फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका-पाकिस्तान रणनैतिक वार्ता पुनः शुरु

(GMT+08:00) 2013-08-02 18:45:08

           पाकिस्तानको भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री जौन केरीले अगष्ट एक तारिखका दिन इस्लामाबादमा पाकिस्तानी प्रधान मन्त्री नवाज शरिफ र राष्ट्रिय सुरक्षा तथा कूटनैतिक मामिला सल्लाहकार सार्ताज अजिजसँग बेग्ला बेग्लै रुपमा भेट-वार्ता गर्नुभएको छ। भेटपछि आयोजित पत्रकार सम्मेलनमा श्री केरीले आपसी सहयोगलाई गहन पार्न अमेरिका-पाकिस्तान रणनैतिक वार्ता पुनः शुरु गर्ने कुरा सार्वजनिक गर्नुभयो। उता श्री अजिजले पाकिस्तानी जनजातिय क्षेत्रलाई मानवरहित विमानद्बारा गरिने प्रहारलाई बन्द गर्न फेरि एक पटक आग्रह गर्नुभयो। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले पाकिस्तानबाट पठाएको सम्बन्धित विस्तृत विवरणः

          अमेरिकी विदेश मन्त्री जौन केरी तथा पाकिस्तानी प्रधान मन्त्री नवाज शरिफ र राष्ट्रिय सुरक्षा तथा कूटनैतिक मामिला सल्लाहकार सार्ताज अजिज बीचको भेट-वार्तामा दुई पक्ष बीचका महत्वपूर्ण विषयसूचीलाई समावेश गराइएको छ। जस्तै भनौं, आतंकवाद विरोधी सहयोग, मानवरहित विमानद्बारा गरिने प्रहार, अफगानी परिस्थिति र पाकिस्तानको अर्थतन्त्रको पुनरुत्थान। अमेरिका तथा पाकिस्तानले आपसी चौतर्फी साझेदारी सम्बन्धको पुनर्स्थापना गर्न सहमति जनाएका छन्। साथै श्री केरीले पाकिस्तानी प्रधान मन्त्री नवाज शरिफलाई अमेरिकी राष्ट्रपति बराक ओबामासँग भेट गर्न तथा अमेरिकाको भ्रमण गर्न निमन्त्रण गर्नुभयो। संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्री केरीले द्बिपक्षीय सम्बन्धबारे चर्चा गर्दै भन्नुभएको छः

         "आज म यहींनिर खुशीका साथ सार्वजनिक गर्दछु कि हामी बीचको रणनैतिक वार्ता पुनः शुरु गरिने छ। यसबाट आपसमा अझ गहिरो र व्यापक सहयोगात्मक साझेदारी सम्बन्धको प्रवर्द्धन गर्ने विश्वास लिएका छौं। वार्ताको पुनर्स्थापनाबाट नै व्यवहारिक तवरले हामी बीचको विद्यमान मुख्य समस्याहरुको समाधान गर्न सकिने छ।"

          थाहा भए अनुसार, पाकिस्तान र अमेरिका बीचको रणनैतिक वार्ता सन् 2011को नभेम्बरमा स्थगित भएको हो। अमेरिकी लडाकू विमानले पाकिस्तानी एक चौकीमाथि बम बर्षाएर 24 जना सेनालाई मारेपछि रणनैतिक वार्ता स्थगित भएको थियो। हाल अमेरिका-पाकिस्तान सम्बन्ध न्यून स्तरमा छ किनभने अमेरिकी मानवरहित विमानद्बारा गरिने हवाई आक्रमणमा परी सर्वसाधारण हताहत भएकोले पाकिस्तानी सर्वसाधारणलाई निकै रिस उठेको छ। आम-निर्वाचनमा बिजय भएपछि श्री शरिफले इस्लामाबाद र वासिङ्गटन बीचको सम्बन्धलाई मजबूत पार्ने कुरा धेरै पटक व्यक्त गर्नुभएको छ। तर यसको पूर्वाधार अमेरिकाले पाकिस्तानमा गर्ने मानवरहित हवाई आक्रमणलाई बन्द गर्नु रहेको छ।

          एक तारिखका दिन आयोजित पत्रकार सम्मेलनमा श्री अजिजले पाकिस्तानी जनजातिय क्षेत्रमा मानवरहित विमानद्बारा गरिने प्रहारलाई बन्द गर्न फेरि एक पटक आग्रह गर्नुभयो। यसबारे‌ जवाफ दिँदै अमेरिकी विदेश मन्त्री केरीले भन्नुभएको छः

          "मानवरहित विमानको हवाई आक्रमण सार्वभौमसत्तासँग सम्बन्ध छ यसबारे मलाई थाहा छ तर यहाँनिर हाम्रा सबै साथीलाई सम्झना दिलाउँछु कि अल-काइदा संगठनका नेता लगायतका सशस्त्र तत्वहरुले यस देशको सार्वभौमसत्ताको उल्लंघन गरिरहेका छन्। उनीहरुले मस्जिदमा रहेका मानिसहरुलाई प्रहार गर्ने गर्दछन्। साथै उनीहरुले गाउँबस्ति र बजारमा बम विस्फोटन गर्ने गर्दा पाकिस्तानको सार्वभौमसत्ताको उल्लंघन गरेको नै हो।"

          अफगानीस्तानमा तैनाथ अमेरिकी सेना हट्नुबारेमा ब्याख्या गर्दै श्री केरीले भन्नुभएको छः

          "अफगानीस्तानबाट अमेरिकी सेनाको संख्या क्रमशः घट्दै जाने छ। एकैसाथ सम्पूर्ण सेनालाई हटाउने होइन। महामहिम राष्ट्रपतिज्यूले अमेरिकाले बचन दिएको अफगानीस्तानमा तैनाथ सेनाको संख्यालाई सार्वजनिक गर्नुहुने छ। अफगानीस्तानमा बाँकी रहेका सेनाका दुईटा कार्यभार छनः आंकतवाद विरोध र अफगानी सुरक्षा फौजलाई तालिम दिनु।"

          अफगानीस्तानमा तैनाथ सेनाको संख्याबारेमा अमेरिकाले अफगानी पक्षसँग समयमै मतैक्य हासिल गर्ने विश्वास अमेरिकी विदेश मन्त्री केरीले व्यक्त गर्नुभयो। श्री अजिजले अफगनीस्तानबाट सेनालाई फिर्ता गर्ने काममा पाकिस्तानले सहयोग दिने वचन पनि दिनुभयो।

          श्री केरीले धेरै पटक पाकिस्तानको भ्रमण गर्नुभएको छ तर उहाँले विदेश मन्त्रीको हैसियतले पाकिस्तानको भ्रमण गर्नुभएको यो पहिलो पटक हो। सन् 2011यता, पाकिस्तानको भ्रमण गर्ने पहिलो अमेरिकी विदेश मन्त्री पनि हुनुहुन्छ। साथै नवाज शरिफले गत मैमा प्रधान मन्त्रीको पद सम्हालेयता श्री केरी पाकिस्तानको भ्रमण गर्ने सबभन्दा उच्चस्तरिय अमेरिकी पदाधिकारी पनि हुनुहुन्छ। आगामी दुई दिनमा श्री केरीले राष्ट्रपतीय पदबाट मुक्त हुनलागेका असिफ अलि जर्दारी र स्थल सेनाका चीफ अफ स्टाफ आशफाक पर्भेज कयानीसँग पनि भेट-वार्ता गर्नुहुने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह