फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जहाजलाई नेपालमा उडानयोग्य प्रमाणपत्र

(GMT+08:00) 2013-10-24 18:56:13

            नेपाल नागरिक उड्डयन प्राधिकरणले चीनमा निर्मित 'मोडर्न आर्क' (एमए–60) मोडेलको जहाजका लागि उडानयोग्यता प्रमाणपत्र (टाइप सर्टिफिकेट) जारी गरेको छ। उड्डयन प्राधिकरणले गत मंगलबार टाइप सर्टिफिकेट जारी गरे पनि यसका अधिकारीहरूले सार्वजनिक गर्न चाहेका छैनन्। प्राधिकरणले मंगलबार फ्याक्समार्फत् तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यसबारे जानकारी गराएको थियो।

            एमए–60 जहाज खरिद गरेपछि ती जहाज राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई उडाउन दिने सरकारी योजना छ। सरकारले चीनसँग खरिद गर्न लागेको 6 जहाजमध्ये दुईवटा एमए–60 र चारवटा 'वाई12–ई' सिरिजका छन्। वाई12–ईलाई भने प्राधिकरणले यसअघि नै टाइप सर्टिफिकेट दिइसकेको छ।

           सम्बद्ध एक हवाई विज्ञका अनुसार चिनियाँ एमए–60 जहाजलाई अमेरिका र युरोपले हालसम्म मान्यता दिएका छैनन्। हाल यस्ता जहाज अफ्रिकाका केही देश, एसियाका इन्डोनेसियालगायतमा उडिरहे पनि समस्या देखिन थालिसकेका छन्।

           प्राधिकरणले एमए–60 जहाजलाई टाइप सर्टिफिकेट दिएको विषयलाई ती विज्ञले 'गम्भीर समस्या' निस्कने संकेत गरेका छन्। युरोप र अमेरिकाका उड्डयन नियामक निकायले मान्यता नदिएका जहाजलाई नेपालले उडानयोग्य छ भन्दै प्रमाणपत्र दिनु भनेको भोलिका लागि ठूलो समस्या सिर्जना हुने उनको दाबी छ।

           प्राधिकरणका पूर्वनायब महानिर्देशक शम्भू अधिकारीको संयोजकत्वमा गठित समितिले एमए–60 जहाजलाई नेपालमा उडान गर्न दिन हुने सुझावसहितको प्रतिवेदन एक महिनाअघि महानिर्देशक रतीशचन्द्रलाल सुमनलाई बुझाएको थियो।

           अधिकारीसहित समितिको टोलीले दुई साता चीन भ्रमण गरी यस्ता जहाजका डिजाइन तथा उत्पादन गुणस्तरबारे अध्ययन गरेपछि प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदनमा एमए–60 को प्राविधिक पक्ष तथा अन्य योग्यता विश्वसनीय रहेको उल्लेख गरिएको छ। त्यसपछि प्राधिकरणले टाइप सर्टिफिकेट जारी गरेको हो।

           सम्बद्ध स्रोतका अनुसार चिनियाँ नागरिक उड्डयन प्रशासनको नागरिक उड्डयन नियम–25 अनुसार एमए–60 उत्पादन भएको तथा यसको मापदण्ड अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) को नियम–25 सँग हुबुह मिलेको भन्दै प्राधिकरणले टाइप सर्टिफिकेट जारी गरेको हो। सबै विश्वसनीय रहेका कारण यस्ता जहाज नेपाली आकास उडाउन योग्य रहेको प्रतिवेदनमा जनाइएको छ।

            'सार्वजनिक हवाई यातायातमा प्रयोग हुने जहाजबारे परीक्षण उडानदेखि सम्पूर्ण प्राविधिक पक्षबारे विस्तृतमा अध्ययन गर्नुपर्थ्यो, तर त्यस्तो केही पनि भएको छैन,' ती हवाई विज्ञले भने, 'भोलि जहाज आएर उड्न थालेपछि केही भइहाल्यो भने त्यसको जिम्मेवारी कसले लिने?'

            युरोपेली युनियन (ईयु) ले समेत चिनियाँ एमए–60 जहाजलाई मान्यता दिएको छैन। नेपालले भने यसलाई मान्यता दिने संकेत विगतमै दिएपछि ईयुले आपत्ति जनाएको थियो। 'अब मान्यतै दिएपछि प्राधिकरण गम्भीर समस्यामा पर्ने सम्भावना उच्च भएको छ,' उनले भने, 'नियामक निकायले नै गल्ती गरेको छ।'

            प्राधिकरणको नागरिक उड्डयन नियमावली 2058 ले कुनै पनि जहाजसम्बन्धी प्रमाणपत्र जारी गर्न पाउने अधिकार महानिर्देशकलाई दिएको छ। यसैमा टेकेर प्राधिकणले एमए–60 लाई टाइप सर्टिफिकेट दिएको हो। यसमा अधिकारी समितिको प्रतिवेदनले थप मद्दत गरेको थियो।

            अधिकारी समितिको टोली चीन भ्रमणमा जानुअघि वायुसेवा निगमको प्राविधिक टोलीले उता गएर आएको थियो। निगम टोलीले पनि एमए–60 जहाज उडाउन योग्य रहेको सुझाव प्राधिकरणलाई दिएको थियो।

            सरकारले 2069 कात्तिक 17 मा 3 करोड 50 लाख अमेरिकी डलर लागतमा चीनको एभिक इन्टरनेसनल होल्डिङ्स कम्पनीसँग 58 सिट क्षमताको 'एमए–60' मोडेलका दुई र 19 सिटयुक्त 'वाई 12–ई' मोडेलका चार जहाज किन्ने निर्णय गरेको थियो।

            चीनसँग एकैपल्ट 6 जहाज किन्ने निर्णय गरेपछि मंसिर 14 मा व्यापारिक सम्झौता भएको थियो। तीमध्ये एउटा एमए–60 र एउटा वाई 12–ई अनुदानमा तथा बाँकी एउटा एमए–60 र तीनवटा वाई 12–ई सहुलियत ऋणमा दिन चीन सहमत भएको थियो।

             नागरिक अनलाइनका अनुसार सम्झौताको तीन महिनाभित्र अनुदानमा दिइने एउटा एमए–60 र एउटा वाई12–ई जहाज काठमाडौं आइपुग्ने तालिका थियो। दुई जहाज आएको पाँच महिनापछि बाँकी एक एमए–60 र तीनवटा वाई12–ई दिने चिनियाँ कम्पनीले दिने जनाएको छ।

              चीनको एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकसँग लिइने साढे 3 करोड डलर ऋण सहायतामा चीनसँग जहाज खरिद गर्न लागिएको हो। अर्थ मन्त्रालयमार्फत लिइने ऋण सहुलियत दरको हुनेछ। नेपालले भने यस्तो ऋणको चुक्ता अवधि 39 वर्षको हुनुपर्ने प्रस्ताव चीनसँग गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह