चौधौं चीनको पश्चिम भेगीय अन्तर्राष्ट्रिय मेला अक्टोबर 23 तारिखदेखि 27 तारिखसम्म स छ्वान प्रान्तको छङ तु शहरमा आयोजना हुने भएको छ। चीनको पश्चिमी भाग अन्तर्राष्ट्रिय मेलाको अवसरमा छैठौं चीनको पश्चिम भेगीय अन्तर्राष्ट्रिय सहयोग मञ्च अर्थात् सन् 2013 चीन-भारत सहयोग मञ्च अक्टोबर 25 तारिखमा स छ्वानमा शुरु हुने छ। त्यस अवधिमा चीन र भारत गरी दुबै मुलुकका अधिकारीहरु, विशेषज्ञहरु, विद्वान तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरु यो मञ्चमा सहभागी हुने छन्।
सन् 2013 चीन-भारत सहयोग मञ्च चीनको वाणिज्य मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक सहयोग प्रतिष्ठान, स छ्वान सामाजिक विज्ञान प्रतिष्ठान, एक्काईसौं शताव्दी चीन-भारत साँस्कृतिक आदान-प्रदान केन्द्र तथा भारतीय आर्थिक तथा सामाजिक विकास प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजना गरिने छ। सो मञ्चका मुख्य जिम्मेवार व्यक्तिहरुमध्येका एक एवम् स छ्वान सामाजिक विज्ञान प्रतिष्ठानका उप प्रमुख को स्याउ मिङकाअनुसार, यस पटकको चीन-भारत सहयोग मञ्चले चीन र भारतबीचको आर्थिक विकास र सहयोग क्षेत्रका सम्बन्धित विषयहरुबारे छलफल गर्नेछ। उहाँले भन्नुभयो "यस पटकको चीन-भारत सहयोग मञ्चले तीन क्षेत्रका विषयबारे छलफल गर्नेछ। पहिलो, चीन र भारत यी दुबै मुलुकको आर्थिक तथा सामाजिक विकासको समष्टिगत तुलनाबारे छलफल गरिनेछ। यसमा आर्थिक विकास रणनीति, भविश्यमा सहयोगको क्षेत्रआदि समावेश छन्। दोस्रो, दुई मुलुकको आर्थिक तथा सामाजिक विकासमा विशेष समस्याको तुलनाबारे छलफल गरिनेछ। यसमा शहरीकरण प्रक्रियामा देखापरेको जनसंख्या समस्या, अर्थतन्त्रको तीव्र विकासमा देखापरेका सन्तुलन समस्या, दुई मुलुकको आर्थिक विकासमा देखापरेको पारस्परिक हित समस्या समावेश छन्। तेस्रो, पश्चिमी भाग अन्तर्राष्ट्रिय मेला स छ्वान प्रान्तमा आयोजना भएको कारणले गर्दा स छ्वान र भारतबीचको आर्थिक तथा व्यापारिक विकासको आधार तथा सहयोगको भविश्यबारे पनि छलफल गरिने छ।"
यस पटकको चीन-भारत सहयोग मञ्चको मुख्य विषयवस्तु "खुलापन, सहयोग तथा आर्थिक बृद्धि" भन्ने रहेको छ। "हाम्रो विचारमा विश्वको आर्थिक बृद्धि अप्ठ्यारो स्थितिमा रहेको पृष्ठभूमिमा नवोदित ब्रिक्स मुलुकका सदस्यको रुपमा चीन र भारतको आर्थिक बृद्धिमा तुलनात्मक श्रेष्ठता रहेको छ। तर दुई वटा विकासोन्मुख मुलुकको रुपमा चीन र भारतको सामु जनसंख्या, श्रोत-साधन, गरिबी निवारण आदि क्षेत्रहरुमा साझा चुनौती देखापरेको छ। यस्तो साझा पृष्ठभूमिमा चीन र भारतले पारस्परिक रुपमा सहयोग गर्नुपर्ने, खुलापनलाई विस्तार गर्नुपर्ने, स्थिर र निरन्तर आर्थिक बृद्धि साकार तुल्याउनुपर्ने जस्ता चुनौतीहरु छन्। त्यसैले यस पटकको मञ्चको मुख्य विषयवस्तु "खुलापन, सहयोग तथा आर्थिक बृद्धि" भनेर निश्चित गरिएको हो।"
दुई वटा नवोदित विकासोन्मुख मुलुकको रुपमा चीन र भारतले एशिया र विश्वको विकासलाई अघि बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। हालका केही वर्षदेखि यता दुई मुलुकको द्विपक्षीय व्यापारको द्रुतविकासका साथै द्विपक्षीय सम्बन्धले पनि वस्तुगत प्रगति हासिल गरेको छ। कोले यस पटकको मञ्चले दुई मुलुकको आदान-प्रदान र सहयोगलाई अभिबृद्धिमूलक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
"मेरो विचारमा यस मञ्चका तीन वटा भूमिका छन्। पहिलो, चीन र भारतबीचको पारस्परिक समझदारी मजबुद पारिनेछ। दोस्रो, चीन र भारतबीचको आदान-प्रदानको परिधि विस्तार हुनेछ। तेस्रो, दुई मुलुकबीचको सहयोगको परिधि विस्तार हुनेछ।"
विश्वको आर्थिक बृद्धि शिथिल भएको पृष्ठभूमिमा एशिया विश्वको आर्थिक तथा सामाजिक विकासको नेतृत्वकर्ता हो। एशियाका दुई वटा विकासोन्मुख मुलुकको रुपमा चीन र भारत निहित शक्ति भएका दुई मुलुक हुन्।