सेप्टेम्बर दुई तारिखका दिन चीन नेपाल मिसनले नेपाल पर्यटन वर्ष 2011 लाई सफल पार्ने हेतुले पैचिङमा एक कार्यक्रमको आयोजना गरेको थियो।नेपालमा गणतन्त्र स्थापना भई शान्तिका कदमहरू पनि चालिइसकेको पृष्ठभूमिमा नेपालमा आर्थिक विकास गर्नुपर्ने कुरालाई मध्यनजर राखेर नेपाल पर्यटन बोर्ड तथा नेपाल एसोसिएसन अफ टुर अपरेटर एन्ड ट्राभल एजेन्ट्स नाटाको संयुक्त तत्वावधानमा उक्त कार्यक्रमको आयोजना भएको थियो।नेपाल प्राकृतिक तथा साँस्कृतिक रुपमा सम्पन्न देश हो।नेपालमा पर्यटन व्यवसायको संभावना अत्यन्त नै रहेको अवस्थामा छिमेकी मुलुक चीनबाट पर्यटक भित्र्याउँनका लागि उक्त कार्यक्रम ज्यादै महत्वपूर्ण रहेको अवस्था रहेको देखिन्छ।
नेपाल पर्यटन बोर्डको मुख्य भूमिका रहेको पर्यटन प्रबर्द्धन कार्यक्रम गत सेप्टेम्बर दुई तारिखका दिन पैचिङमा आयोजना भएको थियो।नेपालमा चिनियाँ पर्यटक भित्र्याँउन नेपाल पर्यटन बोर्ड र नेपाल एसोसिएसन अफ टुर अपरेटर एन्ड ट्राभल एजेन्ट्स नाटासमेतको नेपाल चीन सेल्स मिसनद्वारा पैचिङमा उक्त दिन पर्यटन प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको थियो। यस्ता कार्यक्रमहरू चीनका तीन ठूला शहरमा आयोजना गर्ने क्रममा पहिलो कार्यक्रम शाङ हाइमा र दोस्रो मुकाम पैचिङ बनाइएको कुरा त्यहाँका सम्बन्धितहरूबाट थाहा पाइयो।
त्यो कार्यक्रमका प्रमुख अतिथि नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री शरतसिंह भण्डारीले नेपालमा जलस्रोत र पर्यटन विकासका प्रमुख आधार हुन् यसको सही प्रयोगबाट मात्र मुलुक आर्थिक तथा सामाजिक क्षेत्रमा अगाडि बढ्न सक्छ भनी बताउनुभयो।मन्त्री भण्डारीले नेपालको पर्यटन क्षत्रको विकासका लागि आवश्यक नीति नियम को तर्जुमा एबम अन्य जुनसुकै सहयोग निजी क्षेत्रलाई पुर्याउन नेपाल सरकार सधैँ दृढ रहेको कुरा बताउनुभयो।त्यस्तै चीनका लागि नेपाली राजदूत श्री टङ्कप्रसाद कार्कीले चिनियाँहरु नेपाल भ्रमणका लागि धेरै उत्सुक रहेको आफ्नो कार्यकालको दुईवर्षे अवधिमा अनुभव गरेको बताउँदै उनीहरूलाई नेपाल जाने राम्रो वातावरण बनाउन सबै नेपाली एक भएर लाग्नुपर्ने कुरा बताउनुभयो।
त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख श्रीमती नन्दिता थापाले नेपालमा पर्यटन प्रवर्द्धनमा लागि पर्यटन बोर्डले विभिन्न प्रचारात्मक कार्यक्रम विदेशमा समेत सञ्चालन गरेको र यो कार्यक्रम त्यसैको एक सृङ्खला भएको कुरा बताउनुभयो।नेपालमा हालको पर्यटन व्यवसायको स्थिति पर्यटकीय क्षेत्र र त्यसको विकासका लागि चाल्नुपर्ने कदमका विषयमा विस्तृत रुपमा जानकारी दिनुभयो।उहाँले आफ्नो स्लाइड प्रदर्शनीका क्रममा नेपालका प्राकृतिक साँस्कृतिक भौगोलिकलगायत् साहसी खेलहरूका बारेमा जानकारी दिनुभएको थियो।प्राकृतिक हिसाबले उत्कृष्ट स्थानहरु देखाउने क्रममा पोखराका तालहरुको स्लाईडलगायत् त्यहाँ खेल्न मिल्ने ग्लाइडिङ आदिका बारेमा पनि देखाइएको थियो।त्यसै गरी भोटेकोसी नदीको पुलबाट हाम फाल्ने बन्जी जम्पिङलाई पनि ज्यादै राम्रोसँग देखाइएको थियो।त्यसरी नै नेपालका विविध जातिका भेषभूषा र सँस्कृतिलाई पनि देखाइएको थियो त्यहाँ।यता चितवनमा रहेको निकुञ्ज क्षेत्रमा रहेको हात्ती चढाइ चरा चुरुङ्गी हेराइलगायत् राप्तीमा गरिने क्यानोइङ आदि कुरा पनि देखाइएको थियो।त्यसैगरी कार्यक्रमकै दौरानमा नाटाका अध्यक्षले राजदूत श्री टङ्कप्रसाद कार्कीलाई उपहार पनि चढाउनुभएको थियो।
|