फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भरतपुर आँखा अस्पतालमा नेत्र विज्ञानको अध्ययन

(GMT+08:00) 2013-10-27 18:28:41

        भरतपुर आँखा अस्पतालले आँखा उपचारका लागि आवश्यक हुने प्राविधिकदेखि दक्ष चिकित्सकसम्मको अध्यापन सुरु गर्ने भएको छ। अस्पतालले नेत्र सहायक (ओए)को पढाइ सुरु गरेको छ। चाँडै नै चिकित्सकको पढाइ पनि सुरु गर्ने योजना बनाएको हिजो शनिबार आयोजित कार्यक्रममा जानकारी दिइयो।

        झन्डै छ करोड रुपैयाँ खर्च गरेर अस्पतालले अध्ययन संस्थान सुरु गर्न लागेको हो। नारायणगढका व्यवसायी महेन्द्रलाल प्रधानले दुई करोड एक लाख 11 हजार 111 रुपैयाँ सहयोग गरेपछि सञ्चालकहरु उत्साहित भएर काममा जुटेका हुन्। दाताका बाबुआमाको नाममा अध्ययन संस्थानको नाम पनि 'श्री हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन प्रतिष्ठान' राखिएको छ।

         प्रधानले बोलेको 50 लाख रुपैयाँ प्राप्त भइसकेको नेपाल नेत्र ज्योति संघ चितवन शाखाका अध्यक्ष चिजकुमार मास्केले जानकारी दिनुभयो। संघले नै भरतपुरमा 27 वर्षअघि आँखा अस्पताल निर्माण गरेको हो। नेत्र विज्ञान अध्ययन प्रतिष्ठान निर्माणमा पनि संघले नै संयोजनकारी भूमिका खेल्दै आएको छ।

         'हामीले ४० जना विद्यार्थी राखेर नेत्र सहायकको अध्ययन सुरु गरेका छौं,' संघका अध्यक्ष मास्केले जानकारी दिनुभयो। तीनवर्षे नेत्र सहायकको पढाइ अहिले भवन भाडामा लिएर सञ्चालन हुँदै आएको छ। आफ्नै कक्षा कोठा निर्माण सम्पन्न भएकाले चाँडै नै आफ्नै भवनमा पढाइ सुरु हुने अध्यक्ष मास्केले बताउनुभयो।

          त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर चाँडै नै आँखा उपचारका लागि आवश्यक विज्ञ चिकित्सकको अध्ययन पनि सुरु गर्ने उहाँले बताउनुभयो। 'पाँचवर्षे योजना बनाएर हामी लागेका छौँ। नेत्र सहायकको अध्ययन सुरु भयो। अरु कोर्सको पनि अध्ययन तोकिएको समयभित्रै हामी सुरु गर्न सक्षम हुने अवस्था बनेको छ,' संघका अध्यक्ष मास्केले भन्नुभएको नागरिक अनलाइनले उल्लेख गरेको छ।

          'अबको चार वर्षभित्रमा आँखा उपचारका लागि चाहिने सबै जनशक्ति यहीँ तयार गर्ने हाम्रो योजना हो। अस्पतालको स्तर पनि बढाउने योजना छ। संसारमा जेजति उपचार सेवा सम्भव छन्, ती यहाँ पनि उपलब्ध गराउने हाम्रो योजना हो,' संघका शाखा अध्यक्ष मास्केले जानकारी दिनुभयो।

           अध्यक्ष मास्केका अनुसार गत वर्ष अस्पतालले 85 हजार 252 जनालाई बहिरंग सेवा उपलब्ध गराएको थियो। त्यस्तै, शिविर राखेर थप 38 हजार 801 जनालाई सेवा दिएको उहाँले बताउनुभयो। अस्पतालमा पाँच हजार 493 जनाले आँखाको शल्यक्रिया गरेका थिए। अस्पतालमा हुने मोतिया विन्दुको 80 प्रतिशत अप्रेसन निःशुल्क हुने गरेको मास्केको भनाइ छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह