फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गौतमबुद्ध विमानस्थलको स्तरोन्नति, लुम्बिनी गुरुयोजनाको कार्यान्वयन भएमा लुम्बिनीको पर्यटन फस्टाउने अपेक्षा

(GMT+08:00) 2013-10-28 19:09:45

          गौतमबुद्ध विमानस्थलको स्तरोन्नति, लुम्बिनी गुरुयोजनाको कार्यान्वयन, बौद्ध परिपथ निर्माण तथा यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न सके लुम्बिनी क्षेत्रको पर्यटन व्यवसाय फस्टाउन सक्ने देखिएको सरोकारवालाहरूले बताएका छन्।

            नेपालमा 6 दशक लामो पर्यटन व्यवसायमा दर्जनौं उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदा पनि वार्षिक 8 लाख 50हजारमात्र पर्यटक आउने गरेका छन्। तर, नेपालमा आउने पर्यटकको उक्त संख्या पनि गुणस्तरीय रहेको पाइँदैन।

          व्यवसायीका अनुसार 13 वर्षदेखि पर्यटन व्यवसाय विस्तार गरेको कम्बोडियाको एउटामात्र गन्तव्य अंकुरवादमा वार्षिक 20लाख विदेशी पर्यटक भित्रिने गरेका छन् ।

             पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र विश्व पर्यटन संघको संयुक्त आयोजनामा राष्ट्रिय पर्यटन रणनीतिक योजनासम्बन्धी भैरहवामा आयोजित कार्यशालाका सहभागीले अब बन्ने पर्यटन गुरुयोजनामा लुम्बिनीलाई प्रमुख मुद्दा बनाउन आग्रह गर्दै सो धारणा राखेका हुन्।

          पर्यटन मन्त्रालयका उपसचिव केशव विमलीले नेपालमा स्तरीय पर्यटक आकर्षित गर्न दीर्घकालीन र अल्पकालीन रणनीतिक योजनाको खाँचो औंल्याउनुभयो। उहाँले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदा विश्वकै उत्कृष्ट गन्तव्य बन्ने सम्भावनालाई कार्यान्वयन गर्न सरकारी र निजी क्षेत्रको सक्रियताको खाँचो देख्नुभयो।

          पर्यटन योजनाकार तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. चम्पक पोखरेलले लुम्बिनीको विकास हुनसके नेपालले नै धेरै फाइदा लिनसक्ने भन्दै त्यसका लागि कार्ययोजनाका साथ लाग्नुपर्ने बताउनुभयो।

           सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद शर्माले लुम्बिनी विकास कोषमा स्थानीय सहभागिता, लुम्बिनीमा वृद्धाश्रम निर्माण र सिन्डिकेटको अन्त्य गरी पर्यटकीय बस सञ्चालनमा जोड दिनुभयो।

             सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले कोठा संख्यालाई हेरेर पाँचतारे होटलको वर्गीकरण गर्दा लुम्बिनी क्षेत्रमा त्यस्ता होटल खुल्न नसकेको भन्दै त्यसबाट पर्यटक आकर्षित गर्न नसकिएको बताउनुभयो। उहाँले सीमाक्षेत्रनजिक खुलेका मिनी गेमिङ क्लबले पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याएको भए पनि त्यस्ता मिनी क्यासिनो बन्द गर्ने सरकारी नीति तयारी र योजनाबिनाको भएको उल्लेख गर्दै तत्काल परिमार्जन गर्न आग्रह गर्नुभयो।

           सिद्धार्थ एसोसिएसन अफ ट्राभल एजेन्ट (साटा) का अध्यक्ष सञ्जय बजिमयले अन्तर्राष्ट्रिय विमानस्थल 24 घन्टै खुला गर्नुपर्ने, नेपाल–भारत बोर्डर 24 घन्टै खुला गर्नुपर्ने, फ्री भिसामा आउने पर्यटकलाई कम्तीमा 1 रात नेपालमै बस्ने व्यवस्था बाध्यकारी पार्नुपर्ने बताउनुभयो।

            संस्कृतिविद् डा. गितु गिरीले बौद्ध परिपथ निर्माण, नेचर, कल्चर र एग्रो टुरिज्म विकास गर्नुपर्नेमा जोड दिए । लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्दै आएका अभियानकर्ता चेतन पन्तले पर्यटकमैत्री नीतिको आवश्यकतामा जोड दिनुभयो। पर्यटकको बसाइ अवधि लम्ब्याउन नयाँ गन्तव्यको खोजीसँगै बुद्धको जीवनीसँग सम्बन्धित नाटक मञ्चन, साँझ–बिहान विशेष ध्यानजस्ता कार्यक्रम सञ्चालन गर्न र लुम्बिनीलाई खेलकुद पर्यटनसँग जोड्न उहाँले माग गर्नुभयो।

              कार्यक्रममा म्यानमारका राजदूतले 'मर्नुअघि एकदिन लुम्बिनी पुगौं' भन्ने नारा बनाई त्यसलाई कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको आयोजकले जनाएको कारोबार अनलाईनमा खबर छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह