस्तो देखिन्छ र नासी जातिको शुद्ध जीवनसँग मेल खान्छ। आफूले काष्ठकलाको बाटोमा हिंडेको सिंहावलोकन गर्दै लाउ मुले भनेः

"सुरुमा मलाई चित्र निकै मन पर्थ्यो। किनकि म सानो हुँदा मेरा बुबाले सजिलो लाइनबाट एउटा खरायो तथा मुसाको चित्र बनाउँनुहुन्थ्यो। मेरो घरको ढोकामा होस् वा छानामा जताततै यस्तो बनावट पाइन्छ। हातले कालो बोर्ड छुन सक्ने बेलादेखि नै मैले चित्र बनाउन सुरु गरें। त्यति बेला कला भन्ने विचार गरेकै थिएन। झ्यालमा टाँसिने बनावट होस्, फर्निचरमा कुँदिएको चित्र होस् वा परम्परागत भित्तामा बनावट देख्न पाइन्थ्यो। अरुले गरेको देखेर मैले त्यस्ता चित्र बनाउन थालें अनि त्यसपछि मात्रै प्राकृतिक दृश्य मेरो चित्रमा हाल्न थालें।"
क्रमशः
|