फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आमदानीको उचित विभाजनको प्रारुप तयार पार्न चीन सरकार सक्रिय

(GMT+08:00) 2011-03-06 19:17:41

            पाँच तारिखका दिन आयोजित एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशनमा प्रधानमन्त्री वन च्या पाउले दिनुभएको सरकारी कार्य प्रतिवेदनमा भन्नुभयो- जन जीवनलाई सर्वतोमुखी रुपमा सुधार्नुपर्छ र शहरबासीहरुको आमदानीमा हुने बृद्धि आर्थिक विकासको पाइलासित मिलाउनुपर्छ र आमदानीको उचित विभाजनको प्रारुप तयार पार्न गतिशील तुल्याउनुपर्छ। अब आउने पाँच वर्षभित्र शहरबासीहरुको सरदर प्रति व्यक्तिको हातमा परेको आमदानी तथा ग्रामीण बासिन्दाहरुको चोखो आमदानीमा वर्षैपिच्छे बृद्धि हुने दरलाई बढाएर सात प्रतिशतमा पुर्‍याउनुपर्छ।

            जन जीवनलाई के कसरी सुधार्ने, देशबासीहरुको आमदानीको विभाजनलाई के कसरी उचित रुपमा व्यवस्था गर्ने र सात प्रतिशतको बृद्धि दर भन्ने लक्ष्यलाई के कसरी साकार तुल्याउने भन्ने कुरा बारे राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरुले विशेष छलफल गरेका छन। हू पै प्रान्तका प्रतिनिधि ये छिंगले भन्नुभयो- शहरबासीहरुको आमदानी बढाउने कुरा उठाउँदा सर्वप्रथम तिनीहरूका तलबले देखाउंछ। आर्थिक विकासको पद्धति बदलेको खण्डमा मात्र मूलभूत रुपमा उद्योग व्यवसायको प्रतिस्पर्धात्मक शक्तिलाई बढाउन सकिनेछ र शहरबासीहरुको आमदानी बढ्न सक्नेछ। उहाँ भन्नुहुन्छ-

            "तलबलाई बढाउने कुरा जन जीवनलाई सुधार्ने दिशाको एक अत्यन्तै महत्वपूर्ण पक्ष हो। तर हाल तलब बढाउने दिशामा अत्यन्तै ठूलो बाधा तेर्सिएका छन। हामीले सर्वसाधारणलाई सुधार कार्यबाट प्राप्त उपलव्धिको उपभोग गर्न दिनुपर्छ। यसमा तलबलाई बढाउनु एक महत्वपूर्ण बाटो हो"।

            सरकारी कार्य प्रतिवेदनमा - कर महसूलको बनौटलाई समुचित पाराबाट मिलाउने काम गर्ने र मध्यम र निम्न आमदानी प्राप्त भएकाहरुका लागि करको बोझलाई कम पार्ने कुरा उल्लेख गरिएको छ।

            श्या मन चेन फा समूह कम्पनी लिमिटेडका महाप्रबन्धक श्रीमती वाँग शेन रोंगका अनुसार कर महसूलको बनौटलाई समुचित पाराबाट मिलाउने कुरा चाहिं आमदानीको विभाजनलाई मिलाउने प्रभावकारी काइदा हो। यसका साथै सरकारले न्यून आमदानी भएकाहरुका लागि न्यूनतम जीवन स्तरलाई प्रत्याभूति दिने नीतिको तर्जुमा गर्नुपर्छ। उहाँले भन्नुभयो-

             "न्यूनतम आमदानी भएकाहरुको खाने लाउने समस्याको समाधानका लागि सरकारले सम्बन्धित नीतिमार्फत मिलाउनुपर्छ। अनि बढी आमदानी भएकाहरुका लागि भने कर तिर्ने तरीकाबाट मिलाउनुपर्छ। मेरो विचारमा यो उपाय राम्रो छ। किनभने जसले बढी आमदानी पाएको छ त्यसले नै बढी कर तिर्नुपर्छ। सारा समाजमा यस्तो काइदामार्फत कम आमदानी प्राप्त भएकाहरुतर्फ नीति ढल्कनेछ।

             कान सु प्रान्तका प्रतिनिधि श्रीमती वाँग छिंग फनले आफ्नो विचार पोख्दै भन्नुभयो- वितेका पाँच वर्षभित्र समस्त देशको कुल आर्थिक मात्रा र वित्तीय आर्जनमा चौब्बर बृद्धि भएको छ। तर पूर्वी भाग र पश्चिमी भागबीचको अन्तर अझै पनि फराकिलो भइरहेको देखिन्छ। उहाँ भन्नुहुन्छ-

             "वितेका केही वर्षदेखि यता पश्चिमी भागको अर्थतन्त्र निरंतर रुपमा बढ्दै आएको छ। तर पनि विकसित क्षेत्रहरुसित त्यसको अन्तर अझै पनि निरंतर रुपमा फराकिलो हुँदै आएको छ। विशेष गरी आमदानीमा भएको फरक अत्यन्तै प्रष्टसंग देखिन्छ। यसमा सरकारले ध्यान पुर्‍याउनु अति जरुरी हुन गएको छ। हामीले पश्चिमी भागमा पर्ने अविकसित क्षेत्रहरुका लागि सर्वप्रथम आर्थिक विकासमा गतिशीलता ल्याउनुपर्छ। स्थानीय आर्थिक क्षमता बढेको खण्डमा मात्र आफ्नो वित्तीय शक्ति पनि बढ्नेछ र आमदानीको समस्याको समाधान हुन सक्नेछ"।

             सुधार र खुलापनको नीति लागू भएको तीस वर्षभन्दा बढी समयदेखि यता चिनियाँ नागरिकहरुको आमदानी ठूलो मात्रामा बढेको पाइयो। तर आमदानीको असन्तुलित विभाजनको समस्या पनि दिन प्रति दिन चर्को हुँदै आएको देखिन्छ। आमदानीको उचित विभाजन समस्यालाई राम्ररी मिलाउने कुरा जन जीवनलाई सुधार्ने र सामाजिक मेलमिलापको संरक्षण गर्ने दिशाको महत्वपूर्ण विषय हो। सरकारी कार्य प्रतिवेदनका अनुसार आउने पाँच वर्षभित्र सरकारले आमदानीको उचित विभाजनको प्रारुप तयार पार्न शहर र बस्तीका न्यून आमदानी भएकाहरुको आमदानीलाई बढाउने र आमदानीको विभाजनतर्फको व्यवस्थालाई विशेष महत्वका साथ तह मिलाउने र सुव्यवस्थित पार्ने काम गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह