म चीनको पैचिङमा पाइने हटपट खानाको बारेमा मैले देखेका र भोगेका अनि अनुभव गरेका कुराहरूका बारेमा केही बताउन जाँदैछु। यहाँ हटपट भनेको त तातो भाँडो भन्ने अर्थ हुन्छ। तर पैचिङमा हिउँदको कठाङ्ग्रिदो जाडोमा यहाँका विशेष रेष्टुराँहरूमा उपलब्ध हुने खानालाई हटपट भनिएको हो।
पैचिङका जनताका लागि मात्र होइन यहाँ आउँने हरेक पर्यटकसमेतका लागि पैचिङमा उपलब्ध हुने हटपटको स्थान निकै महत्वपूर्ण रहेको पाइन्छ। खासगरेर हटपट पैचिङबासीहरूको रुचिको खाना हो। चाहे हटपट खानाको मात्रामा होस् वा त्यस खानाको स्वाद र सफाइमा नै किन नहोस् अनि चाहे खानाको गुणस्तरमा नै होस् सबै कुरामा यो परिकारको खाना सबैले रुचाउने गर्दछन्।
पैचिङमा हटपटका लागि खासगरी दुई प्रकारका रेष्टुराँहरू उपलब्ध रहेका छन्। एउटा स्टायल भनेको मङ्गोलियन हो र दोस्रो भनेको स छ्वान स्टायल हो। यी दुबै प्रकारका हटपटमा मटन वा भेडा अथवा खसीको मसु प्रयोग हुने गर्दछ। चिनियाँ भाषामा खसीको मासुलाई सामान्यतया याङ रौ भन्ने गरिन्छ। याङको अर्थ खसी हो र रौको अर्थ मासु भन्ने लाग्छ। हटपटमा प्रयोग हुने खसीको मासुलाई स्लाइस बनाएर बेरिएको अवस्थामा राखिएको हुन्छ। यसरी ट्युबको आकारमा रहेको मासु प्रायः फ्रोजन हुन्छ वा फ्रिजिङ गरिएको अवस्थामा हुने गर्दछ। सर्वप्रथम त मासुलाई एउटा भाँडोमा राख्ने व्यवस्था गरिएको हुन्छ। त्यो भाँडोको पिँधचाहिँ तामाबाट बनेको हुन्छ वा पूरै भाँडो नै तामाबाट बनेको पनि हुन सक्छ। तामाको भाँडोमा पकाइएको खानेकुरा एकदमै स्वादिलो र स्वा स्थकर हुने विश्वास पनि लिन सकिन्छ। हटपट खान जाने रेष्टुराँमा उक्त भाँडोमा आवश्यक मीठो तथा स्वादिलो प्रकारको सुप राखेर दिने गर्दछन्। त्यसमा आवश्यकताअनुसारको खानेकुरा राखेर आफूलाई दिएको टेबुलमा रहेको चुलोमा राखेर पकाइन्छ र आफू तथा आफ्ना परिवार साथीभाइ जो गइएको छ त्यहीअनुसार खाने गरिन्छ। यो नै हटपटको विशेषता हो भन्न सकिन्छ। ट्युबको आकारमा रहेको मासुलाई तातो सुपबेसमा राखेर तताएपछि केही मिनेटमा नै मासु खानयोग्य हुन्छ। त्यहाँ मासुका साथमा सागसब्जीहरू, चिनियाँ सेतो साग, तो फु तथा अन्य परिकार पनि समावेश गर्न सकिन्छ। मंगोलियन प्रकारको हटपटमा त्यति धेरै मसला र चिल्लो हुँदैन तर स छ्वान प्रकारको हटपट भने निकै मसलादार र चिल्लो पनि हुने गर्दछ। तर दुवै प्रकारको हटपटमा चिनियाँ बन्दाकोपी चाहिँ अनिवार्य राखिएको मैले पाएको छु। चिनियाँ भाषामा चिनयाँ बन्दालाई पाइ छाइ भन्ने गरिन्छ। मंगोलियन हटपटमा चिल्लो र मरमसला त कम नै हुन्छ नै तर त्यसमा भने गेडागुडीको भाग निकै हुने गर्दछ। त्यस्तै गरेर मंगोलियन हटपटमा समुद्री साग तथा अन्य सागसब्जीहरू समावेश हुने गरेको पाइन्छ।
पैचिङमा हटपट खुवाउने रेष्टुराँहरू निकै नै छन्। सामान्यतया चालीस युआन प्रतिव्यक्तिबाट सुरु भएको पाइन्छ। हटपटलाई मीठो बनाउनका लागि भेडा वा खसीको ह्यकुलोको भाग पनि समावेश गरिएको हुन्छ। मांसहारीका लागि त्यसबाट बनेको खाना अत्यन्तै स्वादिष्ट रहेको पाइन्छ। त्यसैले स्रोता यदि तपाईँ पनि पैचिङ आउँदै हुनुहुन्छ भने र त्यो समय जाडोको समय हो भने तपाई पनि हटपट खान नबिर्सनुहोला। पैचिङमा एउटा उखान प्रचलित छ त्यो के भने कोही पैचिङ आउँदैछ भने हटपट नखाई र ग्रेटवाल नगई उसको यात्रा पूरा हुँदैन। यो भनाइलाई तपाईँ प्रिय श्रोताले बुझ्नुभयो होला भन्ने मेरो विश्वास रहेको छ।
|