
चीनको दक्षिण-पश्चिमी भागमा पर्ने युन नान तथा स छ्वान दुवै प्रान्तको सीमामा एउटा ज्यादै सुन्दर ताल अवस्थित छ जुन लु कु ताल हो। त्यहाँ युगौं युगदेखि मातृसत्तात्मक समाजले बसोबास गर्दैआएको छ। त्यस मातृसत्तात्मक समाजमा मो सो भन्ने जाति रहेका छन्। त्यहाँको विशेषतायुक्त मो सो जातीय संस्कृति, रमणीय प्राकृतिक दृश्य र मनोरञ्जनात्मक मो सो जातिले देश र विदेशका पर्यटकहरुलाई ज्यादै आकर्षित गर्ने गर्दछ। मो सो जातिलाई हुर्काइने सुन्दर लु कु ताल नै पर्यटकका लागि झन् पवित्र र अनौठो ठाउँ हो।
लु कु ताल युन नान तथा स छ्वान दुवै प्रान्त जोडिने ठाउँमा अवस्थित छ। त्यस तालको क्षेत्रफल पचास वर्ग किलोमिटरभन्दा बढी छ। त्यो ताल समुद्र सतहदेखि दुई हजार छ सय नब्बे मिटरभन्दा पनि बढी उचाइमा पर्दछ। त्यसको औसत गहिराइ पैंतालीस मिटर छ भने सबैभन्दा गहिरो ठाउँ नब्बे मिटरभन्दा बढीको छ। उक्त ताल ज्यादै स्वच्छ छ। मो सो जातिको भाषामा "लु"को अर्थ पहाड हो भने "कु"को अर्थ भित्रको भन्ने रहेको हो। यसले गर्दा लु कु तालको अर्थ पहाडमा रहेको ताल हो।

लु कु तालमा जम्मा पाँचवटा टापु र तीनवटा प्रायःद्बीप छन्। विभिन्न टापुहरू भिन्ना-भिन्नै आकारका हुन्छन्। ती टापुहरु हरियाली वनस्पतिबाट ढाकिएका छन्। वर्षभरि त्यहाँ रङ्गीचङ्गी फूलहरु फुल्छन्। स्वच्छ तालमा स्थानीय जाति तथा पर्यटकले सैर गरेका डुङ्गाहरु सुन्दर ढंगले रहेका देखिन्छन्। टाढाबाट मो सो जातिले गाएको लोकगीत सुन्दा निकै मीठो सुनिन्छ।
लु कु ताल युन नान प्रान्तमा समुद्र सतहदेखि सबैभन्दा उच्च भागको ताल हो। साथै उक्त ताल चीनका सबभन्दा गहिरा र स्वच्छ पानी भएका तालहरुमध्येको एक पनि हो। टाढाबाट हेर्दा बगिरहेको स्वच्छ पानी र नीलो आकाश मिल्दोजुल्दो देखिनाले त्यहाँ एउटा ज्यादै सुन्दर चित्र बनेकोजस्तो अनुभव हुन्छ। त्यहाँका केही टापुमा तिब्बती बौद्ध गुम्बाहरु पनि छन्। वर्षभरि तिब्बती बौद्ध धर्म मान्ने मो सो जातिका बासिन्दाहरु समय समयमा ती गुम्बामा गएर भक्तिपूर्वक पूजा-आजा गर्ने गर्दछन्।

लु कु ताल वरिपरि अग्ला-अग्ला पहाडहरु छन्। एक वर्षका बाह्र महिनामध्ये कम्तिमा तीन महिनासम्म त्यहाँ हिउँ पर्ने गर्दछ। त्यहाँ वन-जङ्गलसंबन्धी स्रोत-साधन प्रशस्त छन्। विभिन्न खनिज तत्वहरु पनि मौजुद छन्। तालका दुवै किनारामा हान जातिबाहेक, मो सो, यी, ना सी, तिब्बती, फु मि, पाई र च्वाङ्गलगायत् अन्य सातवटा अल्पसंख्यक जाति पनि बसोबास गर्दछन्। त्यहाँको कूल जनसंख्या तेह्र हजार जति छ। तीमध्ये मो सो जातिको जनसंख्या झण्डै छ हजार पुगेको छ। लु कु तालको पठार भूमिमा रहेको तालको विशेषतायुक्त प्राकृतिक दृश्य र मो सो जातिको मातृसत्ताको मनोरञ्जनात्मक संस्कृतिले गर्दा यो विश्वमा निकै प्रसिद्ध बनिसकेको छ। स छ्वान प्रान्तले सन् 1993मा लु कु ताललाई प्रान्तीय पर्यटकीय स्थलको सूचीमा समावेश गरिसकेको छ।
|