
ऊ चन भन्ने ठाउँ चीनको दक्षिणी भागमा पर्ने एउटा प्रसिद्ध बस्ती हो। त्यहाँ प्राचीन र परम्परागत वास्तु-शैली र हजारौं वर्ष लामो इतिहास बोकेकाले विश्वमा निकै प्रख्यात छ। स्थानीय सरकारले उचित संरक्षण र विकास गर्दै आएकाले ऊ चनको विशेषतायुक्त र रमणीय दृश्यलाई पूर्ण रुपमा देश र विदेशका पर्यटकहरुसमक्ष देखाएको छ। ऊ चन बस्ती चीनको च च्याङ्ग प्रान्तको थोङ्ग स्याङ्ग भन्ने ठाउँमा पर्दछ। गाडी चढेर च च्याङ्ग प्रान्तको सदर मुकाम हाङ्ग चौबाट उत्तरी भागतिर जाँदा एक घण्टाभन्दा बढी समयमा त्यहाँ पुग्नसकिन्छ। ऊ चन वस्तीको वरपर पानी बगिरहेको छ। पूर्वदेखि पश्चिमसम्म बग्ने पानी र दक्षिणदेखि उत्तरसम्म बग्ने दुईवटा नदीले समस्त ऊ चन बस्तीलाई पूर्वी, पश्चिमी, दक्षिणी र उत्तरी भागमा विभाजन गरेको छ। ऊ चनमा दक्षिणी चीनको विशेषतायुक्त वास्तु-शैली रहेको देखिन्छ।

त्यहाँका सैयौं वर्षभन्दा लामो इतिहास बोकेका प्राचीन-वास्तुहरुलाई राम्रोसँग संरक्षण गरिएको छ। त्यहाँ पुगेपछि स्थानीय महिला पथ-प्रदर्शकले सर्वप्रथम पर्यटकका लागि त्यहाँका विशेषतायुक्त वास्तुबारे जानकारी दिने गरेका छन्।एक पथप्रदर्शक भन्छिन्: यी भवनहरु हाम्रो ऊ चनमा रहेका सबैभन्दा विशेषतायुक्त वास्तु अर्थात् स्वै क भन्ने भवन हुन्। चिनियाँ भाषामा स्वै भनेको पानी हो भने क भनेको भवन हो। यस किसिमको भवन हाम्रो ऊ चनमा मात्रै देख्न पाइन्छ। ती भवनहरुलाई "पानीमा निर्माण गरिएको चीनको अन्तिम स्थान" भनिन्छ। ती भवनहरुको इतिहास सैयौं वर्षको छ।
ऊ चनमा बगिरहेको नदीका दुवै पट्टिमा त्यस्तै किसिमका प्राचीन भवनहरु जताततै देख्न पाइन्छन् जुन युगौंयुगदेखि नै ऊ चन बासीहरुको आबास भवन हुन्। त्यस्तो विशेषतायुक्त भवनमा बस्दा अनौठो र आनन्दको अनुभव गर्न सकिन्छ। झ्याल खोलेर बाहिर बगिरहेको स्वच्छ पानी र हिंडिरहेका बासिन्दाहरु देख्दा एउटा सुन्दर तस्वीर देखाइएको जस्तो अनुभूति हुन्छ।

ऊ चन बस्तीको इतिहास हजारौं वर्ष भइसकेकाले अन्य प्रान्तका प्राचीन बस्तीको तुलनामा ऊ चनले आफ्नो अपेक्षाकृत पूर्ण र प्रशस्त रीतिरिवाजको अझ राम्रोसँग संरक्षण गर्दैआएको छ। ती रीतिरिवाज लामो समयसम्म रहंदैआएकाले ऊ चन बस्तीको मुख्य आकर्षण बनिसकेका छन्। त्यहाँका पुराना पुलहरु, बगिरहेको स्वच्छ पानी, र प्राचीन आबास भवनहरुमा गहिरो ऐतिहासिक र सांस्कृतिक वातावरण मौजुद छन्। ऊ चन बस्तीका जिम्मेवार व्यक्ति चाङ्ग चेन लिनले हामीलाई जानकारी दिँदै भन्नुभयो:
यति लामो इतिहास बोकेको प्राचीन बस्तीको हैसियतले हाम्रो ऊ चनको आफ्नै विशेषता छ। हामीले परम्परागत संस्कृतिको संरक्षणका लागि अथक प्रयास गर्दैआएका छौं। मेरो विचारमा, ऊ चन बस्तीको विशेषतायुक्त संस्कृति देश र विदेशका पर्यटकलाई आकर्षण गर्ने सबैभन्दा महत्वपूर्ण चीज नै हो।
|