
बेइजिङ ओलम्पिक खेलको पूर्वसन्ध्यामा चीनले बेइजिङका कलकारखानाहरूको सञ्चालन बन्द गर्ने तथा सडकमा सवारीसाधनहरू गुडाउन निषेध गरेको 24 घन्टाभित्रै बेइजिङको वायुप्रदूषणको मात्रा आधाभन्दा बढी घटेको अधिकारीहरूले गत बिहीबार जनाएका छन् ।
प्राप्त तथ्याङ्क अनुसार बुधबारको चिसो हावा र हल्का वर्षाले अलिअलि बाँकी वायुप्रदूषण पनि बढारेर लगेको मौसम तथा वायु रेकर्डले देखाएको र त्यसबाट केही दिनका लागि बेइजिङवासीले गर्मीबाट राहत पाएका छन् ।
ओलम्पिक खेलकुद आयोजकहरूका लागि आयोजनास्थल रहेको त्यस सहरको आकाशमा रहेको वायुप्रदूषण सबैभन्दा ठूलो चिन्ताको विषय बन्दै आएको थियो ।
राजधानीसहित यस वरपरका केही प्रान्तहरूमा निर्माण कार्य सञ्चालन स्थगन, कारखाना सञ्चालन बन्द गर्ने तथा सहरमा गुडिरहेका 33 लाख सवारीसाधन बन्द गर्ने निर्णय बेइजिङका अधिकारीहरूले केही दिनअघि गरेका थिए ।
सरकारको यस कदमबाट अपेक्षित प्रभाव परेको विचार बेइजिङ वातावरणीय संरक्षण विभागका उप-निर्देशक डू साओचोङले व्यक्त गर्नुभयो । गत 20 जुलाईदेखि प्राप्त दैनिक तथ्यांकअनुसार बेइजिङ सहरको वातावरणमा क्रमिक सुधार आएको देखिएको उहाँको भनाइ रहेको छ ।
सवारीसाधनमाथि कडाइका साथै प्रदूषण फैलाउने कारखानाहरू बन्द गर्ने कार्य सम्पन्न भइसकेपछि यो परिणाम आएको हो.
|