एक दिनको कुरा हो छि राज्यका राजा लिङ कङमा एउटा लहड चलेर आयो।राजा महाराजाहरूमा बेलाबेलामा विभिन्न प्रकारका लहडहरू चल्नु स्वभाविकै हो।उनलाई के लहड चलेछ भने आफ्नो दरवारका सुसारे महिलाहरूले पुरुषको पोशाक पहिरिनु पर्ने रे। त्यो दृश्य राजा लिङ कङले हेर्नु पर्ने रे।
लहड पनि कस्ता कस्ता हुन्छन्।तर राजाले यो हुकुम केवल आफ्नो सीमित दरबारभित्र मात्र लागु गराउने विचार गरे।यो हुकुम लागु त तुरुन्तै नै भयो तर एउटा अचम्म के भयो भने केवल दरबारका सुसारे महिलाले मात्र होइन राज्यका सारा महिलाहरूले नै विस्तार विस्तार पुरुषका कपडा पहिरिन थालेछन्।तर राजाले त यो कुरा सोचेका थिएनन्।उनले दरबारको सीमित घेराभित्र मात्र यो कुरा लागु गर्ने विचार पो गरेका थिए त।
यो कुरा या भनौँ घटनाले गर्दा राजा लिङ छङ ज्यादै रिसाए।उनको रिस फेरि आगोजस्तै पोल्ने प्रकारको थियो।रिस उठ्यो कि त तुरुन्तै सिध्याउने।अब त्यहाँ कुनै ठूलै घटना हुने सबै भाइभारदार अनि मन्त्रीगणले पनि अनुमान गर्न थाले।त्यो घटनालाई कसरी साम्य पार्ने त भनेर राजाले धेरै सोचे अनि देशभरका आफ्ना अधिकारीलाई हुकुम दिएर भन्न थाले-
"सुन्नुहोस् मन्त्रीगण अनि देशभरका अधिकारीहरू, जब राज्यमा कुनै पनि आइमाई पुरुषको पोशाकमा देखेमा त्यसको कपडा च्यात्नू अनि कम्मरपेटी धुजाधुजा पारिदिनू।केही परे सबै कुरा राज्यले बेहोर्नेछ।सबैले कुरा बुझेको हो?"

यस्तो कठोर कुरा सुनेर सबै अधिकारीहरू धेरै डराए तर के गर्नु र राजाको अगाडि बाबाको दुहाइ भन्ने उखान ती सबैले सम्झे अनि लागे आआफ्नो कर्मक्षेत्रतिर।सबै आआफ्ना क्षेत्रका कर्तव्य पथमा लागेकै थिए केही महिलालाई कार्बाही नगरिएको पनि होइन।तर सबैले दरबारका महिलाले लगाउनु हुने तर हामीले किन नहुने भनेर जिद्दी गरे।
अन्त्यमा अधिकारीहरूको केही पनि चलेन।उनीहरू आफू त्यस्तो कार्बाही गर्न नसक्ने बरु आफू सजाय भोग्ने भन्ने मनस्थितिमा पुगे।राज्यका महिलाहरूमा पनि यस कार्बाहीले कुनै पनि फरक पारेन ।कुनै पनि हतोत्साही बनाएन।उनीहरू निर्धक्क भएर परिआए लडौँला भनेर हिँड्न थाले।
आफ्नो हुकुम लागु नभएको खबर राजाले पाइसकेका थिए।त्यसैले राज्यमा यो हुकुम किन कार्यान्वयन भएन त भनेर अदालतमा प्रधानमन्त्रीलाई बोलाएर केरकार गर्ने विचार राजाले गरे।
राजाको हुकुम प्रधानमन्त्रीले तुरुन्तै थाहा पाए।फलस्वरुप सवाल जवाफका लागि प्रधानमन्त्री यान जी तयार भए।त्यस दिनको कार्यक्रम सुरु भयो।राजा आज निकै निरास अनि कताकता रिसको भावमा थिए।त्यस्तै गरेर प्रधानमन्त्री यान जीको अनुहारमा कुनै हतास वा डरको भाव देखिँदैनथ्यो।उनी निर्धक्क देखिन्थे।
|