
हान जाति चीनका छपन्नवटा जातिहरुमध्ये सबैभन्दा बढी जनसंख्या भएको जाति मात्र नभई विश्वमा सबैभन्दा बढी जनसंख्या भएको जाति पनि हो। हाल हान जातिको कूल जनसंख्या लगभग एक अरब बीस करोड पुगेको छ। हान जातिलाई पहिले "ह्वा स्या" भनिन्थ्यो। उनीहरु देशको मध्य भागमा बसोबास गर्ने मानिसहरु थिए। हान जातिको इतिहास पाँच हजार वर्ष भन्दा पूरानो छ। हान जातिका मानिसहरुले विस्तारै-विस्तारै अरु जातिहरुसँग मिलेर बस्ने-सिक्ने गरेका थिए। हान राज बंशको शुरुआतदेखि उनीहरुलाई हान जाति भनिन थालिएको हो।
हान जातिको आफ्नै भाषा तथा लिपि छ। हान जातिको भाषा, हान-तिब्बती भाषा प्रणालीको एक भाग हो। हान भाषा पै फाङ ह्वा, उ यु, स्याङ यु, कान यु, ख च्या ह्वा, मिन पै ह्वा तथा य्वे यु जम्मा गरी आठवटा स्थानीय भाषामा विभाजित भएको छ। उनीहरुको साझा भाषा भनेको फु थुङ ह्वा हो। हान जातिको लिपि विश्वमा सबैभन्दा पूराना लिपिहरुमध्येको एक हो। हान जातिको अक्षर च्या कु अक्षरदेखि चिन अक्षर क्रमशः आजको चौकुने आकारको अक्षर बन्दै आएको छ। हान जातिको लिपिमा जम्मा गरी असी हजार वटा अक्षर छन। सामान्य रुपमा प्रयोग गरिने अक्षर लगभग सात हजार वटा छन। हान भाषा अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा साझा भाषाहरुमध्येको एक बनेको छ।

हान जातिको आधारभूत खाना मुख्यतया भात र रोटी हो। यस बाहेक, उनीहरु विभिन्न वन्य-जन्तुको मासु तथा तरकारी पनि खान्छन्। हान जातिको विकास क्रममा एक दिनमा तीन छाक खाने बानी बसेको छ। चामल तथा गहुँबाट बनाइएको खाद्यान्न हान जातिका दुइवटा मुख्य खाना हुन्। यस बाहेक, मकै, गहुँ, आलु आदि खाना पनि विभिन्न क्षेत्रमा बसोबास गर्ने हान जातिका मानिसहरुका मुख्य खाना हुन। विविध अवस्थाको आधारमा हान जातिको खानाका भिन्ना-भिन्नै किसिमका स्वाद छन्। चीनमा हान जाति लगायतका सबै जातिहरु मिलेर बनेको "दक्षिणतिर गुलियो, उत्तरतिर नूनिलो, पूर्वतिर पिरो, पश्चिमतिर अमिलो" भन्ने खानाको विशेषता छ।
रक्सी तथा चिया हान जातिको दुइवटा मुख्य पेय पदार्थ हुन्। चीन चियाको जन्म थलो मात्र होइन, विश्वमा रक्सी बनाउने प्रविधि सबैभन्दा पहिले उत्पन्न हुने मुलुकहरुमध्ये एक पनि हो। रक्सी सम्बन्धी सँस्कृति तथा चिया सम्बन्धी सँस्कृति चीनमा प्राचीन कालमा शुरु भइसकेको थियो। चीनका भिन्ना-भिन्नै क्षेत्र एवम् विभिन्न ऋतुमा मानिसहरु रक्सी तथा चिया बाहेक फलफूलबाट बनाइने केही पेय पदार्थ पनि पिउने गर्छन।
हान जातिका धेरै चाड-पर्वहरु छन। वसन्त चाड सबैभन्दा परम्परागत चाड हो। यसका अतिरिक्त, चिनियाँ परम्परागत पात्रो अनुसार, पहिलो महिनाको पन्ध्र तारिखका दिन युआन स्याउ चाड पर्दछ र पाँचौ महिनाको पाँच तारिखका दिन तुआन उ चाड पर्दछ।

चुआङ्ग जाति चीनका अल्पसंख्यक जातिहरुमध्ये सबैभन्दा बढी जनसंख्या भएको जाति हो। यस जातिका मानिसहरु दक्षिणी चीनको क्वाङ सी चुआङ्ग प्रिफेक्चरमा बसोबास गर्दछन्। उनीहरुको भाषा हान-तिब्बती भाषा प्रणालीको भए भाग हो। चुआङ्ग जाति चीनको दक्षिणी क्षेत्रको आदिबासी जाति हो। चुआङ्ग जातिको लामो इतिहास छ। दशौं हजार वर्षअघि चुआङ्ग जातिका मानिसहरु चीनको दक्षिणी क्षेत्रमा बसोबास गर्नथालेका थिए। सन् 1958 मा क्वाङ सी चुआङ्ग जातीय प्रिफेक्चरको स्थापना गरियो।
चुआङ्ग जातिका मानिसहरु मुख्यतः कृषि पेशामा लागेका छन। उनीहरु मुख्यतया गहुँ, मकै आदिको खेति गर्दछन। चुआङ्ग जातिका मानिसहरु गीत गाउन मन पराउँछन्। चुआङ्ग जातिको बसोबास रहेको ठाँउलाई गीतको समुद्र भनिन्छ। चुआङ्ग चिन अर्थात् चुआङ्ग जातिले बनाएको कपडा चुआङ्ग जातिका मानिसहरुको परम्परागत हस्त-कला हो। प्राचीन कालमा चुआङ्ग जातिका मानिसहरु प्रकृति तथा देवताको पूजा गर्ने प्राथमिक धर्म मान्दथे। थाङ्ग तथा सुङ्ग राजबंशदेखि बौद्ध धर्म, ताउ धर्म एकपछि अर्को गरी चुआङ्ग जातिको क्षेत्रमा प्रवेश भयो। आधुनिक इतिहासमा क्रिस्चियन धर्म, क्याथोलिक धर्मले पनि चुआङ्ग जातिका मानिसहरुमा प्रवेश गरे तापनि तिनीहरुको असर न्यून देखिन्छ।
|